गोरखा — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको लाप्राकका भूकम्पपीडितका लागि निर्माण गरिदिएको एकीकृत नमुना बस्ती अझै खाली छ । घर र परिवारको संख्यामा तालमेल नमिल्दा निर्माण भएदेखि नै बस्तीमा नागरिक बस्न नपाएका हुन् ।
२०७२ वैशाख १२ गते अपराह्न छिमेकी गाउॅ बारपाक केन्द्रविन्दू बनाएर आएको विनाशकारी भूकम्पले धार्चे गाउँपालिका–४ लाप्राकको ऐतिहासिक गुरुङबस्ती ध्वस्त बनायो । रमणीय बस्ती ध्वस्तमात्रै गरेन बस्ती मास्तिरको जमिन झनै भास्सिएपछि लाप्राकवासीलाई त्रासमा पार्यो । यसै पनि लाप्राक बस्ती मास्तिर ३ दशकअघिको पहिरोले थिलोथिलो बनाएको छ ।
लाप्राकवस्ती मास्तिर गुप्सीपाखामा निर्माण गरिएको एकीकृत बस्तीमा भूकम्प प्रभावित लाप्राकीलाई राख्न ५ सय ७३ वटा एकै खालका घर निर्माण गरिएका छन् । गुप्सी २७ सय मिटर उचाइमा पर्छ । हिउँदमा अन्यत्र वर्षा हुँदा यहाँ भने हिमपात हुन्छ ।गणेश हिमालको सामुन्ने रहेकोले एकपटक बाक्लो हिउँ परेपछि पग्लिन करिब महिना दिन लाग्ने गरेको स्थानीय बताउँछन् । नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा निर्माण गरिएको छ । सबै घरमा २ तले ४ कोठे छन् । दुई कोठे घर र शौचालयहरू पनि निर्माण भइनसक्दा परिवारको बसोबास गर्ने तौरतरिका र मौलिकताको तालमेल नमिल्दा लाप्राकी गुप्सीमा बसोबास नगरेको गाउॅपालिका अध्यक्ष लक्ष्मण गुरुङले बताए । गुप्सीपाखा पर्यटकीय केन्द्रका रूपमा परिचित हुन थालेको छ । यहाँ विदेशी तथा स्वदेशी पर्यटकलाई लक्षित गरेर होमस्टे र स–साना होटल खुल्दै बन्द हुँदै गर्ने गरेका छन् ।
![Laprak Model Settlement [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/laprak-namuna-bastiphoto-storyharihar-singh-rathour-4-0512025030006-1000x0.jpg&w=1001&h=0)
![Laprak Model Settlement [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/laprak-namuna-bastiphoto-storyharihar-singh-rathour-1-0512025030125-1000x0.jpg&w=1001&h=0)
![Laprak Model Settlement [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/laprak-namuna-bastiphoto-storyharihar-singh-rathour-6-0512025025904-1000x0.jpg&w=1001&h=0)