प्रथम कपिलवस्तु तिलौराकोट आइरन मेन एण्ड ओमन कप सम्पन्न, स्ट्रेन्थलिफ्टिङ को उपाधि करन र अमृतालाई ।
काठमाडौँ — प्रथम कपिलवस्तु तिलौराकोट आइरन मेन एण्ड ओमन कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा इनक्लाइन बेन्च प्रेस प्रतियोगिताअन्तर्गत स्ट्रेन्थलिफ्टिङ विधाको पुरुषतर्फ करन बाडिया र महिलातर्फ अमृता खड्का शेर्पा च्याम्पियन बनेका छन् ।
दुवै बिजेतालाई जनही नगद २० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो । त्यसै गरी इनक्लाइन बेन्च (आईबीपी) विधाको ओभरअल च्याम्पियन पुरुषतर्फ सुमेश्कर प्रकाश र महिलातर्फ अमृता खड्काले प्राप्त गरे । उक्त विधा बिजेतालाई जनही नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेलसँगै कपिलवस्तुको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दुई दिने प्रतियोगितामा सातै प्रदेशका ७४ प्रतियोगी सहभागी थिए । प्रतियोगितामा इन क्लाइन बेन्च प्रेस (आईबीपी) र स्ट्रेन्थलिफ्टिङका दुई विधामा पुरुषतर्फ १३ इभेन्ट र महिलातर्फ ४ इभेन्टमा गरी १७ प्रतिस्पर्धा गराइएको थियो । विजेतालाई स्ट्रेन्थलिफ्टिङ संघका केन्द्रीय कार्यवाहक अध्यक्ष नारायण प्रधान, महासचिव जीवन गिरी, केन्द्रीय सदस्य कृष्ण गुप्ता र जिल्ला अध्यक्ष बलराम न्यौपानेले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा वेस्ट टिमतर्फ एक्सट्रिम फिटनेस नेपालगन्ज पहिलो, भुमही जिम पश्चिम नवलपरासी दोस्रो र पावर जिम तौलिहवा तेस्रो भएका थिए । दुई विधाका १७ इभेन्टमा सहभागी प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार र तेस्रोलाई १ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले उद्घाटन गरेका थिए ।
नेपालमा स्ट्रेन्थलिफ्टिङ खेल सुरु भएको चार वर्षमै विश्वस्तरकै राम्रो उपाधि र पुरस्कार जित्न सफल भएपछि खेलप्रति आकर्षण बढिरहेको खेलका प्रमुख निर्णायक बृजेन्द्रमान श्रेष्ठले बताए । ‘नेपालका लागि छोटो समयमा यो खेलबाट धेरै अन्तर्राष्ट्रिय पुरस्कार पायौं,’ उनले भने, ‘यसले देशको प्रतिष्ठा उच्च बनायो । नेपालले पहिल्लो समय स्ट्रेन्थलिफ्टिङ खेलको विश्व च्याम्पियनसिपमा चारपटक प्रतिस्पर्धा गरी उत्कृष्ट प्रदर्शन गरेको संघका महासचिव जीवन गिरीले बताए । ‘यसले खेलको लोकप्रियताले बढेको ५,’ उनले भने, ‘नेपालभरि अहिले स्ट्रेन्थलिफ्टिङ खेल्न उत्साहित बनेका छन् ।’




