लुम्बिनी — अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय राजदूत नवीन श्रीवास्तवदेखि लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरसम्मले योग गरेका छन् । भारतीय राजदूतावास, बीपी कोइराला भारत नेपाल फाउन्डेसन र लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा उनीहरूसँगै सर्वसाधारणले आधा घण्टा योगाभ्यास गरे ।
शुक्रबार बिहानै लुम्बिनीस्थित शान्ति दीपमा दुई सय सर्वसाधारणको भीडमा बसेर राजदूतदेखि प्रदेश प्रमुखसम्म योग गर्दै असिन पसिन बनेका थिए । पश्चिम नवलपरासीदेखि कपिलवस्तुसम्मका ५ वर्षे बालकदेखि ७० वर्षेसम्म वृद्धसम्म सहभागी थिए । प्रत्येक वर्ष जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको भए पनि यहाँ भने एक दिनअघि नै मनाइएको हो ।

