काठमाडौँ — काठमाडौं महानगरपालिकाले वडा नम्बर ३२ को कोटेश्वर महादेवस्थान मन्दिर पूर्वतर्फ फेला परेको ढुंगेधारा उत्खनन गरिरहेको छ । महानगरकी सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले ढुंगेधारा संरक्षण गर्न उत्खनन सुरु गरिएको जानकारी दिइन् ।
‘महादेवस्थान परिसरमा सामदुायिक भवन बनाउने क्रममा त्यहाँकै स्थानीयमार्फत ढुंगेधारा थियो भन्ने कुरा आइसकेपछि हामी हेर्न गयौं । अभिलेख हेर्दा ढुंगेधारा भएको पायौं,’ उनले भनिन्, ‘त्यो ढुंगेधारा उत्खनन गर्न पुरातत्व विभागसँग स्विकृतिका लागि पेस गरेका थियौं । विभागकै अनुमतिमा काम गरिरहेका छौं ।’ ‘ढुंगेधारा हिटी र पोखरी संरक्षण’ स्वर्णिम योजना र ‘सबैको चाहना ढुंगेधारा हिटी र पोखरीको पुनःस्थापना’ गौरवको योनजाअन्तर्गत महानगरले उक्त काम बढाइरहेको छ ।
महानगरले २०३६ सालमा तयार पारेको अभिलेखअनुसार यो ढुंगेधाराकाे निर्माण १८औं शताब्दीमा भएको हो । अभिलेख तयार पार्दा नै उक्त धारामा पानी आउन छाडेको थियो । सोही अभिलेखमा २०३६ सालमै उत्खनन गर्न भनेर उल्लेख गरिएको महानगरले जनाएको छ । ढुंगेधाराको लम्बाइ २२ फिट र चौडाइ २० फिटको छ । ढुंगेधारामा पानी नआएपछि त्यसलाई पुरेर ट्रस्ट संरचना बनाइएको थियो । ट्रस्ट हटाएर भवन बनाउने याेजना बन्न थालेपछि महानगरले उत्खनन प्रक्रिया अगाडि बढाएको हो ।
उत्खनन स्वीकृतिका लागि पुरातत्वविद्/विशेषज्ञ माग गर्दै महानगरले गत पुस १२ मा पुरातत्व विभागलाई पत्र पठाएको थियो । जवाफमा विभागले पुस २१ गतेदेखि उत्खनन्का लागि अनुमति दिएको थियो । उत्खननमा वरिष्ठ पुरातत्वविद्को नेतृत्वमा ४ सदस्यीय टोली सक्रिय छ । विभागले पठाएको टोलीको रोहबरमा महानगरले उत्खनन कार्य गरिरहेको हो ।
![Excavating an 18th-century Dhungedhara Metropolis [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhungedhara4-0232025024612-1000x0.gif&w=1001&h=0)
![Excavating an 18th-century Dhungedhara Metropolis [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/dhungedhara1-0232025024647-1000x0.gif&w=1001&h=0)
![Excavating an 18th-century Dhungedhara Metropolis [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhungedhara6-0232025025033-1000x0.gif&w=1001&h=0)
![Excavating an 18th-century Dhungedhara Metropolis [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dhungedhara5-0232025025018-1000x0.gif&w=1001&h=0)