कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रानीपोखरी बालगोपालेश्वरमा भाइटीका [तस्बिरहरू]

तस्बिर : दीपक केसी, तस्बिर : इलिट जोशी

काठमाडौँ — यसै वर्ष पुनर्निर्माण सकिएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाइएको छ । कोरोना महामारीको त्रासका बीच खुलेको मन्दिरमा टिका लगाउन जाने दाजुभाइ तथा दिदीबिहनीहरुले सुरक्षा मापदण्ड भने अपनाएका थिए ।

टिका लगाउनेले मास्क तथा लगाइदिनेले फेससिल्डसमेत लगाएको देखिन्थ्यो । २०७२ सालको भूकम्पले मन्दिर भत्काएपछि केही वर्ष यहाँ टिका लगाउन रोकिएको थियो । तिहारको भाइटिकामा मात्रै खुल्ने यो मन्दिरमा आफ्ना दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले टिका लगाउने गर्छन् । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले भोलि २ गते पनि मन्दिर खुला हुनेछ ।


प्रकाशित : मंसिर १, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्

निमोनिया भ्याक्सिन : कोभिड–१९ महामारीमा ‘गेम चेन्जर’ हुन सक्ला ?

न्युमोकोकल निमोनियाविरुद्धको खोप नेपालमा सहजै उपलब्ध भएकाले जोखिम समूहमा पर्ने ज्येष्ठ नागरिक तथा दीर्घरोग भएकाहरूलाई दिन सके निमोनियाबाट हुने जटिलता र मानवीय क्षति धेरै हदसम्म कम गर्न सकिनेछ ।
डा. शेरबहादुर पुन

‘आज कोभिड–१९ बाट यति संख्यामा बिरामीको मृत्यु भयो ।’ अचेल यस्तै समाचारले मानिसको ध्यान तानिरहेका छन् । मृतकको संख्या घटबढ हुनुसँग मानिसहरूको त्राससँगै अब के होला भन्ने जिज्ञासा पनि जोडिएको पाइन्छ । यो लेखकको ध्यान भने यस्ता मृत्युको शृंखलालाई ‘ब्रेक’ लगाउन के गर्न सकिएला भन्नेमा छ ।

यस्तै कुरा मनमा खेलाउँदै कोभिड–१९ मा मृत्युको कारण खोज्दै जाँदा अधिकांशमा निमोनिया भएको तथ्यांक देखियो । निमोनियाविरुद्धको भ्याक्सिन त सर्वसुलभ नै छ । यस तथ्यले मेरो जिज्ञासा निमोनिया भ्याक्सिनतिर मोडिदियो । त्यसो भए के कोभिड–१९ ले हुने मृत्युको शृंखलालाई मत्थर गर्न निमोनिया भ्याक्सिन गेम चेन्जर हुन सक्ला ?

निमोनिया हुनुका कारणमा भाइरस, ढुसी (फनगाई), ब्याक्टेरियाजस्ता संक्रमण मुख्य मानिन्छ । खोकी लाग्नु, काम ज्वरो (उच्च) आउनु, पसिना आउनु, श्वासप्रश्वास छिटोछिटो हुनु र अवरोध देखिनु, मुटुको धड्कन तीव्र हुनु, सास तान्दा छाती दुख्नु, खान मन नहुनु, थकान महसुस हुनु निमोनियाका संकेत हुन् ।

भाइरल इन्फेक्सन हुँदा ‘सेकन्डरी ब्याक्टेरियल इन्फेक्सन’ हुने सम्भावना बढेर जान्छ । वास्तवमा, अनुसन्धानहरूले भाइरल इन्फेक्सनमा ‘सेकन्डरी ब्याक्टेरियल’ कारण अत्यधिक बिरामीको मृत्यु गरेको देखाएका छन् । यस्तो अवस्था आउला भनेर चिकित्सक बढी सतर्क हुने गर्छन् । यसको मुख्य कारण भनेको भाइरल इन्फेक्सनमा ‘एन्टिबायोटिक’ भूमिका नहुने र सेकन्डरी ब्याक्टेरियल इन्फेक्सन भइसकेको अनुमान गर्न ‘क्लिनिकल्ली’ गाह्रो हुनु हो । सामान्यतया ब्याक्टेरियल इन्फेक्सन हुँदा ज्वरो भाइरलमा भन्दा निरन्तर बढ्दै र लम्बिँदै जाने गर्छ ।

बिरामीको अस्पताल बसाइ वा लक्षण जति–जति लम्बिन्छ, त्यति नै सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सनको जोखिम बढ्दै जान्छ । श्वासप्रश्वाससम्बन्धी भाइरस फ्लुमा अधिकांशको मृत्यु पनि सेकन्डरी ब्याक्टेरियल इन्फेक्सनको कारणले हुने गरेको अनुसन्धानले देखाउँछ । त्यस्तै फ्लु लागेका झन्डै ७५ प्रतिशतसम्म बिरामीमा निमोनिया हुनुको प्रमुख कारण सेकन्डरी ब्याकटेरियल इन्फेक्सन पाइएको छ । यसमा विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र वृद्ध समूह पर्छन् ।

सन् २००९ मा देखिएको स्वाइन फ्लुको महामारीमा पनि सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सनका कारण ५५ प्रतिशतसम्म संक्रमितको मृत्यु भएको अनुसन्धानले देखाएका छन् । सन् १९१८ को स्पेनिस फ्लुमा ९० प्रतिशत संक्रमितको मृत्यु पनि यसै इन्फेक्सनका कारणले भएको अनुसन्धाताको भनाइ छ । निमोनिया संक्रमण समुदाय, अस्पताल र त्यस्तै भेन्टिलेटरमा उपचाररत हुँदा पनि हुन सक्छ । फ्लु भाइरस र कोरोना भाइरस दुवै श्वासप्रश्वाससम्बन्धी रोग रहेका र फ्लुसम्बन्धी प्रशस्त अनुसन्धानहरू भइसकेकाले यहाँ उदाहरणका रूपमा चर्चा गरिएको हो । फ्लु भाइरसको महामारीमा सेकन्डरी ब्याक्टेरियल इन्फेक्सन गराउनुमा मुख्यतया न्युमोकोकल निमोनिया, एच इन्फ्लुएन्जा र एस औरियास ब्याक्टेरियाहरू मुख्य पाइएका छन् ।

कोरोना भाइरसमा अधिकांशको मृत्यु निमोनियाले भइरहे पनि कुन ब्याक्टेरिया बढी जिम्मेवार छ भन्नेमा प्रशस्त अध्ययनहरू भएको पाइँदैन । यसको सिधा सम्बन्ध औषधि र उपलब्ध खोपसँग हुन आउँछ । अधिकांश कोरोना संक्रमितमा ब्याक्टेरियाको पहिचान गर्न सके उपयुक्त एन्टिबायोटिक र उपलब्ध खोपको प्रभावकारिता अनुमान गर्न सकिन्छ । यसको जानकारी सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सनबाट हुन सक्ने मृत्युदर रोक्न र मत्थर गर्न महत्त्वपूर्ण हुने थियो । हालै ‘भाइरस रिसर्च’ जर्नलमा कोभिड–१९ संक्रमितमा देखिएको को–इन्फेक्सनबारे अनुसन्धान लेख प्रकाशित भएको छ । चीनमा गरिएको उक्त अनुसन्धानमा कोरोना पुष्टि भएकाहरूमा झन्डै ३९ संक्रमणहरूको खोजी गरिएको थियो जसमा चौबिस प्रकारका संक्रमण कोभिड–१९ का बिरामीमा देखिएको थियो । कोभिड–१९ का बिरामीमा सबैभन्दा बढी ‘न्युमोकोकल निमोनिया’ ब्याक्टेरियाको–इन्फेक्सन पाइएको थियो ।

‘न्युमोकोकल निमोनिया’ विरुद्धको खोप बजारमा सर्वसुलभ छ । झन्डै ९० प्रजातिको न्युमोकोकल संक्रमण पत्ता लागेकामा हाल यसका सबैभन्दा कडा मानिने १३ तथा २३ प्रजातिका निमोनियाविरुद्धका खोप उपलब्ध छन् । यसलाई पीसीभी–१३ र पीपीएसभी–२३ भनिन्छ । यी खोप न्युमोकोकल निमोनियाविरुद्ध प्रभावकारी मानिँदै आएका छन् ।

नेपालमा न्युमोकोकल निमोनियाविरुद्धको खोप सन् २०१५ देखि बालबालिकाहरूलाई (राष्ट्रिय बालखोप कार्यक्रमअन्तर्गत) दिन सुरु गरिएको छ । अर्थात् ५ वर्ष माथिकाहरूले यो खोप लिएका छैनन् भनेर बुझ्न सकिन्छ । यसको अर्थ नेपालीहरू निमोनिया गराउने मुख्य ब्याक्टेरिया न्युमोकोकलको उच्च जोखिममा छन् भनेर पनि बुझ्न सकिन्छ । वास्तवमा नेपालमा हरेक वर्ष सयौं मानिसको ज्यान निमोनियाले लिने गरेको तथ्यांक भए पनि ती सबैको यकिन कारण थाहा हुँदैन । सीमित अनुसन्धानले निमोनिया संक्रमण हुनुमा न्युमोकोकल ब्याक्टेरिया प्रमुख कारक भएको देखाएका छन् । यसबाट नेपालमा पनि न्युमोकोकल ब्याक्टेरिया व्यापक भएको हुनुपर्छ ।

संक्रमणले बालबालिका र वृद्धवृद्धालाई सबैभन्दा बढी प्रभाव पार्छ । केही दिनअगाडि कोभिड–१९ ले मृत्यु भएका एक वृद्धको उमेर ८८ वर्ष थियो । मृत्युको निमोनिया थियो । केही दिनयता नेपालमा कोभिड–१९ ले बिरामी र मृत्यु हुनेमा वृद्धहरूको संख्या ह्वात्तै बढेको देखिन्छ । निमोनिया यसको मुख्य कारण देखिएको छ । न्युमोकोकल निमोनियाविरुद्धको खोप नेपालमा सहजै उपलब्ध भएकाले जोखिम समूहमा पर्ने ज्येष्ठ नागरिक तथा दीर्घरोग भएकाहरूलाई दिन सके निमोनियाबाट हुने जटिलता र मानवीय क्षति धेरै हदसम्म सीमित गर्न सकिनेछ । कोरोनाको लहर कतिपटक आउने र कहिलेसम्म भन्ने ठोकुवा गर्न सकिँदैन । यस्तोमा यसको प्रभाव पनि घरैपिच्छे देखिँदै जाँदा निमोनियाविरुद्धको खोप वरदान साबित हुन सक्छ ।

(पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

प्रकाशित : मंसिर १, २०७७ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×