ढ्याङ्ग्रो बोकेको पान्देहरु छोनामका विधि पूरा गरिरहेका थिए । गीतसंगीतमा युवायुवती रमाइरहेका थिए । पाकाहरु रमाइलो देखेर आनन्द मान्दै थिए ।
चितवन — छोनाम अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको प्रमुख पर्व हो । यो पर्वको अवसर पारेर नेपाल चेपाङ संघले २०६३ सालयता हरेक वर्ष भदौ २२ मा विशेष कार्यक्रम गर्दै आएको छ ।
यसै सिलसिलामा आइतबार चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा संघले आयोजना गरेको कार्यक्रममा चेपाङ समुदायका युवा र प्रौढदेखि यस पर्वका बारेमा चासो र सरोकार राख्नेको जमघट भएको छ । पुजारीको भुमिकामा रहने झाँक्री 'पान्दे' ले ढ्याङ्ग्रो ठटाउँदै र मन्त्र फलाक्दै नयाँ अन्न पितृलाई अर्पण गरेपछि बल्ल घर परिवारका अन्य सदस्यले खाने चलन चेपाङ समुदायमा छ । नयाँ अन्न न्वागी गरेर खाने चलन अन्य समुदायमा पनि चल्दै आएको छ । चेपाङ छोनामलाई नवाङ्गी पनि भन्छन् । चेपाङ भाषामा नवाङ भनेको नयाँ र गी को अर्थ नौलो हुने चेपाङ अगुवा बताउँछन् ।
‘खेतबारीको नयाँ नौलो अन्न घरका अन्यले खानुअघि पितृ र प्रकृतिलाई चढाउने विधि नै छोनाम हो,’ संघका केन्द्रीय महासचिव सन्तबहादुर चेपाङले भने । छोनाम पर्वको अवसरमा बागमती प्रदेश सरकारले आतबार प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको छ । पहाडका भीर पाखामा बस्दै आएका चेपाङहरुले भित्राउने मुख्य बाली भनेको मकै, कागुनो, सामा, पिँडालु नै हो । ‘जुन खेती खानलाई तयार हुने भनेको भदौ याममा हो । त्यसैले हामी भदौ सुरु भएसँगै छोनाम मनाउन सुरु गर्छौं,’ केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले भने ।
यसपालि पटक नारायणगढ-मुग्लिन सडकमा पर्ने कालिखोला पुलदेखि केही पर भएको कार्यक्रममा ढ्याङ्ग्रो बोकेको पान्देहरु छोनामका विधि पूरा गरिरहेका थिए । गीतसंगीतमा युवायुवती रमाइरहेका थिए । पाकाहरु रमाइलो देखेर आनन्द मान्दै थिए । उनीहरू छोनामबारे सुनेजानेका कुरा अरुलाई बताइरहेका पनि थिए । चेपाङहरुले खाँदै आएका गिट्ठा, सिस्नुको साग, कागुनो, सामाको भात र पिँडालुको परिकार पनि कार्यक्रममा आउने पाहुनालाई खुवाएको इच्छाकामना-६ का वडाध्यक्ष लक्ष्मण चेपाङले बताए ।
![Chepang community busy in Chonam [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img20250907114910-0792025093011-1000x0.jpg&w=1001&h=0)
![Chepang community busy in Chonam [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img20250907120204-0792025093022-1000x0.jpg&w=1001&h=0)
![Chepang community busy in Chonam [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img20250907115251-0792025092954-1000x0.jpg&w=1001&h=0)
![Chepang community busy in Chonam [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img20250907121304-0792025092939-1000x0.jpg&w=1001&h=0)