मनोहर शे-फोक्सुन्डो [तस्बिरहरू]

रिङ्गमो गाउँमा अवस्थित यो ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पछिल्ला वर्ष विदेशीभन्दा स्वदेशी पर्यटक धेरै पुग्ने गरेका छन् ।

आश्विन ३०, २०८२

माधव अर्याल

Manohar Shey-Phoksundo [Photos]

डोल्पा — ‘आहा ! कस्तो राम्रो मौसम खुलेको, सारा थकाइ मरिहाल्यो नि हो, यस्तो सुन्दरता देख्दा त,’ मकवानपुर हेटौंडादेखि शे–फोक्सुन्डो ताल पुगेका राजकुमार मोक्तानले भने, ‘बादल भन्ने कतै देखिँदैन । कस्तो राम्रो मौसम रहेछ ।’

Manohar Shey-Phoksundo [Photos]

मोक्तानले भनेजस्तै डोल्पाको कान्जिरोवा हिमालको काखैमा अवस्थित शे–फोक्सुन्डो ताल प्रकृतिको अलौकिक उपहार हो । ताल पुग्ने उपयुक्त समय असोज–कात्तिक हो । यहाँको सफा, स्वच्छ, सुन्दर र शान्त मनोरम वातावरणले मनै लोभ्याउँछ । मकवानपुरबाटै ताल हेर्न पुगेका रामलाल स्याङ्तान पनि अझ छिनछिनमा आफ्नो रुप बदलिरहने तालको पानीले निकै आनन्द तुल्याएको बताउँछन् । ‘यहाँ आइपुग्ने जो कोही पर्यटक मजस्तै खुसी हुन्छन् होला,’ उनले भने, ‘यति आनन्द लाग्यो कि लामो दुरी पार गरेर यहाँ आउँदा छुट्टै मज्जा आयो ।’

Manohar Shey-Phoksundo [Photos]

शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिङगमो गाउँमा अवस्थित यो ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । पछिल्ला वर्ष विदेशीभन्दा स्वदेशी पर्यटक धेरै पुग्ने गरेको यहाँका होटल व्यवसायी जिग्जी मोङ्गेल बुढाले बताए । यहाँसम्म पुग्ने पदमार्ग व्यस्थित नहुँदा भने पर्यटकले सास्ती खेप्नुपर्ने बाध्यता छ ।

Manohar Shey-Phoksundo [Photos]

डोल्पाको दुनै पुग्न ३ किलोमिटर बाँकी छँदै भेरी नदी तरेर सुलीगाड खोला किनारबाट शे–फोक्सुन्डो तालको यात्रा सुरु हुन्छ । ताल पुग्न निकुञ्ज भएर खोलामा कहिले वारि त कहिले पारि गर्दै उकालो लाग्नुपर्छ । भौगोलिक विकटता भए पनि खोलाको सुसाहट अनि प्राकृतिक सुन्दरताले पदयात्रालाई रोमाञ्चक बनाउने रुकुम पश्चिम त्रिवेणीका लोकमान थापा क्षेत्रीले बताए । बेलाबेलामा भेटिने घोडा अनि खच्चरका घन्टी, जाँदै गरेका र फर्किएका आन्तरिक तथा बाह्य पर्यटकले अझ मन फुरुङ्ग बनाउने गर्छ । भौगालिक विकटता भए पनि प्राकृतिक सुन्दरताका साथै जैविक विविधताले नै पर्यटक शे फोक्सुन्डो पुग्ने गर्छन् ।

Manohar Shey-Phoksundo [Photos]

तालबाटै बगेको पानीले केही तल सुलीगाड झरनासमेत बनेको मनमोहक दृश्य हेर्दा पैदल यात्राको दुःख भुलाउँछ । समुद्री सतहबाट ३ हजार ६ सय ११ मिटर उचाइमा ताल रहेको छ । यसको गहिराइ ६ सय ५० मिटर छ भने ४.८ किलोमिटर लम्बाइ र १.८ किलोमिटर चौडाइ रहेको छ । यो ताल नेपालकै गहिरो ताल मानिन्छ । ताल हेर्न बर्सेनि २ हजार ५ सयको हाराहारीमा विदेशी पर्यटक डोल्पा पुग्ने गरेको तथ्यांक निकुञ्जसँग छ । केही वर्षयता त्यसको चार गुणा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

Manohar Shey-Phoksundo [Photos]

तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधारको विकास हुन नसक्दा चाहँदाचाहँदै पनि कतिपय पर्यटकले सास्ती खेप्नु परेको गुनासो गर्छन् । पर्यटकलाई तालसम्म पुग्ने सहज सडक, सूचना प्रवाह र खानबस्नको उचित प्रबन्ध हुनुपर्ने ताल हेर्न पुगेका आन्तरिक पर्यटक पाल्पा बगनासकाली–८, का दयाराज न्यौपानले बताए । डोल्पाको दुनै पुग्न ३ किलोमिटर बाँकी छँदै भेरी नदीको झोलुङ्गे पुल तरेर निकुन्ज हुँदै तालको यात्रा गरिन्छ । अधिकाँश आन्तरिक पर्यटक डेढ दिन र बाह्य पर्यटक दुई दिनमा ताल पुग्ने गर्छन् । कतिपय विदेशी पर्यटक भने तीन दिन लगाएर जाने गरेको होटल रोचीका होटल व्यवसायी सोनाम गुरुङले बताए ।

Manohar Shey-Phoksundo [Photos]

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully