काठमाडौँ — चक्रपथ तेस्रो खण्ड विस्तारअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डको निर्माण गति घटेको छ । असार भित्रै काम सक्ने भनिएपनि अहिलेसम्म निर्माण प्रगति ३५ प्रतिशत मात्र छ । एकतर्फी सडक कालोपत्र गर्न बेस र सब बेस राख्ने काम भइरहेको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए ।
‘असारसम्म एकतर्फी सडक कालोपत्र सक्नेगरी काम गरिरहेका छौं,’ उनले भने, ‘बर्खा लाग्यो,त्यसैले योजना अनुसार काम गर्न सकिएको छैन,दसैँसम्म यो खण्ड बनिसक्छ ।’ अहिले नाली, कर्ल्भट र वाल निर्माणको काम भइरहेको छ । कलंकी–वसुन्धरा खण्ड चीन सरकारको अनुदानमा बनाउने भनिए पनि ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो ।
उक्त खण्डको ७ सय मिटर दूरीमा सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएका हुन् । असारभित्र काम सकिसक्नुपर्ने भएपनि बर्खाले गर्दा गारो भएको प्रमुख भण्डारीले बताए । चालु आर्थिक वर्षमा यस खण्डका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएकाले त्यहीअनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको हो ।
वसुन्धरादेखि गोपीकृष्ण पुलसम्मको २.४ किमिसम्म थप ठेक्का गर्न १ अर्ब रुपैयाँ माग गरिएपनि आगामी आवका लागि १८ करोड रुपैयाँ विनियोजन गरिएको कार्यालयले जनाएको छ । ‘१८ करोड रुपैयाँ आगामी आवका लागि छुट्याइएको छ ,’ उनले भने, ‘त्यसअनुसार वसुन्धरादेखि गोपीकृष्ण खण्ड विस्तारलाई बहुवर्षियमा राखेर काम गर्ने तयारीमा छौं ।’ नारायणगोपाल चोकमा केही घर भत्काउनुपर्ने भएकाले त्यहाँ अन्डरपास वा ओभरपास के बनाउन सकिन्छ भनेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम काठमाडौं चक्रपथ सडक विस्तार योजना कार्यालयले गर्ने सडक विभागले जनायो ।
![Delay in expansion of Maharajgunj-Chappal factory section [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/highwayconstruction0705202587a8780-0772025035953-1000x0.jpg&w=1001&h=0)
![Delay in expansion of Maharajgunj-Chappal factory section [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/highwayconstruction0705202587a9100-0772025040110-1000x0.jpg&w=1001&h=0)
![Delay in expansion of Maharajgunj-Chappal factory section [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/highwayconstruction0705202587a9095-0772025040102-1000x0.jpg&w=1001&h=0)
![Delay in expansion of Maharajgunj-Chappal factory section [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/highwayconstruction0705202587a8948-0772025040055-1000x0.jpg&w=1001&h=0)