कपिलवस्तु — शाक्यवंशीय राजधानी प्राचीन कपिलवस्तु तिलौराकोटमा मायादेवी प्रसूति उत्सव मनाइएको हो । वैशाख पूर्णिमाका दिन लुम्बिनीमा राजकुमार सिद्धार्थको जन्म भएपछि त्यहाँबाट राजप्रासाद तिलौराकोट आउँदाको जस्तै झल्को देखाउने गरी यहाँ मंगलबार उत्सव मनाइएको हो ।
तिलौराकोटबाट एक टोली लुम्बिनी पुगेर नवजात शिशुको प्रतिमालाई तिलौराकोट दरबार भित्र्याएको छ । प्रतिमा लिन प्रजिअ दिलकुमार तामाङको नेतृत्वमा एक सय जनाको टोली जन्मस्थल लुम्बिनी पुगेको थियो । बेबी बुद्धको मूर्तिलाई मायादेवी मन्दिर परिक्रमा गराई लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्यले हस्तान्तरण गरेका थिए ।
नगरपालिकाको पूर्वी प्रवेशद्वार जमुवार पुल प्रवेश गर्नासाथ स्थानीयले लुम्बिनीबाट ल्याइएको बेबी बुद्धको मूर्तिलाई पूजाआजा गरेका थिए । बेबी बुद्धको मूर्तिलाई गाडीमा राखेर जमुवार पुलदेखि मुख्य बजार क्षेत्र हुँदै गौढी चोकसम्म करिब दुई किमि हिँडेर शोभायात्रा गरिएको थियो । अगाडी पञ्चेबाजा र पछाडि बौद्ध धुनसहितको शोभायात्रामा प्रमुख जिल्ला अधिकारी तामाङसहित कर्मचारी, प्रहरी, सशस्त्र, सेना भिक्षु भिक्षुणी र स्थानीयको सहभागिता थियो ।
महारानीसहित शिशु दरबार आउँदा बाटोमा फूलमाला र अबिर जात्रा गरेर खुसीयाली मनाएजस्तै यो यात्रालाई सर्वसाधारण, श्रद्धालु र उपासक उपासिकाले भव्य स्वागत गरेका थिए । लुम्बिनीबाट तौलिहवा आउँदा बाटोमा पर्ने लवनी, पकडी, बर्रोहिया र दोहनीमा बेबीलाई स्थानीयले स्वागत गरेका थिए । बाटोको दायाँ बायाँ जम्मा भएका श्रद्धालुले पुष्पगुच्छा र अबिरले बेबी बुद्धको स्वागत गरेका थिए । ‘दरबारमा नयाँ सदस्य थपिएपछिको खुसीयालीमा नगरभरि शोभायात्राका साथ उमंग थपिएको छ,’ लुम्बिनी विकास कोषका परिषद् सदस्य गोपीकृष्ण शर्माले भने, ‘स्थानीयमा पनि उत्तिकै खुसी र रौनक थपिएकोछ ।’



