जिल्लाको चन्दननाथ,गुठिचौर र पातारासी गाउँपालिकाबाट किसानहरु सयपत्री फूलको माला बेच्न सदरमुकाम खलंगा झरेका छन् ।
जुम्ला — जुम्लामा स्थानीय किसानले उत्पादन गरेको सयपत्री फूलमालाको व्यापार बढेको छ । अहिले किसानले सदरमुकाम खलंगाको चोकचोकमा मालाको व्यापार गरिरहेका छन् । उनीहरुले गाउँदेखि डोकोमा बोकेर फूलमाला खलंगामा ल्याएका हुन् ।
जिल्लाको चन्दननाथ,गुठिचौर र पातारासी गाउँपालिकाबाट किसानहरु सयपत्री फूलको माला बेच्न सदरमुकाम खलंगा झरेका छन् । एउटा सयपत्री फूलमाला न्यूनतम् ६० देखि १ सय ५० रुपैयाँसम्ममा बेच्ने गरेको चन्दननाथ-८ रोकायाबाडाकी पञ्चा रोकायाले जानकारी दिइन् । उनले दुई डोको माला बनाएर खलंगामा पुर्याएकी थिइन् । ती माला एकैदिनमा बेचिन् । पहिले फाटफुट मात्रै फूलमाला बेच्ने गरेकोमा अहिले व्यावसायिक रुपमै माला बेच्न थालिएको उनको भनाइ छ ।
अहिले स्याउका बगैंचाभित्र फूल छर्ने गरिएको छ । खलंगाको प्रशासन कार्यालय अगाडिको चोक, बालमन्दिर, कालेखोली र विजयनगरका चोक तथा पसलहरुमा स्थानीय सयपत्री फूलका मालाहरु बेच्न थालिएको छ ।खलंगामा एकैस्थानमा फूलमाला राखेर बेच्न नपाइने भएकोले समस्या भएको किसानहरुको गुनासो छ । स्थानीय लालकली रोकायाले किसानले उत्पादन गरेको सयपत्री फूलको माला बेच्न कठिन हुने गरेको बताइन् । उनले भनिन् , ‘एकै स्थानमा व्यवस्थित रुपमा राखेर बेच्ने ठाउँ नभएकोले सडकमै डोको चोकमा राखेर बेच्नु परेको छ ।’ अधिकांश किसानले गाउँगाउँमा डुलाएरसमेत माला बेच्ने गरेका छन् । 'गाउँमा पहिलेदेखि सयपत्री फूलको माला लगाइन्थ्यो तर सदरमुकाम र टुक्रे बजारमा प्लाष्टिक मालाको किनबेच बढिरहेको थियो,'लालकलीले भनिन्, ‘अहिले बजारमा समेत सयपत्री मालाले धानिरहेको छ । विस्तारै प्लाष्टिक माला विस्थापित हुने क्रममा छ ।’
अहिले जिल्ला बाहिरबाट मगाउनु परे पनि सयपत्रीको माला नै मगाएर बेच्ने गरिएको छ । अहिले प्लाष्टिकको माला अशुभ भएको भन्दै भाइटीकामा लगाउन छाडिएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्थानीय किसानले उत्पादन गरेको फूलमाला प्रयोग गर्न आग्रह गरेका छन् । उनले आफूले सपयत्री फूलको माला ल्याउन दिदीबहिनीलाई भनिरहेको बताउँदै सबैले स्थानीय उत्पादित फूल प्रयोग गर्नुपर्नेमा जोड दिए । यो पटक भाइटीका अगाडि नै भएकोले सयपत्री फूल टन्न छ । तिला गाउँपालिका-६ ले त प्लाष्टिक माला निषेध नै गरेको छ । भाइटीकामा किसानले उत्पादन गरेका सयपत्री ३ लाख रुपैयाँभन्दा बढोको कारोबार हुने गरेको छ । अधिकांश महिलाले त यही फूलमाला बेचेर तिहार खर्चसमेत जोहो गर्दै आएका छन् । खलंगाका केही पसलले समेत किसानबाट होलसेलमा फूलमाला किनेर बेच्न राखेका छन् ।
![Buying and selling flower garlands at the squares of Khalanga [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9289-22102025021331-1000x0.jpg&w=1001&h=0)
![Buying and selling flower garlands at the squares of Khalanga [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9280-22102025021431-1000x0.jpg&w=1001&h=0)
![Buying and selling flower garlands at the squares of Khalanga [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9286-22102025021426-1000x0.jpg&w=1001&h=0)
![Buying and selling flower garlands at the squares of Khalanga [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img9296-22102025021417-1000x0.jpg&w=1001&h=0)