काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम ८५ प्रतिशत पूरा भएको छ । कुनै समस्या आएन भने २०८२ असोजबाट पहिलो सुरुङमार्गबाट सवारीसाधन ओहोरदोहोर गर्ने छन् ।
अहिले बलम्बु क्षेत्रस्थित किसिपिडीमा फ्लाइओभर निर्माणको काम ९५ प्रतिशत सकिसकेको छ । सुरुङभित्र सवारीसाधन गुड्ने क्रंक्रिट ढलानको काम धमाधम भइरहेको छ । फायर फाइटिङ, लाइटिङ जडानको काम भइरहेको छ भने भेन्टिलेसन राख्ने काम जारी छ । पटक–पटक काम रोकिँदा तोकिएकै समयमा आयोजना सम्पन्न गर्न गाह्रो भएको सडक विभागको भनाइ छ । सुरु सम्झौताअनुसार आयोजनाको समयावधि २०८० वैशाखसम्म थियो । उक्त समयभित्र काम नसकिएपछि २०८१ वैशाख १३ सम्म म्याद थपियो, तर काम सकिएन । उक्त समयभित्र पनि काम नसकिँदा २०८२ असोजसम्म म्याद थपिएको छ ।
बलम्बुको किसिपिडीमादेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म सडकको दूरी २.३०७ किमि छ । दुई लेनमा सडक कालोपत्रको काम सकिने चरणमा छ । अहिले तेस्रो तहको कालोपत्र गरिंदै छ । ०८० साउन २२ मा आपतकालीन सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । यसको दूरी २ दशमलव ५५ किलोमिटर छ ।
मुख्य सुरुङको दूरी २ दशमलव ६८ किलोमिटर छ भने यसको ‘ब्रेक थ्रु’ २०८१ वैशाख ३ मा भएको हो । आयोजना सुरु भएयता तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल निर्माण भएका छन् । अहिले धादिङतर्फ सुरुङको मुखअगाडि रहेको अप्ठ्यारो पहाड सुधारको काम पनि भइरहेको छ । त्यस्तै यो खण्डमा सुरुङअगाडि सडक सुधारको काम पनि भइरहेको छ ।
![This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nagdhungasisnekholasurungmarga13-1312025014713-1000x0.jpg&w=1001&h=0)
![This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nagdhungasisnekholasurungmarga14-1312025014726-1000x0.jpg&w=1001&h=0)
![This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nagdhungasisnekholasurungmarga10-1312025014634-1000x0.jpg&w=1001&h=0)
![This is what the Nagadhunga-Sisnekhola tunnel looks like with 85% completion [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/nagdhungasisnekholasurungmarga16-1312025014752-1000x0.jpg&w=1001&h=0)