कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेको केन्द्रीय कार्यालय अब थापाथलीमा, ओलीले गरे भवन निरीक्षण [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालय राख्ने भवनको निरीक्षण गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीस्थित एक व्यापारीको घरमा सर्ने भएको हो ।

उपमहासचिव विष्णु पौडेलले धुम्बाराहीबाट पार्टी कार्यालय थापाथली सर्न लागेको जानकारी दिए । ‘पार्टी कार्यालय सर्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्षले नयाँ भवनको निरीक्षण पनि गरिसक्नुभयो,’ पौडेलले भने । त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले निकट भविष्यमै नेकपा एमालेको पार्टी कार्यालय थापाथली सर्ने बताइन् । एमालेको पार्टी कार्यालय रहने भवनमा यसअघि यूएन वुमेनको नेपाल कार्यालय रहेको थियो ।

त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले वैशाख १ गते वा त्यसअगावै नै पार्टी कार्यालय थापाथली सर्ने बताए । उनले अहिले पार्टी कार्यालयको इन्टेरियर डिजाइनिङको काम भइरहेको जानकारी दिए । धुम्बाराहीस्थित भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठानलाई नै चाहिने भनेकाले आफूहरुले कार्यालय सार्नुपरेको थापाले बताए ।

पार्टी कार्यालय रहने भवन निरीक्षणका लागि अध्यक्ष ओलीसहित अन्य शीर्ष नेताहरु पनि पुगेका थिए । ०७२ सालमा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएको थियो ।

गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन अर्थात आगामी वैशाख ९ गते बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय गरेको छ । बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ । त्यही ठाउँमा एमालेले अत्याधुनिक भवन बनाउन लागेको हो ।


प्रकाशित : चैत्र ११, २०७७ १३:११
प्रतिक्रिया
पठाउनुहोस्

अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री राईको निर्देशन

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन एमालेका प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री राईको अध्यक्षतामा बुधबार बसेको एमाले संसदीय दलको बैठकले सदस्यहरूले सात दिनभित्र अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने निर्णय गरेको हो ।

फाइल तस्बिर।

प्रदेशसभा सदस्यहरूले प्रस्ताव फिर्ता लिन सहमति जनाइसकेको र उनीहरूलाई सात दिनभित्र लिखित रूपमा हस्ताक्षर फिर्ता लिई दललाई जानकारी गराउन निर्देशन दिइएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । उनले बैठकमा एमाले संसदीय दलको विधान प्रस्तुत गरेर सर्वसम्मत रूपमा पारित गरिएको बताए । बैठकले संसदीय दलको १५ सदस्यीय बोर्डसमेत गठन गरेको उनले सुनाए ।

बोर्डमा दलका नेता तथा मुख्यमन्त्री राई, दलको उपनेता, प्रमुख सचेतक र सचेतक पदेन सदस्य रहनेछन् । जसमाया गजमेर, आशारत्न जबेगु, यशोधा अधिकारी, विमल कार्की, काजीमान कागते, बिर्खबहादुर प्रधान, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, अम्बिका थापा, लीलावल्लभ अधिकारी र नीलम बस्नेतलाई बोर्डको सदस्यमा चयन गरिएको राजभण्डारीले बताए । दलको अर्को बैठकले उपनेता र सचेतक चयन गर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री राईविरुद्ध तत्कालीन नेकपाका दाहाल–नेपाल पक्षका ३७ जना प्रदेशसभा सदस्यले दर्ता गरेको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा टेबल भइसकेको छ । सर्वोच्चको फैसलाले नेकपा पुरानै एमाले र माओवादी केन्द्रको हैसियतमा पुगेपछि नेपाल समूहका ५ जना प्रदेशसभा सदस्यले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूले हस्ताक्षर फिर्ता लिइसकेपछि प्रदेशसभा बैठक बस्ने र सरकारले बिजनेससमेत दिने राजभण्डारीले बताए ।

प्रकाशित : चैत्र ११, २०७७ १३:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×