सल्यान — सल्यान जिल्लाको २ सय १ मतदान केन्द्रको मतदान प्रभावित भएको छ । हुरी र वर्षाका कारण मतदान दिउँसो ३ बजेदेखि प्रभावित भएको हो ।
हुरीबतास तथा अचानक परेको वर्षाले गर्दा केही बेर मतदाताले ओत लाग्न भागाभाग नै गरेका थिए । जिल्लाका अधिकांश मतदान केन्द्र अहिले खाली भएका छन् । वर्षा र हुरीबाट बच्न मतदान गर्न गएका मतदाता तथा निर्वाचनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी काम रोकेर अहिले सुरक्षित स्थानमा बस्न बाध्य भएका छन् ।
वर्षाकै कारण मतदानका सामग्रीहरू भिज्ने र मतपेटीमा खसालेका मतपत्र खराब हुने भएपछि अहिले उक्त सामग्री सुरक्षित ठाँउमा राखिएको छ । त्यहाँ रहेका केही सामग्री हुरिबतासले उडाएको छ भने केही भिजेर काम नलाग्ने भएका छन् ।
झन्डै ५५ प्रतिशत मतदान सम्पन्न भैसकेकोमा वर्षा रोकिएपछि पुन: मतदान सुरु हुने मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बताए । वर्षा र हुरीले मतदान प्रभावित भएपनि मतदान सामग्रीहरुमा भने खासै असर नपुर्याएको उनले जानकारी गराए ।
‘अधिकांश मतदान केन्द्र विद्यालयमा रहेकाले मतपेटिकालाई कोठा नजिकै राखेका छौं । अधिकांश मतदान केन्द्रमा त्रिपाल पनि लगाइएको छ । त्यसले गर्दा पानीले क्षति पुर्याउन पाएन,’ उनले भने ‘प्राकृतिक विपत्तीले अलिअलि क्षति हुनु सामान्य कुरा हो ।’
मतदान सम्पन्न हुनका लागि लागि डेढ घन्टा मात्र बाँकी रहेको र धेरैजसोले मतदान गरिसकेका हुँदा अब छिट्पुट मात्र बाँकी रहेको उनले जानकारी गराए । ५ बजेसम्म मतदान केन्द्रमा पुगिसकेकाले राति अबेरसम्म पनि मतदान गर्न पाउने उनको भनाइ छ । जिल्लामा अहिले शान्त वातावरणमा मतदान भइरहेको र यसपटकको स्थानीय निर्वाचनमा जिल्लाका २ सय १ मतदान केन्द्रमा ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको उनको भनाइ छ । जिल्लाका १० स्थानीय तहमा कुल मतदाता १ लाख ५७ हजार हजार ७ सय १५ रहेका छन् ।
अपांग वृद्धा आमालाई मतदान गराएर बोकेर घर ल्याउँदै शारदा नगरपालिका-२ का वीरेन्द्र राई । तस्बिरः विप्लव महर्जन/कान्तिपुर
प्रकाशित : वैशाख ३०, २०७९ १६:२६