कहिले गोठाला बिरामी हुन्छन् त कहिले भेडा । रुकुम पूर्वमा जति पनि भेडा, बाख्रा र अरु पशु–चौपाया पालेर आफ्नो जीविका चलाउने किसान छन्, उनीहरुका दुःख उस्तैउस्तै हो ।
रुकुम पूर्व — पुथा उत्तरगंगा गाउँपालिका-५ स्थित थलखर्क पाटन । शिरशिरे बतास चलिरहने अग्लो डाँडा, उत्तरतिर झलल हिमाल, अरुतिर पहाड गजधम्म । यही भेग र भूगोलमा बर्खे झरीसँगै पलाएको हरियो खर्कको चरनणमा रमाउने भेडा अब भने ओरालो लागेका छन् ।
दिनभरि भीर पहराको खान्की भ्याएर साँझपख गोठालाको सामान्य संकेत पाउनेबित्तिकै सरासर गोठतिर जाने भेडाको बथान अब खर्कभन्दा केही तल हुकाम गाउँको आसपासमा रमाउने छन् । अनि गोठाला भने हुकाममा रहेको मूलघरमै चाडबाड मनाउने तयारी गर्दै छन् । चैतमा पाटन उक्लेका गोठाला भदौसम्म चरन खोज्दै यही आसपासका खर्कमा हरेक महिनाजसो गोठ सार्ने गर्छन् । ‘अब त हामी खर्क छोडेर बेँसी झरेका छौं । माथीतिर चिसो बढ्यो अनि चाडबाड पनि आयो,’ गोठाला झलमान बुढाले भने, ‘अब अलि तलतिरका पहाडमा चरन खोजेर बस्ने हो ।’
करिब ४५ सय मिटर उचाइसम्म पुगेर भेडाका लागि चरन खोज्दै हिँड्ने आफूहरुको दुःख यहाँका पहाडभन्दा कम अग्ला नभएको झलकमान बताउँछन् । ‘हिउँद होस् या बर्खा, अनेकन् सुख–दुःख आइपर्छन्, सबै सहनैपर्छ । गाउँबाट खान्की बोकेर गोठसम्म ल्याउनुपर्छ, दाउरा–पानीको अभाव हुन्छ । कहिले आफै बिरामी त कहिले भेडा बिरामी पर्छन् । सकेको घरेलु उपचारले ज्यान जोगाउँछौं । बाँकी त भगवान् भरोसा चलेको छ,’ उनले सरसर्ती सुनाए ।
यी त भए हुकामी गोठालाका कुरा । यससँगै रुकुम पूर्वमा जति पनि भेडा, बाख्रा र अरु पशु–चौपाया पालेर आफ्नो जीविका चलाउने किसान छन्, उनीहरुका दुःख उस्तैउस्तै हो । अर्का गोठाला महेन्द्र पुनले आफूसँगै भेडाहरुको पनि स्वास्थ्य उपचारको सबैभन्दा ठूलो समस्या भएको बताए । ‘भेडाको पछिपछि भीरको बाटो हिँड्नुपर्छ । यहाँको मौसम र खटनले पनि कतिबेला आफै त कतिबेला भेडा बिरामी पर्छन् । उपचार पाउन मुस्किल छ,’ सरकारसमक्ष माग गर्दै उनले भने, ‘कम्तीमा वर्षमा एकपल्ट हाम्रो र भेडाको स्वास्थ्य परीक्षण र आवश्यक उपचारका लागि सरकारी सहयोग जरुरी छ । बिमा भए पनि हामीलाई राम्रो हुने थियो ।’
मुख्यतः उनीहरुको आम्दानीको स्रोत नै भेडा हुन् । प्रतिभेडा १५ देखि ३० हजारसम्ममा बिक्री हुने महेन्द्र बताउँछन् । पहिले–पहिले ऊन पनि धेरै नै बिक्री हुन्थ्यो । पछिल्ला वर्ष यसको बिक्री आधाभन्दा धेरैले घटेको उनको भनाइ छ । ‘ऊनबाट विभिन्न प्रकारका कपडा बनाइन्छ । तर पछिल्लो समय बजारमा अनेक कपडा आएकाले यसको माग कम भएको छ,’ उनले भने ।
यहाँ एकै घरका करिब एक सयजति भेडा हुन्छन् । १५ सयदेखि २ हजार वटा भेडाको एउटा बथान बनाएर पालैपालो ४–५ जनाको समूह बनाएर बथानको रेखदेख गर्ने र गोठ कुर्ने उनीहरुको चलन छ । सबैजना गोठमा बस्न मुस्किल हुने भएकाले एउटै गोठमा बस्न मिल्नेगरी पालैपालो आउने अनि सामूहिक रुपमा भेडाको रेखदेख गर्ने गोठाला साहस पुन बताउँछन् ।
भेडा र गोठालाको सुरक्षा, सरल र आधुनिक शैलीमा यिनको रेखदेख एवम् थप व्यावसायीकरण गर्न सके यो पेसाको निरन्तरतासँगै पुस्तान्तरण समेत हुनेछ । यसका लागि पुथाउत्तरगंगा गाउँपालिका-५ ले गोठालाका लागि खर्कहरुमा गोठ बनाइदिने काम गरेको वडाध्यक्ष टिकासाई घर्तीले बताए । ‘हामी सकेसम्म गोठालाको दैनिकीलाई सहज बनाउन लागिपरेका छौं । गत आर्थिक वर्षमा ५ वटा गोठ निर्माण गर्यौं । यो वर्ष पनि किसान र भेडाको सुरक्षा र यसको व्यवसायीक विकासका लागी केही न केही गर्ने हाम्रो योजना रहेको छ ।’
![Following the Sheep to Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6133-2592025115353-1000x0.jpg&w=1001&h=0)
![Following the Sheep to Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6208-2592025115248-1000x0.jpg&w=1001&h=0)
![Following the Sheep to Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6097-2592025115408-1000x0.jpg&w=1001&h=0)
![Following the Sheep to Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6114-2592025115401-1000x0.jpg&w=1001&h=0)
![Following the Sheep to Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6145-2592025115344-1000x0.jpg&w=1001&h=0)
![Following the Sheep to Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6153-2592025115306-1000x0.jpg&w=1001&h=0)
![Following the Sheep to Patan [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img6195-2592025115257-1000x0.jpg&w=1001&h=0)