पर्यटक लोभ्याउने केञ्जो गार्डेन [तस्बिरहरू]

हिमालको घाँसे मैदान र चट्टानमा फक्रने वनस्पति पदमचालले यतिबेला पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्बुङ पोखरी क्षेत्र मनमोहक देखिएको छ ।

भाद्र १५, २०८२

लक्ष्मी गौतम

Kenzo Garden attracts tourists [Photos]

पाँचथर — हिमाली टावर पनि भनिने पदमचाललाई चिनियाँले केञ्जो भन्छन् । नेपालमा पनि यो वनस्पतिलाई केञ्जो भनेर चिन्ने धेरै छन् । हिमालको घाँसे मैदान र चट्टानमा फक्रने वनस्पति पदमचालले यतिबेला पाँचथर र ताप्लेजुङको सीमावर्ती तिम्बुङ पोखरी क्षेत्र मनमोहक देखिएको छ ।

Kenzo Garden attracts tourists [Photos]

हिमाली टावर पनि भनिने पदमचाललाई चिनियाँले केञ्जो भन्छन् । नेपालमा पनि यो वनस्पतिलाई केञ्जो भनेर चिन्ने धेरै छन् । तिम्बुङ पोखरीनजिकै रहेको पाँचथरको याङवरक–२ मा यसको प्राकृतिक बगैंचा छ । जसलाई स्थानीयले ‘केञ्जो गार्डेन’ नामकरण गरिदिएका छन् । फेदमा हरियो पात हुने केञ्जोको डाँठमा सेता पत्र खप्टिएर टुप्पासम्म फुलेकाले झट्ट हेर्दा टावरजस्तै लाग्ने भएकाले स्थानीयले यसलाई ‘हिमाली टावर’ पनि भन्ने गर्छन् । टाढाबाट हिउँको थुप्रोझैं देखिने केञ्जोका बुट्यानसँग तस्बिर, भिडियो खिच्ने र हिमाली सौन्दर्यमा रमाउन यहाँ यात्रामा निस्किनेको संख्या बढेको छ ।

Kenzo Garden attracts tourists [Photos]

यो वनस्पति समुद्री सतहदेखि ४ हजार २ सय मिटरभन्दा माथिल्लो भूभागमा पाइन्छ । तिम्बुङ पोखरी क्षेत्रमा भेटिएकी फिदिम–२ की सरस्वती शिवाकोटीले २०५५ सालमा पहिलोपटक तस्बिरमा पदमचाल देखे पनि प्रत्यक्ष हेर्ने इच्छा यसपालि मात्रै पूरा भएको सुनाइन् । फिदिम–४ का वासु घिमिरेले पदमचालको सौन्दर्य हेर्न बर्सेनि यो ठाउँ घुम्न आउने बताए । उनले हालसम्म ६ पटक तिम्बुङ पोखरी क्षेत्रको भ्रमण गरिसकेका छन् । फिदिमका साहित्यकार भवानी तावा प्रत्येक वर्ष जसो पदमचालको बगैंचा डुलेर फर्किने गरेका छन् ।

Kenzo Garden attracts tourists [Photos]
Kenzo Garden attracts tourists [Photos]

समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित तिम्बुङ पोखरीमा गत वर्ष ताप्लेजुङको बाटो भएर झन्डै २ हजार आन्तरिक र केही भारतीय पर्यटक आएका थिए । पाँचथर र सिक्किमतर्फबाट आएका पर्यटकको अभिलेख राख्ने गरिएको छैन । यो वर्ष साउनमा मात्रै १ हजारले तिम्बुङको केञ्जो गार्डेनको भ्रमण गरेको राई बताउँछन् ।

Kenzo Garden attracts tourists [Photos]
Kenzo Garden attracts tourists [Photos]
Kenzo Garden attracts tourists [Photos]
Kenzo Garden attracts tourists [Photos]

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully