काठमाडौँ — ललितपुर महानगरपालिका–१२, वल्खु चिबहाका ८२ वर्षीय बाबुकाजी महर्जन दूधका खाली प्लास्टिकबाट विभिन्न सामग्री बनाएर बिक्री गरिरहेका छन् । उनी दूधका खाली प्लास्टिक जथाभावी नफाल्न र पुनःप्रयोगका निम्ति आग्रह गर्दै हिँडिरहेका पनि भेटिन्छन् ।
दूध खाएर प्रयोगविहीन ठानिएका त्यस्ता प्लास्टिक प्रयोग गरेर उनले विभिन्न सामग्री बनाइरहेका हुन् । त्यस्तो प्लास्टिकबाट उनी झोला, आस्कोट, जुत्ताजस्ता ३० भन्दा बढी दैनिक प्रयोगमा आउने सामग्री बनाइरहेका छन् । उनले आफूले मात्रै यो काम गरिरहेका छैनन्, आफ्नो समुदायका अन्य व्यक्तिलाई पनि यस्तो काम गर्न प्रेरित गरिरहेका छन् ।
थापाथलीस्थित प्रसूति गृहमा ४० वर्ष काम गरेर ६० वर्षको उमेरमा अवकाश पाएका उनले त्यसपछिको केही समय खेती किसानीमा बिताए । अवकाशपछिको एक दिन घर फर्किंदा जावलाखेलमा एक बालिकाले फालिएका दूधका खाली प्लास्टिकबाट धागो बनाइरहेको देखे । ‘त्यसपछि मलाई पनि प्रयोगमा नआएका प्लास्टिकबाट विभिन्न सामग्री बनाएर बेच्न सकिन्छ भन्ने लाग्यो,’ बाबुकाजीले भने, ‘अहिले म जे गरिरहेको छु, तिनै बालिकाको प्रेरणाका कारण हो ।’
उनका ग्राहक प्रायः विदेशी छन् । व्यक्तिगत सम्पर्क र सम्बन्धका आधारमा घरबाटै त्यस्ता सामग्री बिक्री गरिरहेका छन् । आफूले बनाएका सामग्री बाबुकाजी आफैंले लगाएर पनि त्यसको प्रचार गरिरहेको भेटिन्छन् । ‘सामग्री हेरेर २ सय रूपैयाँदेखि १७ हजार रूपैयाँसम्ममा बेच्छु,’ उनले भने । प्रयोग गरेर फालिएका प्लास्टिकको पुनःप्रयोगका निम्ति उनको प्रयास सराहनीय त छ नै, वातावरण जोगाउन पनि उनको योगदान उल्लेख्य रहेको वातावरणविद्हरु बताउँछन् ।



