आहा ! काभ्रेको तीनधारे झरना [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — तीनधारे झरना काठमाडौं उपत्यकादेखि करीब ६० किलोमिटरको छोटो दूरीमा रहेको रमणीय झरना हो । आजभोलि यो झरनाले सामाजिक सञ्जालहरूमा चर्चित हुँदै गएको छ । काभ्रे जिल्लाको रोशी गाउँपालिका–२ काफल डाँडामा अवस्थित छ तीनधारे झरना ।

काभ्रे जिल्लाको सदरमुकाम धुलिखेलदेखि काभ्रेभञ्ज्याङ, दाप्चा हुँदै काफलडाँडा पुगिन्छ । काफल डाँडाबाट करिब १ घण्टाको हिँडाइपछि झरना भएको स्थान पुग्न सकिछ । दूरी छोटो तर बर्खाले बाटो चिप्लो भएका कारण यात्रा लामो हुनसक्छ । त्यसले गर्दा यात्रा केही कष्टकर र थकान महसुस हुनसक्छ तर झरना पुगेपछि झरनाको मनमोहक दृश्यले तपाईंको थकान सबै हराएर जान्छ । करिब ३०० मिटर माथिबाट झर्ने झरनाको दृश्यले तपाईंलाई मोहित बनाउँछ ।

तीनधारे झरना संरक्षण संवर्द्रधन तथा पर्यटन उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर मगरका अनुसार दुई महिनायता झरना अवलोकन गर्न आउनेको संख्या ह्वात्तै बढेको छ । 'अहिले शनिबारबाहेक दैनिक  झण्डै हजार जना झरना हेर्न आउने गरेका छन् । शनिबार मात्र २ देखि ३ हजारसम्म आउने गरेका छन् ।', उनले भने ।   

झरना अवलोकन गर्न काठमाडौं,  भक्तपुर,  ललितपुर,  दोलखा र काभ्रेलगायतका आसपासका जिल्लाबाट उल्लेखनीय संख्यामा युवायुवतीहरु आउने गरेका छन् । बाटोको अवस्था नराम्रो भएपनि त्यसलाई बेवस्ता गर्दै झरना अवलोकन गर्ने आउनेको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । जतिसक्दो चाँडो बाटोको स्तरोन्निति गर्न तीनै वटा निकायलाई आग्रह गरेका छन् । तीनधारे झरना हेरेर आउने सर्वसाधारणहरुले सामाजिक सन्जालमा अरु कुनै विदेशी नामसँग झरनाको तुलना गरेर सन्जालमा पोस्ट नगर्न अनुरोध गरे । उनले भने 'यस झरनाको आफ्नै मौलिकता छ । कृपया नाम नबिगारइदिनु होला ।'                

काठमाडौं उपत्यका आसपासका स्थानहरुमा रहेका झरनाबाट केही फरक र साहसिक यात्रा अनुभव गर्न चाहनुहुन्छ भने तीनधारे झरना उपयुक्त गन्तव्य हुनसक्छ ।   


प्रकाशित : आश्विन १, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्