चितवन — भरतपुर महानगरपालिकाको पश्चिम क्षेत्र ग्रामिण इलाका हो । नारायणगढ भरतपुरमा बजार क्षेत्र बन्द छ । तर दिउँसो बाहेक साँझ बिहान मान्छेको चहलपहल बाक्लै हुने गर्दछ । अत्यावश्यक सेवाका लागि सञ्चालन भएका गाडी बाहेक पनि मोटरसाइकल र साना गाडी निकै आउजाउ गर्छन् । तर बजार क्षेत्रभन्दा बाहिर ग्रामिण इलाकामा मानिसहरु खेतमा व्यस्त भेटिन्छन् ।
यो बेला किसान मकै खन्ने, गहुँ स्याहार्ने चटारोमा छन् । खेताला पर्याप्त नपाउँदा छरछिमेक मिलेरै मकै गोड्ने र गहुँ काट्ने काम गर्नु परेको स्थानीय बताउँछन् । मुख्य चोकहरुमा किराना पसल, औषधि र तरकारी पसल पनि खुलेका छन् । तर ती पसलमा मान्छेको भीड खासै देखिन्न । ग्राहक पसलभन्दा परै रहुन् भन्नका लागि प्रायजसोले डोरी नै टाँगेका छन् ।
मंगलपुर फुर्तीचोक नजिक एक हुल महिला मकै गोड्न व्यस्त थिए । फोटो खिच्दै गर्दा उनीहरुले ‘यो फोटो पुलिसलाई देखाएर मान्छेको भीड लागेको छ तीनीहरुलाई समाउन जानुस् भन्ने त हैन’ भनेर आशंका व्यक्त गरे । रापमपुर निस्कँदै गर्दा नेपाल कृषि अनुशन्धान परिषद्को फार्ममा टन्नै गाई चरिरहेका थिए । ती गाई रामपुरकै फार्महरुका हुन् ।
रामपुरमा पनि मकै गोड्न, गहुँ स्याहार्न र राजमा थन्क्याउन स्थानीय नै जुटेका थिए । भीमनगर हुँदै शुक्रनगर जाँदै गर्दा बाटोमा एक हुल युवा भेटिए । उनीहरु कीटनाशक रसायन छर्कने तयारीमा रहेछन् । भरतपुर महानगरपालिका–२४ व्यवसायिक तरकारी खेतीका लागि प्रख्यात छ । त्यहाँका वडाध्यक्ष कान्छा मल्ल नै तरकारी खेतीमा लामो समयदखि संलग्न व्यक्ति हुन् । यो वडामा जता हेर्यो तरकारी देखिन्छ ।
तर अहिले तरकारी नबिकेर किसान दुखी छन् । भरतपुर–२४ को केरुङ्गा ताजा तरकारी उत्पादक सहकारी संस्थाका अध्यक्ष जनकराज पुरी काँक्रो बिक्री हुनै छाडेका कारण किसानले टिप्नै बन्द गरेको बताए । दिनमा २४ टन तरकारी काठमाडौं जाने गर्दथ्यो । अहिले निकै कम मात्रामा तरकारी गएको उनले बताए । बिके पनि मूल्य छैन । ७०र८० रुपैयाँमा बिक्री हुँदै आएको घ्यु सिमी ८र१० रुपैयाँ किलोमा झरेको छ ।
खुर्सानी र टमाटर जनतन बिक्री भए पनि अरु तरकारी बेच्न गाह्रो भएको वडाध्यक्ष कान्छा मल्लले बताए । ‘केही नहुने सुख्खा टाँडीमा ५८ सालयता जसोतसो गरेर तरकारी खेती सुरु गरेको हो । त्यसपछि यहाँ तरकारी खेती फस्टायो । सहकारीमा मात्रै साढे चार सय आवद्ध छन् । एकै जनाले १५ विघासम्म तरकारी खेती गरेका छन्’ वडाध्यक्ष मल्लले जानकारी दिए । तर लकडाउनले गर्दा तरकारी नबिकेर किसानहरु मर्कामा परेको उनले बताए ।





