लुम्बिनी — २५६९ औं बुद्ध जयन्तीको उपलक्ष्यमा लुम्बिनीमा भियतनामी खाना उत्सव गरिएको छ । लुम्बिनीस्थित भियतनाम फुओक तु विहारमा टीएचडी पिस फाउन्डेशनद्वारा बिहीबार एकदिने खाना महोत्सव गरिएको हो ।परम्परागत र आधुनिक भियतनामी खाना नेपालीलाई ख्वाएर त्यहाँको स्वाद र परिकारबारे जानकारी दिन उत्सव गरिएको आयोजकले बताए ।अनदीको चामलबाट बनाइएको विशेष परिकार केराको पातमा बेरेर राखिएको वनबाओ, स्विट सुप चे, भियतनामी कोल्ड टी र भियतनामी जेली राउमाउ महोत्सवमा राखिएको थियो । त्यस्तै मुङको दाल र अनदीको चामलबाट बनाइएको बन्तेत र पाकेको केराको पकौडा बन चुई लगायत १० बढी परिकार महोत्सवका विशेष आकर्षण थिए ।भियतनामी चाडपर्वमा खाने परिकार पनि बनाइएको थियो । एक सय बढी स्थानीयले भियतनामी परिकारको स्वाद लिएका थिए । उक्त परिकार बनाउन भियतनामबाट ४० भन्दा बढी महिला नेपाल आएका थिए ।
