लुम्बिनी — चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक च्यान्टिङ (पाठ) लुम्बिनीमा सुरु भएको छ । लुम्बिनीको पवित्रता र आध्यात्मिकता उजागर गरी शान्ति र भातृत्वको सन्देश फैलाउन बुधबारबाट चार दिने पाठ सुरु भएको हो । त्रिपिटक च्यान्टिङको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दीप प्रज्ज्वलन गरेर उद्घाटन गरेका थिए ।
च्यान्टिङ सुरु हुनुअघि नेपाल थेरबाद विहारबाट बिहान शोभायात्रा निकालिएको थियो । बुद्ध प्रतिमा र त्रिपिटकलाई सजाएरसहित बाजा गाजाका साथ शान्ति दीप हुँदै शोभायात्रा मायादेवी पुगेको थियो । १२ मुलुकका एक सय बढी विदेशी भिक्षु र भिक्षुणी सहभागी छन् । त्यस्तै ४ सय बढी नेपाली भिक्षु, गुरुमा र अनागरिका सहभागी रहेको आयोजक समितिका सचिव भिक्षु निग्रोध महाअस्थवीरले बताए । उद्घाटन कार्यक्रममा थाइल्यान्डका राजदूत सुपापोङ श्रीरिसोर्न, म्यान्मारका राजदूत म्यो मिन्ट मुङ र श्रीलंकाकी कार्यवाहक राजदूत चमिरा रुवाङगीमुनासिघेले मन्तव्य दिएका थिए । लुम्बिनीस्थित पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउ दक्षिणतिर फागुन २१ देखि २४ गतेसम्म पाठ हुँदैछ । अखिल नेपाल भिक्षु महासंघद्वारा आयोजित त्रिपिटक च्यान्टिङमा पहिलो दिन सूत्रपिटक, दोस्रो दिन विनय पिटक र तेस्रो दिन अभिधर्म पिटक पाठ गरिनेछ । चौथो दिन समापन कार्यक्रम राखिएको छ । त्रिपिटक बिहान साढे ८ बजेदेखि साँझ ५ सम्म पाठ गरिनेछ ।
![Procession at Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tripitak-chantingmanoj-photo1-0532025120010-1000x0.jpg&w=1001&h=0)
![Procession at Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tripitak-chantingmanoj-photo18-0532025120109-1000x0.jpg&w=1001&h=0)