कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुपन्देहीमा मतदानमा उत्साहपूर्ण सहभागिता 

दीपेन्द्र बडुवाल

बुटवल — रुपन्देहीका १६ वटै स्थानीय तहमा शुक्रबार मध्यान्हसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । स्थानीय तह निर्वाचन अन्तर्गत पालिकामा रहेका मतदानस्थलमा उत्साहपूर्ण सहभागिता रहेको छ ।

बिहानैदेखि मतदान गर्न लाइनमा बसेका सर्वसाधारणको भीड मध्यान्हसम्म घटेको छैन । विभिन्न माध्यमबाट मतदानस्थल सम्म आउने क्रम जारी छ । मतदाता परिचय पत्र र नागरिकता बोकेर भोट हाल्न आइरहेका छन् । 

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत धनसिंह महराले शुक्रबार मध्यान्हसम्म जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान चलिरहेको जानकारी दिए । मतदानमा कुनै अवरोध नरहेको र सर्वसाधरणको सहभागिता उत्साहजनक रहेको बताए । बिहान बुटवल, भैरहवा र तिलोत्तमामा वर्षा भएको थियो । अहिले घाम लागेको छ । सर्वसाधारण घाम छेल्ने विभिन्न ओत बोकेर मतदान स्थल पुगिरहेका छन् । मतदाताका लागि सुविधा पुर्‍याउन स्वयंसेवक खटिएका छन् । 

मुख्य निर्वाचन कार्यालयका अनुसार रुपन्देहीका १६ पालिकामा २ सय ८ मतदान स्थल रहेका छन् । ती मतदानस्थल स्थलमा ७ सय मतदान केन्द्र रहेका छन् । रुपन्देहीका ६२ मतदानस्थल अति संवेदनशील, ६८ संवेदनशील र ७८ वटा सामान्य सूचीमा रहेका छन् । जिल्लाभर ६ लाख ३२ हजार ३ सय ७० मतदाता रहेका छन् । 


प्रकाशित : वैशाख ३०, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्