कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी गए ओली बालुवाटारबाट बालकोट [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास छाडेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि एमाले अध्यक्षसमेत रहेका ओलीले बालुवाटार छाडेका हुन् ।

बुधबार दिउँसो उनी एमालेका नेता–कार्यकर्ताको लावालश्करसहित बालुवाटारबाट बालकोट गएका हुन् । सोमबार सर्वोच्च अदालतले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । निवर्तमान प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बिदाई सम्बोधन गरेका थिए ।


प्रकाशित : असार ३०, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्

मलेसियामा उपचाररत नेपालीले भने–‘कसैगरी घर जान पाऊँ’

होम कार्की

काठमाडौँ — मलेसियामा बिरामीले थलिएका दाङका ४३ वर्षीय मेघराज कालाथोकीको स्वास्थ्यस्थिति अत्यन्त नाजुक हुँदै गएपछि मात्रै सरकारी अस्पतालमा भर्ना हुन पाए । मिर्गौला र कलेजो बिग्रेर उनी हेपाटाइटिसबाट ग्रसित छन् । 

मलेसियाको एक सरकारी अस्पतालमा उपचाररत दाङका मेघराज कालाथोकी । तस्बिर : तिरनासा गार्डफोर्स

क्वालालम्पुरस्थित नेपाली दूतावासले उनी कार्यरत कम्पनीमाथि हस्तक्षेप गरेपछि मात्रै कालाथोकीले अस्पतालमा उपचार पाए । तीन महिना अगाडि नै कम्पनीसँग गरिएको करार अवधि समाप्त भएको, भिसा र बिमाको समय पनि नाघिसकेको हुँदा कम्पनीले उपचारका लागि अस्पताल लगेको थिएन । सामान्य क्लिनिकमा उनको स्वास्थ्य परीक्षण गराई क्याम्पमै राखिएको थियो ।

कालाथोकी ३ वर्षअघि मलेसियाको तिरनासा गार्डफोर्समा सुरक्षा गार्डको काम गर्न गएका थिए । त्यसअघि उनले कतार र साउदी अरबमा काम गरेका थिए । ‘म नेपालमा मर्न चाहन्छु । मलाई जतिसक्दो छिटो नेपाल पठाइदिने व्यवस्था गरियोस्,’ कालाथोकीले भने ।

सरकारी अस्पतालका अनुसार उनी ‘ट्राभल टु फिट’ भइसकेका छैनन् । ‘जतिखेर उनी यात्रा गर्न सक्ने अवस्थामा थिए, त्यतिखेर मलेसिया र नेपालको हवाई उडान बन्द थियो । अहिले विमान सेवा खुलिसकेको छ । तर मलेसियाको अध्यागमनबाट चेकआउट मेमो निस्किएको छैन,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘दूतावासले यथाशीघ्र चेकआउट मेमो निकाल्न प्रयास भइरहेको छ ।’ दूतावासका अनुसार कालाथोकीले पछिल्लो समय भने आवश्यक उपचार भइरहेको छ ।

चार दिनअघि मलेसियाको मिरनतिजिया सडकमा पाँचथरका भीमबहादुर सुहाङलाई सुतिरहेको अवस्थामा भेटिए । ‘बाटोमा सुतिरहेको अवस्था देखेपछि केही नेपालीले त्यत्तिकै छाडेर जान सकेनन् । आफ्नो कोठामा लिएर गए । दुई दिन त जुस खाए । त्यसपछि कराउन थालेपछि उनीहरू आत्तिए,’ त्रिलोचन गौतमले भने, ‘अनेक पहल भएपछि बल्लतल्ल बिरामी लिन एम्बुलेन्स आयो ।’ उनी गैरकानुनी रूपमा मलेसियामा कार्यरत थिए । स्वदेश नफिरेको १५ वर्ष पुग्यो । ‘उपचार नपाएपछि जसले दूतावासमा सम्पर्क गर्न सके, उनीहरूले मात्रै अस्पताल जान पाउने अवस्था देखा परेको छ । नत्र सामान्य क्लिनिकबाटै फिर्ता हुनुपर्ने अवस्था छ,’ गौतमले भने ।

नेपाल र मलेसियाबीच श्रम सम्झौताले मलेसियामा कार्यरत नेपाली कामदार बिरामी भएको अवस्थामा रोजगारदाताबाट उपचारको जिम्मेवारी हुने व्यवस्था छ । ‘साधारणतया कानुनी हैसियतमा रहेका कामदारलाई उपचारका लागि खासै समस्या छैन । गैरकानुनी रूपमा रहेकासँग प्रमाणित कार्ड नहुने भएकाले उपचार सम्भव हुँदैन,’ राजदूत पाण्डेले भने, ‘त्यस्ता कामदार दूतावासको सम्पर्कमा आए भने मात्रै उपचारको बन्दोबस्त हुन्छ ।’

मलेसियामा कार्यरत कामदारहरूका अनुसार कतिपयले आफैं पनि स्वास्थ्यप्रति सजगता राख्दैनन् । ‘रोगले नच्यापेसम्म साधारण क्लिनिकमा जाने गर्छन् । सामान्य खालका औषधि खाएर बस्छन् । तर जब स्वास्थ्य अवस्था गम्भीर भइसक्छ त्यतिखेर ढिलो भइसकेको हुन्छ,’ गौतमले भने, ‘यहाँको वातावरण खुला छ । गुणस्तरहीन मादक पदार्थ जतासुकै पाइन्छ । धेरै साथीहरू यसको लतमा फसेका छन् ।’

भाषागत समस्याले पनि कामदारहरू उचित स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको छ । ‘भाषाको समस्या छ । अस्पतालमा बिरामीसँगै साथीहरू भित्र जान पाउँदैन । उसले जति बताउन सक्छ । त्यति नै उपचार हुने हो,’ उनले भने, ‘त कतिपय रोजगारदाताले भने कामदारको व्यवहार हेरेर उपचार गर्छ ।’

श्रम काउन्सिलर दीपक ढकालले रोग लुकाउने प्रवृत्ति नै डरलाग्दो भएको बताए । ‘सकेसम्म रोग लुकाउने गरेको देख्छु । गम्भीर प्रकृति भएपछि मात्रै हारगुहार गर्ने अवस्था छ । केही उपाय नभएपछि दूतावासको गेट अगाडि ल्याएर बिरामी फालिदिने गरेको पनि छ,’ उनले भने, ‘त्यसले गर्दा ज्यानै जाने खतरा छ ।’

प्रमुख गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपाली कामदारको मृत्यु मलेसियामा हुने गरेको छ । पछिल्लो एक दशकमा मात्रै १ हजार ९ सय जनाको मृत्यु भइसकेको छ । तीमध्ये मिर्गौला तथा कलेजोसम्बन्धी रोगका कारण ज्यान गुमाउनेको संख्या बढी छ । कार्यस्थल र सडकको कारण कामदारको मृत्यु भएको भेटिन्छ । कार्यस्थल र सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने कम छ ।

प्रकाशित : असार ३०, २०७८ १२:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×