गोरु नारेर दाँइ गर्ने चलन हराउँदै गएकोले नयाँ पुस्ता र पर्यटकलाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
पोखरा — खुलेको माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला अघि पोखरा–१९ चुरुंगा फाँटमा धानका पाँचवटा कुन्यु लस्करै राखिएका छन् । मियोमा पाँच हल गोरु नारिएका छन् । कोही कुन्युबाट धानको बिटा झिक्दै झाँटिरहेका छन् । कोही भाका हाल्दै गोरु घुमाउँदै छन् । पोखरा पर्यटन परिषद्ले शनिबार आयोजना गरेको दोस्रो दाइँ महोत्सवमा स्थानीयदेखि पर्यटकसम्म रमाए ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित परिषद्ले पोखरा महानगरपालिका, पर्यटन बोर्डको सहयोगमा दाइँ महोत्सव आयोजना गरेको हो । महोत्सवमा केही विदेशी पर्यटकसमेत सहभागी भए । परम्परागत रुपमा दाइँ हाल्ने प्रक्रिया उनीहरुले चाख मानेर अवलोकन गरे । स्थानीय पञ्चेबाजा र भजनको आनन्द उनीहरुले लिए । महोत्सवमा धान झाँट्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता, परालको भारी बनाउने प्रतियोगितामा स्थानीय कृषक सहभागी भए । उक्त वडाका उत्कृष्ट गोरु पालक र धान उत्पादनक कृषकलाई पुरस्कृत पनि गरिएको थियो ।
महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले रोपाइँ महोत्सव जस्तै दाइँ महोत्सव पनि पोखराका लागि नयाँ ‘प्रडक्ट’ हुने बताए । कृषिमा यान्त्रीकीकरण आवश्यक भए पनि पर्यटक र भावी पुस्तालाई देखाउनका लागि भए पनि दाइँ गर्ने चलनलाई जीवित राख्नुपर्ने उनको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कृषिमार्फत आन्तरिक र बाहृय पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । कार्यक्रम संयोजक हरि भुजेलले असारको रोपाइँ महोत्सवमा सहभागी विदेशी पर्यटकले उत्पादन प्रक्रियाबारे चासो राख्ने गरेकाले दाइँबारे बुझाउन आवश्यक ठानेर दाइँ महोत्सव आयोजना गरिएको उल्लेख गरे । पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरामा सुरुआत भएको दाइँ महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न अन्य प्रदेशले पनि सिक्नुपर्ने बताए ।
![Dai Festival in Pokhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img3425-29112025120239-1000x0.jpg&w=1001&h=0)
![Dai Festival in Pokhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img3311-29112025120304-1000x0.jpg&w=1001&h=0)
![Dai Festival in Pokhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img3307-29112025120256-1000x0.jpg&w=1001&h=0)
![Dai Festival in Pokhara [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img3286-29112025120248-1000x0.jpg&w=1001&h=0)