लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको विजेता बनेको छ ।
काठमाडौँ — त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिएको लुम्बिनीले ६ विकेटको विजय निकाल्यो ।
कप्तान रोहित पौडेलले हृयाट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो । एनपीएल इतिहासमा पहिला ब्याटिङ गरेको टोलीले बनाएको यो सबैभन्दा कम स्कोर हो । दिनेश अधिकारीले पहिलो ओभरमै ४ छक्का प्रहार गरेपछि लुम्बिनीले एकतर्फी फाइनलमा ९ ओभरमै लक्ष्य पूरा गर्यो । लुम्बिनी पहिलो पटक विजेता बनेको हो । सुदूरपश्चिम लगातार दोस्रो वर्ष फाइनलमा पराजित भएको हो । गत वर्ष पनि टोली फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । लुम्बिनीले लगातार खेल ६ जित्दै उपाधि जितेको हो । यसका साथै लुम्बिनीले सुदूरपश्चिमको लगातार ६ खेल जितेको कीर्तिमान बराबरी गरेको छ । एनपीएल सिजन २ को सुरुआत सुदूरपश्चिमले लगातार ६ खेल जितेर गरेको थियो । तर सातौँ खेलमा टोली विराटनगर किंग्ससँग पराजित भएको थियो । त्यही विराटनगरलाई क्वालिफायर १ मा पराजित गरी सुदूरपश्चिम फाइनल पुगेको थियो ।
![NPL-2: Lumbini Lions Champion [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplfinallumbinivssudur12132025c7a0724-13122025020417-1000x0.jpg&w=1001&h=0)
![NPL-2: Lumbini Lions Champion [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplfinallumbinivssudur12132025c7a0802-13122025020451-1000x0.jpg&w=1001&h=0)