पेल्मा गाउँमा लटरम्मै स्याउ फलेको छ । बजारसम्म पो कसले लैजान्छ ?
रुकुम पूर्व — लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वका विभिन्न स्थानमा स्याउ उत्पादनको राम्रो सम्भावना छ । यसको उत्पादन पनि भइरहेको छ । यसैमध्येको एक हो रुकुम पूर्वको पेल्मा गाउँ जहाँ स्याउ फलेको छ । तर बजार अभावमा यो यसै खेर गइरहेको छ ।
पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ स्थित पेल्माको स्याउ बारीमा फलले बोट नै नुगेको छ । यहाँका पाखाभरि स्याउको बगैँचा छन् र जताततै लटरम्मै फलेको छ देखिन्छ सबैतिर बजारसम्म पुर्याउन नसक्दा यहाँको स्याउको सदुपयोग हुन नसकेको स्थानीय स्याउ किसान माया लाकम भन्छिन् । ‘१०–१२ वर्षदेखि यसरी नै स्याउ फल्छ । तर के गर्नु खाइदिने कोही छैन । केही जुस बनाउँछौँ अनि केहीचाहिँ स्थानीय रक्सी । बाँकी खेरै जान्छ,’ उनले भनिन् ।
निर्माणाधीन सहिदमार्ग हुकामसम्म पुगेको छ भने पेल्मातर्फ आउने स्थानीय सडक काजारजंगसम्म ट्र्याक खोलिएको छ । तर बर्खाका कारण ठाउँ–ठाउँमा पहिरो गएको र खोला बढेका कारण हुकाम भन्दा केही अगाडी नै गाडी रोकिने गरेको बताउँदै अर्का किसान सतसिंह बुढा भन्छन्, ‘गाडी आउने ठाउँसम्म जान एकदिन हिँड्नुपर्छ । भीर–पहरा र खोलाको बाटो स्याउ बोकेर बजार लैजान सम्भव छैन । गाडीले पनि लिन मान्दैन ।’
पेल्मासँगै रुकुम पूर्वका अरुपनि धेरै स्थानका स्याउ उत्पादनको राम्रो सम्भावना छ र फलिरहेको पनि छ । तर बजार अभावकै कारण उत्पादन बढ्न सकेको छैन । पेल्मामा स्याउ उत्पादन बढाउन र यसको सदुपयोग गर्न स्थानीय र प्रदेश सरकारको सहयोगका स्याउको वाइन बनाउन प्राविधिक सहयोग गरिएको पुथाउत्तरगंगा गाउँपालिका–५ का अध्यक्ष टिकाशाई घर्ती बताउँछन् ।
जुस निकाल्नका लागि पनि हाते मेसिन दिइएको छ । तर यतिले मात्र पुगेको भने छैन । अहिलेको आवश्यकता भनेको स्याउको उत्पादनसँगै यसको गुणस्तरमासमेत जोड दिएर व्यवस्थित बजारीकरण गरेको बताउँदै अध्यक्ष घर्तीले यसका लागी स्थानीय सरकारको टुक्रे बजेटले सबै काम सम्भव नहुने भन्दै संघ र प्रदेश सरकारले सडक–पूर्वाधार देखी अरू प्राविधिक कामहरू गर्नुपर्ने बताए । यसरी बारीभरि लटरम्म भई फलेको स्याउले बजार कहिले पाउने हो ? स्याउको स्वाद पर्खिरहेका ग्राहकसम्म यहाँको स्याउ कहिले पुग्ने हो ? यसतर्फ सरकार र सरोकारवालाको ध्यान जान जरुरी छ ।
![Apples all over the orchard in Pelma [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/000a5693-0692025040156-1000x0.jpg&w=1001&h=0)
![Apples all over the orchard in Pelma [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/000a5722-0692025033645-1000x0.jpg&w=1001&h=0)
![Apples all over the orchard in Pelma [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/000a5719-0692025033638-1000x0.jpg&w=1001&h=0)
![Apples all over the orchard in Pelma [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/000a5700-0692025033632-1000x0.jpg&w=1001&h=0)
![Apples all over the orchard in Pelma [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/000a5684-0692025033614-1000x0.jpg&w=1001&h=0)