चितवन — देरी दाओ बासी तिसी भतवा, हम जाइबो पुरबे लडाइ खेलनाएकवरी बानल भाला तरबार, एकवरी लिहले बनुख बारी हा ।कालिका नगरपालिका-५ पदमपुर ओमशान्ती चोककी बालकुमारी महतोले शुक्रबार दिउँसो यो गीत सुरु गरेपछि समूहमा रहेका अन्य महिलाहरुले पनि स्वर मिलाएर साथ दिए । महिलाहरूको हातमा मयुरको लामा-लामा प्वाखले सिंगारेका डम्फू थियो । महिलाहरूको स्वर र डम्फूमा ताल मिलाउँदै बुधराम महतो र मानकुमार महतोले ढोलक बजाए । फागुमा थारू समुदाय यसरी गीत र नाँचसँगै रंग दलेर धुर्हेरी मनाउँछन् ।
‘आमा मलाई बासी भातै भए पनि दिनुस्, म पूर्वतिर लडाइँ खेल्न हिँडे । एकातिर भाला तरकार र अर्को तिर बन्दुक भिरेको छु भन्ने भाव यो गीतमा छ । फागुमा योसहित अनेक गीतहरू गाउँदै हामी रमाइलो गर्दछौं,’ स्थानीय भीमबली थारू नारी समूहको अध्यक्ष पनि रहेकी बालकुमारीले भनिन् । थारूहरू चितवनको मैदानी क्षेत्रमा बसोबास भएका आदिवासी सहुदाय हुन् । थारूहरूले चितवनमा तीन दिन फागु मनाउँछन् ।
पहिलो दिन समत हुन्छ । बिहीबार साँझ समत सम्पन्न भयो । दोस्रो दिन धुर्हेरी र तेस्रो दिन चैतबारी हुने गर्दछ । थारू अगुवा कारी महतोको अनुसार पुर्णीमाको साँझ समतको विधि पूरा हुन्छ । बाँसका लिंगाहरू गाडेर त्यसलाई तोरीको नल (गट्टे)ले छोपेर गुफा जस्तो बनाएपछि त्यसभित्र बसेर पूजा गरिन्छ । पूजा सकिएलगत्तै जलाइन्छ । समतलाई होलीका दहन भनेर अर्थ्याइए पनि खैरहनीका थारू अगुवा कारी महतोको यसमा फरक मत छ ।
‘समतलाई असत्य पराजित भएको दिनका रूपमा लिइन्छ । यो होलीका दहन हैन यसबारे थारू समुदायमा फरक कथा छ । थारूले मनाउने जितिया पर्वमा सुनिने जितबहानको कथामा यो प्रसंग आउँछ । चिल्हो नाम गरेकी दिदी र सियरो नाम गरेकी बहिनी खरजितिया व्रत बस्दा निष्ठा र विधि कस्ले पूरा गरेको थियो भन्ने कथामा यसको प्रसंग छ’ कारीले भने । अघिल्लो दिन जलाएको समतको भोलिपल्ट बिहानै खरानी उडाउँदै टीका लगाइन्छ ।
थारू समुदायले यसैलाई धुर्हेरी भन्छन् । ‘तर हामीलाई अहिले के अफ्ठ्यारो भएको छ भने चितवनलाई पहाडी जिल्ला अन्तर्गत कायम गरेर फागुमा पहाडमा मनाइने होलीका दिन बिदा दिइन्छ । त्यो दिन त हामी साँझपख समतको विधि पूरा गर्दछौं । दिनभर रमाइलो त भोलिपल्ट पो हुन्छ,’ थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले भने । धुर्हेरीका दिन बिदा दिन माग गर्दै सभाले विज्ञप्ति पनि निकालेको थियो ।
भरतपुर महानगरपालिका, माडी, खैरहनी र कालिका नगरपालिकाले धुर्हेरीका दिन स्थानीय बिदा पनि दिए । फागुको तेस्रो दिनलाई चैतवारी भनिन्छ । ‘पुरानो चलनमा फाउ पुर्णिमाको भाखा राखेर कारोबार गर्ने चलन थियो । जमिनदारको घरमा बस्नेहरूले पनि ठाउँ सर्ने भए फागु पुर्णिमापछि सर्ने गर्दथे । फागुको उमंगपछि नयाँ कारोबार र नयाँ दिन सुरु भयो भन्ने मान्यता बस्थ्यो,’ बछौलीका थारू अगुवा बासुदेव चौधरीले भने ।
२०७८ सालको जनगणनाअनुसार चितवनको कुल जनसंख्याको १० प्रतिशत थारूहरू रहेका छन् । पहाडी ब्राम्हण र क्षेत्रीपछि तेस्रो स्थानमा थारूहरू छन् । सात पालिका रहेको चितवनमा जनसंख्याका हिसाबले खैरहनी र माडी नगरपालिकामा पहिलो र रत्ननगर नगरपालिकामा दोस्रो स्थानमा थारूहरू रहेका छन् । थारूहरूले खास उल्लासका साथ मनाउने पर्वहरूमा फागु पनि पर्ने थारू कल्याणकारीणी सभा चितवनका अध्यक्ष ललित चौधरीले बताए ।
![Tharu community of Chitwan enjoying Dhurheri [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tharu-samudaya4-1432025124806-1000x0.jpg&w=1001&h=0)
![Tharu community of Chitwan enjoying Dhurheri [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tharu-samudaya11-1432025124958-1000x0.jpg&w=1001&h=0)
![Tharu community of Chitwan enjoying Dhurheri [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tharu-samudaya10-1432025124944-1000x0.jpg&w=1001&h=0)
![Tharu community of Chitwan enjoying Dhurheri [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tharu-samudaya9-1432025124928-1000x0.jpg&w=1001&h=0)
![Tharu community of Chitwan enjoying Dhurheri [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tharu-samudaya8-1432025124911-1000x0.jpg&w=1001&h=0)
![Tharu community of Chitwan enjoying Dhurheri [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tharu-samudaya7-1432025124856-1000x0.jpg&w=1001&h=0)
![Tharu community of Chitwan enjoying Dhurheri [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tharu-samudaya6-1432025124842-1000x0.jpg&w=1001&h=0)