मैकोटको मुहारमा विकासको लाली [तस्बिरहरू]

जेष्ठ २०, २०८२

महेश केसी

Developmental blush on macaw's face [Photos]

काठमाडौँ — मध्य जेठमै वरिपरि हरियाली छाउँदैछ । बारीमा चैतमा रोपेका मकै हलक्क बढेका छन् । अनि स्याउले लटरम्म फल लगाएको छ । न जाडो, न गर्मी ठीक्कको मौसमसँगै रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोट गाउँ यतिबेला मनोरम बनेको छ । हिउँ र हिउँदे वर्षा पर्याप्त नभएपनि चैतयता पटक–पटक परिरहेको पानीले जमिन सिञ्चित भएको छ । किसानमा खुसी छाएको छ । 

Developmental blush on macaw's face [Photos]

गाउँमा भने यतिबेला खासै चहलपहल छैन । कारण हो गाउँका प्रायः मान्छेहरू यार्चागुम्बु टिप्न बुकी उक्लिएका छन् । चैत निगल्ततिर मकै रोपेर गएका उनीहरू असार मध्यतिर मात्रै फर्किनेछन् । यसकारण गाउँमा स्कुले बालबालिका र वृद्धवृद्धा धेरै भेटिन्छन् । मकै गोड्ने हुन लागेका छन् । गाउँमा रहेकाहरू केही दिनमा मकै गोड्ने मेलो सार्ने योजनामा छन् । 

Developmental blush on macaw's face [Photos]

यसअघि जाँदा घोडा–खच्चडको हट...हट... र टाङटुङ...आवाज सुनिन्थ्यो । अब भने त्यो अलि कम भएको छ । किनभने मैकोटसम्म मोटर बाटो पुगेको छ । धेरै पहिले केही दिनको र केही वर्षयता हुकाम अनि गरसम्म मोटर चढेर त्यहाँबाट झन्डै आधा दिन पैदल हिँडेपछि मैकोट पुगेका जोकोहीलाई पनि गाडीमा सरर... यहाँसम्म पुग्न पाउँदा खुसी नलाग्ने कुरै भएन । 

Developmental blush on macaw's face [Photos]

सहिदमार्ग भएर दाङ–रोल्पातिरबाट र मध्यपहाडी लोकमार्ग भएर काठमाडौं–पोखरातिरबाट आउने जोकोहीले पनि मध्यपहाडी लोकमार्गलाई भुमेको काँक्रीमा छोडेर करिब ५५ किलोमिटर लामो यात्रा गरे पश्चात मैकोट पुगिन्छ । तकसेरा अनि अरू सुन्दर गाउँबस्ती र पाखा पखेरा छिचोलेर भीमकाय पहाडको फेँदीमा निर्माणाधीन कच्ची सडकमा यात्रा गर्न त्यति असहज छैन । तर हुकामदेखि तल बत्वा खोलामा पुल नहुँदा झरी अलि धेरै परेपछि भने खोलामा पानी बढ्छ अनि मोटर तार्न मुस्किल पर्छ । साथै यो खोलाबाट मैकोटसम्म उक्लिने बाटो पनि उति सजिलो छैन । केही महिनाअघि मात्रै खोलिएको ट्र्याक अनि अलि ठाडो भएकाले फोर ह्विल गाडी भएमात्रै मैकोटसम्म पुग्न सकिन्छ । 

Developmental blush on macaw's face [Photos]

मैकोटसम्म मोटर पुगेकामा आफूहरू खुसी भएपनि बत्वा खोलादेखि माथिको बाटो हेर्दा जोकोहीलाई पनि डर लाग्ने स्थानीय रामप्रसाद पुन बताउँछन् । ‘बाटो त आयो तर अलि धेरै उकालो भएन र ?’ उनी प्रश्न गर्दै भन्छन्, ‘इन्जिनेरले नापेको बाटो यस्तो अफठ्यारो त हुन नहुनी हो । अब यो बाटो पनि मिलाउन पर्‍यो । अनि बत्वामा पुल पनि चाहियो ।’

Developmental blush on macaw's face [Photos]

आफूहरूले पुल माग गरेको तर नपरेको भन्दै वडा अध्यक्ष वीरमान विकले यसपल्टको बजेट भाषणमा बेलिब्रिज परेको अपुष्ट खबर सुनेको बताए । ‘यसपल्टको बजेटमा पुलको योजना परेको छ रे तर कन्फर्म छैन । परेको भए राम्रो भयो, नपरेको भए त हाम्रा दुःख त उस्तै रहने भए ।’ उनी भन्छन् । 

Developmental blush on macaw's face [Photos]

मैकोट गाउँ घुम्दा देखिएको एउटा गजबको विकास हो खानेपानीको । ‘कादुरी’ नामको गैरसरकारी संस्थाको सहयोगमा घर–घरमा मिटरसहितका धाराहरू निर्माण गरिएका छन् । अब त्यहाँ पानी सञ्चालन गर्न केही समय लाग्ने बताइएको छ । स्थानीय स्तरमै उत्पादन गरिएको बिजुलीले उज्यालो त भएको छ तर गाउँभरि प्रयोग गर्दा पावर नपुग्ने समस्या छ । 

Developmental blush on macaw's face [Photos]

मैकोट यहाँ घुम्न आउने पाहुनालाई स्वागत गर्न तम्तयार भएका बसेको जस्तो लाग्छ । यहाँ ग्राम्य झल्को दिने होमस्टे र होटेल पनि सञ्चालनमा छन् । समग्रमा भन्नुपर्दा मैकोटको मुहारमा विकासको लाली छाउँदैछ । यसलाई यही गतिमा अघि बढाएर जाने हो भने यो मुहारमा थप मोहकता थपिनेछ ।

Developmental blush on macaw's face [Photos]
Developmental blush on macaw's face [Photos]
Developmental blush on macaw's face [Photos]
Developmental blush on macaw's face [Photos]
Developmental blush on macaw's face [Photos]

महेश केसी केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully