चौकीडाँडा, काभ्रे — गत असोजमा आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गमा जसोतसो खोलो तर्काएर सवारी साधन सञ्चालन गरिएको छ । पहिला खोलाबाट नै सवारी साधन सञ्चालन गरिएको थियो । अहिले भित्तातिर गेग्रान र ठूला ढुंगा राखेर अस्थायी सडक बनाइएको छ । त्यही सडक भएर सवारीसाधन ओहरदोहर गर्छन् ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको चौकी डाँडामा भने पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधन ठाडो उकालोका कारण पल्टिँदा दुर्घटना हुने गरेको छ । मंगलबार मात्र काँकडभिट्टाबाट भुइँकटहर लिएर काठमाडौं आउँदै गरेको भारतको पश्चिम बंगालको पिकअप भ्यान पल्टिँदा चालक घाइते भए । चौकी डाँडाका ट्राफिक प्रहरीका असई रोहित हुमागाईका अनुसार चालक निरोन सरकार घाइते सामान्य घाइते भएका छन् । उनको टाउकोमा समान्य चोट लागेको उनले सुनाए ।
अहिले बीपी राजमार्गको सबैभन्दा बढी समस्या यही उकालोमा रहेको भक्तपुर डिभिजन सडक कार्यालयका इन्जिनियर दुर्गा प्रसादले बताए । उक्त उकालोमा सडकको ग्रेड नमिलेकाले सुधारको काम भइरहेको उनले सुनाए । उक्त सडक भन्दा माथिको कालोपत्रे सडक गत असोजको बाढी र पहिरोले भत्किएको छ । त्यसैको तलबाट अस्थायी सडक बनाएर सवारी सञ्चालन गरिएको हो ।
काभ्रे भन्ज्याङ–नेपालथोक खण्डको ११ किलोमिटर सडकमा बाढीपहिरोले बढी क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । क्षति भएको खण्डसमेत गरेर २८ किमि सडकलाई चार वटा प्याकेजमा विभाजन गरेर ठेक्का गरिएको छ । जसमा काभ्रेमा तीन र सिन्धुलीमा एउटा प्याकेज पर्नेछ । डालाबेंसी–बर्खे खोला खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने सहमति भएको छ । जाइकाले ३.२ किमिमा काम गर्ने छ । नेपालथोक–बर्खे खोला, डालाबेंसी–चार सयबेंसी खण्डको ठेक्का भइसकेको छ ।
![This is what BP Highway looks like as the rains begin [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bphighway06032025dji0062-0462025095057-1000x0.jpg&w=1001&h=0)
![This is what BP Highway looks like as the rains begin [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bphighway06032025dji0052-0462025095052-1000x0.jpg&w=1001&h=0)
![This is what BP Highway looks like as the rains begin [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bphighway06032025dji0045-0462025095047-1000x0.jpg&w=1001&h=0)
![This is what BP Highway looks like as the rains begin [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bphighway06032025dji0037-0462025095042-1000x0.jpg&w=1001&h=0)