शोकमा रावत गाउँ

कार्तिक १९, २०८०

अंगद ढकाल

जाजरकोट — जाजरकोटको भेरी नगरपालिका–१ रावतगाउँकी उर्मिला रावत र चन्द्रकला रावतको आँखामा बलिन्द्र आँशु झरिरहेका छन् । कसैलाई केही भन्न सक्ने अवस्थामा छैनन् उनीहरू । रावत दिदीबहिनी शुक्रबार मध्यरातदेखि कहिले होसमा छन्, कहिले बेहोस । कारण हो - शुक्रबार मध्यरातमा जाजरकोटमा गएको भूकम्प । सुतिरहेको बेला ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी उनीहरूले काखैमा छोरा र छोरी गुमाए, अनि पाहुना आएका आफन्ती पनि ।

दिदी उर्मिलाको २ छोराको ज्यान गयो । बहिनी चन्द्रकलाको १ छोरा र १ छोरी बिते । उनीहरू शुक्रबार रातिदेखि न सुतेका छन् न खान सकेका छन् । शुक्रबार राति ११ : ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रावतगाउँका एकै घरका ६ जनाले ज्यान गुमाएका छन् । अधिकांश स्थानीयको घर भत्किएर ध्वस्त बनेको छ । रावत गाउँमा मृत्यु भएकाको परिवार भने गहिरो शोकमा डुबेका छन् ।

भेरी नगरपालिका १ मा मात्रै भूकम्पमा परी ३१ जनाले ज्यान गुमाएका छन् ।

जाजरकोट भुकम्प

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully