खोटाङ — विश्वप्रशिद्ध हलेसीमा शिवलिंग पहिराइएको छ । रामनवमीको अवसरमा आइतबार बिहान ८ बजे पञ्चेबाजाका साथ शिवलिंग पहिराइएको हो । त्यस अवसरमा हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई, उपप्रमुख रमेश राउत, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुखहरू, हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिति थियो ।
रामनवमीको अवसरमा नेपाललगायत अमेरिका, चीन, भारत, भुटान, मलेसिया लगायतका तीर्थालु हलेसी आएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार शनिबार राति करिब पाँच हजार तीर्थालु जाग्राम बसेका छन् । उनीहरू रातभर जाग्राम बसेर बिहान पूजा आराधना गरी आइतबार बिहान फर्किएको गिरीले सुनाए । ‘आज राति करिब पाँच हजार तीर्थालु जाग्राम बसेर बिहान पूजाआराधना गरी बिहान फर्किनु भएको छ,’ गिरीले भने, ‘यातायात र हलेसीमा सुविधा भएपछि तीर्थालुको संख्या पनि बढेको छ ।’
गिरीका अनुसार रामनवमीमा १२ हजार तीर्थालु हलेसी आएका छन् । गत वर्ष छ लाख ८४ हजार सात सय ८५ देशी–विदेशी तीर्थालु, भक्तजन तथा पर्यटक हलेसी आएकोमा यो वर्ष सात लाख बढी हुने अनुमान गरिएको गिरीले सुनाए । त्रिधार्मिकस्थल (हिन्दू, बौद्ध र किरात)को रूपमा हलेसी प्रख्यात मानिन्छ । रामनवमी, शिवरात्री, बालाचतुर्दशीमा भव्य मेला लाग्ने गरेको छ ।
![This is what Hallesi Fair looked like [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo6-0642025034842-1000x0.jpg&w=1001&h=0)
![This is what Hallesi Fair looked like [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo5-0642025035033-1000x0.jpg&w=1001&h=0)
![This is what Hallesi Fair looked like [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo2-0642025035003-1000x0.jpg&w=1001&h=0)