स्थानीय व्यवसायीलाई नेपालबाट कुनै पनि स्थानीय उत्पादन र सामग्री चिनियाँ बजारमा लैजान दिइएको छैन ।
सिन्धुपाल्चोक — वारिपारि बाढीपहिरोले ध्वस्त छ । उल्का चहलपहल न व्यापार । भोटेकोसी गाउँपालिका-२ तातोपानीबाट चीन जोड्ने तातोपानी नाकाको अवस्था यतिबेला सुनसान बनेको छ ।
भूकम्पको चार वर्षपछि सामान निर्यात र सर्वसाधारणका लागि खुलिसके भनिए पनि यथार्थमा त्यस्तो केही छैन । चिनियाँ सुरक्षाकर्मीले तातोपानी नाकामा स्थानीय र अन्यलाई गर्ने व्यवहार सन्तोषजनक छैन । निर्यात खोलिएको भनिए पनि यहाँबाट उत्पादित कुनै सामान बिक्रीका लागि पारि लान चीनले पूरै निषेध गरेको छ । 'तातोपानी नाकालाई झन् असहज बनाएको अनुभव छ, अचेल बिहान एकपटक एकजनालाई मात्रै सामग्री किन्नका लागि चिनियाँ बजार खोलिएको छ,अरु बेला सामान किन्न पाँइदैन,फलस्वरूप तिहार नजिकिँदै गर्दा पनि नाकामा खासै चहलपहल देखिँदैन,' भोटेकोशी–२ की व्यवसायी सानुमाया शेर्पाले भनिन् ।
गत भदौ १५ मा तातोपानी नाका सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको थियो । पूर्ण रूपमा खोलिएको नाकामा हालसम्म चिनियाँले एकोहोरो आफ्नो सामान मात्रै बिक्री गरिरहेका छन् । आयात दिनहुँ बढ्दो रहेको र निर्यात शून्यजस्तै भएपछि यहाँका व्यवसायी दिक्क भएको भोटेकोशी चेम्बर अफ कमर्सले जनाएको छ । स्थानीय व्यवसायीलाई नेपालबाट कुनै पनि स्थानीय उत्पादन र सामग्री चिनियाँ बजारमा लैजान दिइएको छैन । ‘तातोपानी नाका चिनियाँ सामग्री बेच्न खोलिएको जस्तै भयो, सीमा गाउँमा उत्पादित अर्गानिक साग, निगुरो, फलफूलसमेत चिनियाँ बजारमा लैजान दिइएको छैन, नेपालमा बनेको एक पोका चाउचाउ लानु त धेरै परको कुरा भयो,’ व्यवसायी शेर्पाले भनिन् ।
भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा निर्यात हुने गर्थे । यहाँका सयौं व्यापारी निर्यातमा निर्भर थिए । भोटेकोशी–२ तातोपानीबाट चीन जोड्ने मितेरी पुलको बीचमा चीनले मनमौजी सुरक्षा र चेकिङ गेट राखेको एक वर्ष भइसकेको छ । यो गेट चीनले मनमौजी राखेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । बाढीपहिरोले जीर्ण बनाएको बाह्रबिसेदेखि तातोपानी (कोदारी राजमार्ग) २६ किलोमिटर सडक उस्तै जोखिमपूर्ण छ । चाडबाडलक्षित सामग्री आयात बढाउन चिनियाँ पक्षसँग कुरा भएर दैनिक २० कन्टेनर तातोपानी आइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सारले जनाएको छ ।
![No activity at Tatopani checkpoint [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000068188-18102025081131-1000x0.jpg&w=1001&h=0)
![No activity at Tatopani checkpoint [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000068187-18102025081220-1000x0.jpg&w=1001&h=0)
![No activity at Tatopani checkpoint [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000068184-18102025081207-1000x0.jpg&w=1001&h=0)
![No activity at Tatopani checkpoint [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000068191-18102025081333-1000x0.jpg&w=1001&h=0)