चारैतिर अग्ला पहाडको पहरा अनि बीचमा फराकिलो चौर । पशु–चौपायाको स्याहारमा व्यस्त गोठालाहरुको चहलपहलसंगै कतै गाईबस्तु चरिरहेका त कतै घोडाहरु रमाइरहेका । मौलिक जीवनशैली र सुन्दर प्रकृतिको सम्मीश्रण ठाकुर पाटन रुकुम पूर्वका घुम्नलायक ठाउँमध्येको एक हो ।
रुकुम पूर्व — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-५ स्थित एउटा यस्तो सुन्दर पाटन छ, जसको नाम हो – ठाकुर । मौलिक जीवनशैली र सुन्दर प्रकृतिको सम्मीश्रण यो ठाउँ रुकुम पूर्वका घुम्नलायक ठाउँमध्येको एक हो । चारैतिर अग्ला पहाडको पहरा अनि बीचमा फराकिलो चौर । पशु–चौपायाको स्याहारमा व्यस्त गोठालाहरुको चहलपहलसंगै कतै गाईबस्तु चरिरहेका त कतै घोडाहरु रमाइरहेका ।
भैँसी दुहेर दुध संगालिरहेका किसानको जाँगर र उमङ्ग पोखिएको यो ठाउँ किसानका लागि गोठालो बस्ने थलो हो, पशु–चौपायाका लागि पेट पर्ने पाटन हो। अनि हामीजस्तै घुमन्तेहरुका लागि आनन्दको श्वास फेर्ने, अनि उत्साहका पैतला राख्ने भु–स्वर्ग हो । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ५ मा अवस्थित ठाकुर ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्दछ । जेठ महिनामा यहाँ उक्लिएका आफुहरु असोजपछि भने चिसो छल्न र चाडबाडमा रमाउन मुल घरतिरै बसाइँ सर्ने गोठाला सागर सुनारले बताए ।
हिउँदमा हिउँले ढाकिने ठाकुर पाटन समुन्द्री सतहदेखि ३३ सय मिटर उचाईमा अवस्थित छ । रुकुम पूर्वको हुकाम र तकसेरातर्फबाट अनि बागलुङको ढोरपाटनतर्फबाट एक दिनको पैदल यात्रा गरेपछि सजिलै यहाँसम्म आउन सकिन्छ । यहाँ पुगेपछि बस्नका लागि स्थानिय होटेलको पनि प्रबन्ध गरिएको छ । यो ठाउँलाई पर्यटकीय रुपमा विकास तथा विस्तार गरेर प्रचार–प्रसार गर्न स्थानीय सरकारले विभिन्न पहलहरु अघि बढाएको पुथाउत्तरगंगा–५ का अध्यक्ष टिकासाई घर्तीले बताए । ‘राष्ट्रिय निकृञ्ज अन्तर्गत पर्ने भएकाले यहाँ भौतिक विकास गर्न निकुञ्जको पनि मापदण्डलाई परिपालन गर्नुपर्ने भएकाले चाहे जसरी काम गर्न भने सकेको छैनौं । तर सकेको काम गर्न हामी लागिपरेका छौ । निकुञ्जसंग पनि समन्वय र सहकार्यको प्रयास भइरहेको छ ।’
![Beauty of Thakur Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/patanrukum-paschim-2-03102025023658-1000x0.jpg&w=1001&h=0)
![Beauty of Thakur Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/patanrukum-paschim-17-03102025024009-1000x0.jpg&w=1001&h=0)
![Beauty of Thakur Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/patanrukum-paschim-16-03102025024002-1000x0.jpg&w=1001&h=0)