कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मेरो महिनावारीको कर नउठाऊ’

रीना मोक्तान, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — माइतीघर मण्डल, बिहीबार दिउँसो ४ बजे २०–२५ जनाको समूहबीच दुई युवती लम्पसार छन् । उनीहरूका पाइन्ट रगतले लत्पतिएझैं देखिन्छ । हल न चल अवस्थामा उनीहरू करिब ४५ मिनेटसम्म यसरी नै चुपचाप लडिरहे ।

उनीहरूलाई घेरेर बसेकाहरूले भने थरीथरीका पम्प्लेट बोकेका छन्– ‘रातो कर खारेज गर,’ ‘सेनिटरी प्याड विलासिता होइन आवश्यकता हो,’ ‘सरकार महिनावारीमा कर कहिलेसम्म ?,’ ‘तोहर स्त्री दबनुवा कानुन हम ना मानबौ’ (स्त्री दबाउने तिम्रो कानुन हामी मान्दैनौं) इत्यादि । भुइँमा बिछ्याइएको सेतो कपडामा भने रातै मसीले ‘रातो कर माफ गर’ लेखिएको छ ।

सरकारले सेनिटरी प्याडमा लगाउँदै आएको भ्याट र कर खारेजीको माग गर्दै युथ कांग्रेस नेपालले बुधबार आयोजना गरेको विरोधको दृश्य हो यो । सरकारले कर लगाएसँगै केही दिनयता प्याडको मूल्यमा वृद्धि भएको छ । आफूहरूको अत्यावश्यक सामानमा मूल्य बढाइएको भन्दै महिला तथा युवतीले आवाज उठाएपछि सांकेतिक विरोध गरिएको युथ कांग्रेस नेपालका केन्द्रीय सदस्य मनोज पुरीले बताए । ‘महिनावारीको सामग्रीमा कर लगाउनु हुँदैन भनेर एक महिनाअगाडि नै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौं । तर सरकारले बेवास्ता गर्‍यो,’ उनले भने, ‘त्यसपछि हामी सडकमा उत्रिन बाध्य भयौं ।’ महिनावारी हुँदा बग्ने रगतलाई पनि सांकेतिक रूपमा प्रस्तुत गरिएको उनले बताए ।

दुई जना युवती सडकमा सुतेपछि माथिबाट कम्मरमुनि पर्ने गरी रातो रङ छ्यापिएको थियो । रक्ताम्मे बनेका दुई युवती थिए, अस्मिता शाह र रोशनी पोखरेल । सेतो रङको पाइन्टमा रहेकी अम्रिता शाह युथ कांग्रेस नेपालकी केन्द्रीय सदस्य हुन् भने गुलाबी पाइन्ट लगाएकी रोशनी पोख्रेल भने वाग्मती प्रदेशकी सदस्य ।

आफूहरूले ‘प्याड टु गो नेपाल’ को ट्यागलाइन समातेर विरोधमा उत्रिएको पुरीको भनाइ छ । ‘नेपालमा मूल्य वृद्धि कर ऐन २०५२ को अनुसूची १ मा पर्ने सामग्रीको कर लाग्दैन । हामीले सरकारसँग सेनिटरी प्याड पनि त्यही अनुसूचीमा राख्नुपर्छ भन्ने माग राखेका थियौं,’ पुरीले भने, ‘सरकारले देशैभरका विद्यालयमा निःशुल्क प्याड बाँड्ने भनेको छ । सकेसम्म प्याड निःशुल्क बनाउनुपर्छ भन्ने माग हो ।’

एक वर्षअगाडि पनि महिला समूहरूले प्याडमा लगाइएको कर हटाउनुपर्छ भनेर विरोध गरेका थिए । ‘प्याड टु गो नेपाल’ ले हस्ताक्षर अभियान नै चलाएको थियो । त्यही ट्यागलाइन प्रयोग गरेर अहिले सांकेतिक विरोध गरिएको पुरीले प्रस्ट्याए ।

प्रकाशित : आश्विन ८, २०७८ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्