काठमाडौँ — सामान्यत: होली भन्नेबित्तिकै रङ र अबिरको पर्व भन्ने बुझिन्छ । फागुन शुक्ल अष्टमी (गत शुक्रबार) को दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली भिन्न रूपमा मनाइन्छ ।
भक्तपुरको दत्तात्रय मन्दिरअगाडिको भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै मदनोत्सव (प्रेमको प्रतीक) का रूपमा भीमसेनलाई पुज्दै होली मनाइन्छ । मध्यकाल करिब हजार वर्ष पहिलेदेखि भीमसेन मन्दिरमा काठबाट बनेको भीमसेनको लिंग र द्रौपतीको योनिको प्रतीक रातो कपडालाई जुधाएर एक सातासम्म होली पर्व मनाइने परम्परा रहेको छ ।
भीमसेन गुठीका गायजूहरूले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘भीमसेन देया लज खङलो वानला ल्यासे, बिस्युवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिंगले मन लोभिएकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भएकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व मनाइने परम्परा छ । संगीतमा रमाउँदै प्रेमपर्व अर्थात् वसन्तको आगमनको सूचकका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म भीमसेनको लिंग र दौपतीको योनिलाई पूजा गरी होली पर्व मनाउने परम्परा रहेको छ ।
काठबाट निर्मित भीमसेनको लिंगलाई फागुन शुक्ल अष्टमीका दिन दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेंला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर परिसरमा पूजा गरी साँझ भीमसेन मन्दिरको पाटीमा झुन्डयाइन्छ । नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने गरिन्छ । चीर स्वायगू अर्थात लिंग घुमाएपछि फागु सुरु हुने परम्परा छ । घुमाएको लिंगलाई स्थानीयले पूजा गर्ने र दान दक्षिणा दिने परम्परा छ । भीमसेनको लिंग पूजा गरे सुख, शान्ति र समृद्धि बढ्ने जनविश्वास छ ।
नगर परिक्रमापश्चात भीमसेन मन्दिरमा ल्याएको लिंग र योनि आकारको रातो कपडासमेत मन्दिरमै झुन्डयाइन्छ । झुन्डयाएको लिंग हल्लाउँदा योनि आकारको कपडाको प्वालभित्र छिर्ने गर्छ । यसलाई विकृतिका रूपमा नलिई सांस्कृतिक पहिचानका रूपमा लिइँदै आइएको छ ।फाल्गुण शुक्ल अष्टमीदेखि पूर्णिमासम्म पूजा एवं दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्छ ।
![Different Holi of Bhaktapur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/holibhaktapur10-1332025112118-1000x0.jpg&w=1001&h=0)
![Different Holi of Bhaktapur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/holibhaktapur15-1332025112228-1000x0.jpg&w=1001&h=0)
![Different Holi of Bhaktapur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/holibhaktapur14-1332025112214-1000x0.jpg&w=1001&h=0)
![Different Holi of Bhaktapur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/holibhaktapur13-1332025112200-1000x0.jpg&w=1001&h=0)
![Different Holi of Bhaktapur [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/holibhaktapur12-1332025112146-1000x0.jpg&w=1001&h=0)