भेडा पछ्याउँदै पाटनतिर [तस्बिरहरू]

कहिले गोठाला बिरामी हुन्छन् त कहिले भेडा । रुकुम पूर्वमा जति पनि भेडा, बाख्रा र अरु पशु–चौपाया पालेर आफ्नो जीविका चलाउने किसान छन्, उनीहरुका दुःख उस्तैउस्तै हो ।

आश्विन ११, २०८२

महेश केसी

Following the Sheep to Patan [Photos]

रुकुम पूर्व — पुथा उत्तरगंगा गाउँपालिका-५ स्थित थलखर्क पाटन । शिरशिरे बतास चलिरहने अग्लो डाँडा, उत्तरतिर झलल हिमाल, अरुतिर पहाड गजधम्म । यही भेग र भूगोलमा बर्खे झरीसँगै पलाएको हरियो खर्कको चरनणमा रमाउने भेडा अब भने ओरालो लागेका छन् ।

Following the Sheep to Patan [Photos]

दिनभरि भीर पहराको खान्की भ्याएर साँझपख गोठालाको सामान्य संकेत पाउनेबित्तिकै सरासर गोठतिर जाने भेडाको बथान अब खर्कभन्दा केही तल हुकाम गाउँको आसपासमा रमाउने छन् । अनि गोठाला भने हुकाममा रहेको मूलघरमै चाडबाड मनाउने तयारी गर्दै छन् । चैतमा पाटन उक्लेका गोठाला भदौसम्म चरन खोज्दै यही आसपासका खर्कमा हरेक महिनाजसो गोठ सार्ने गर्छन् । ‘अब त हामी खर्क छोडेर बेँसी झरेका छौं । माथीतिर चिसो बढ्यो अनि चाडबाड पनि आयो,’ गोठाला झलमान बुढाले भने, ‘अब अलि तलतिरका पहाडमा चरन खोजेर बस्ने हो ।’

Following the Sheep to Patan [Photos]

करिब ४५ सय मिटर उचाइसम्म पुगेर भेडाका लागि चरन खोज्दै हिँड्ने आफूहरुको दुःख यहाँका पहाडभन्दा कम अग्ला नभएको झलकमान बताउँछन् । ‘हिउँद होस् या बर्खा, अनेकन् सुख–दुःख आइपर्छन्, सबै सहनैपर्छ । गाउँबाट खान्की बोकेर गोठसम्म ल्याउनुपर्छ, दाउरा–पानीको अभाव हुन्छ । कहिले आफै बिरामी त कहिले भेडा बिरामी पर्छन् । सकेको घरेलु उपचारले ज्यान जोगाउँछौं । बाँकी त भगवान् भरोसा चलेको छ,’ उनले सरसर्ती सुनाए ।

Following the Sheep to Patan [Photos]

यी त भए हुकामी गोठालाका कुरा । यससँगै रुकुम पूर्वमा जति पनि भेडा, बाख्रा र अरु पशु–चौपाया पालेर आफ्नो जीविका चलाउने किसान छन्, उनीहरुका दुःख उस्तैउस्तै हो । अर्का गोठाला महेन्द्र पुनले आफूसँगै भेडाहरुको पनि स्वास्थ्य उपचारको सबैभन्दा ठूलो समस्या भएको बताए । ‘भेडाको पछिपछि भीरको बाटो हिँड्नुपर्छ । यहाँको मौसम र खटनले पनि कतिबेला आफै त कतिबेला भेडा बिरामी पर्छन् । उपचार पाउन मुस्किल छ,’ सरकारसमक्ष माग गर्दै उनले भने, ‘कम्तीमा वर्षमा एकपल्ट हाम्रो र भेडाको स्वास्थ्य परीक्षण र आवश्यक उपचारका लागि सरकारी सहयोग जरुरी छ । बिमा भए पनि हामीलाई राम्रो हुने थियो ।’

Following the Sheep to Patan [Photos]

मुख्यतः उनीहरुको आम्दानीको स्रोत नै भेडा हुन् । प्रतिभेडा १५ देखि ३० हजारसम्ममा बिक्री हुने महेन्द्र बताउँछन् । पहिले–पहिले ऊन पनि धेरै नै बिक्री हुन्थ्यो । पछिल्ला वर्ष यसको बिक्री आधाभन्दा धेरैले घटेको उनको भनाइ छ । ‘ऊनबाट विभिन्न प्रकारका कपडा बनाइन्छ । तर पछिल्लो समय बजारमा अनेक कपडा आएकाले यसको माग कम भएको छ,’ उनले भने ।

Following the Sheep to Patan [Photos]

यहाँ एकै घरका करिब एक सयजति भेडा हुन्छन् । १५ सयदेखि २ हजार वटा भेडाको एउटा बथान बनाएर पालैपालो ४–५ जनाको समूह बनाएर बथानको रेखदेख गर्ने र गोठ कुर्ने उनीहरुको चलन छ । सबैजना गोठमा बस्न मुस्किल हुने भएकाले एउटै गोठमा बस्न मिल्नेगरी पालैपालो आउने अनि सामूहिक रुपमा भेडाको रेखदेख गर्ने गोठाला साहस पुन बताउँछन् ।

Following the Sheep to Patan [Photos]

भेडा र गोठालाको सुरक्षा, सरल र आधुनिक शैलीमा यिनको रेखदेख एवम् थप व्यावसायीकरण गर्न सके यो पेसाको निरन्तरतासँगै पुस्तान्तरण समेत हुनेछ । यसका लागि पुथाउत्तरगंगा गाउँपालिका-५ ले गोठालाका लागि खर्कहरुमा गोठ बनाइदिने काम गरेको वडाध्यक्ष टिकासाई घर्तीले बताए । ‘हामी सकेसम्म गोठालाको दैनिकीलाई सहज बनाउन लागिपरेका छौं । गत आर्थिक वर्षमा ५ वटा गोठ निर्माण गर्‍यौं । यो वर्ष पनि किसान र भेडाको सुरक्षा र यसको व्यवसायीक विकासका लागी केही न केही गर्ने हाम्रो योजना रहेको छ ।’

Following the Sheep to Patan [Photos]
Following the Sheep to Patan [Photos]
Following the Sheep to Patan [Photos]
Following the Sheep to Patan [Photos]

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully