१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चिया बगानमा लकडाउन उल्लंघन

पर्वत पाेर्तेल

झापा — झापाको टोकला चिया बगानले लकडाउन उल्लंघन गर्दै चिया श्रमिकलाई काममा खटाएको छ । ३ सयभन्दा बढी श्रमिक शुक्रबारदेखि हरियो पत्ती टिप्ने, लोड गर्ने र कारखानासम्म पुर्‍याउने काममा खटिँदै छन् ।

सरकारले कोरोना भाइरसका कारण देशभरका उद्योगधन्दा बन्द गरे पनि बगान प्रशासनले लकडाउनको दोस्रो साताबाटै कामदार बोलाएको हो ।

‘काममा नआउनेलाई जागिरबाटै निकाल्ने प्रशासनको धम्कीपछि श्रमिकहरू बाध्य भएर काममा आउनुपरेको हो’, एक श्रमिक नेताले भने ।

यसैबीच मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना उप्रेती र प्रदेश सांसद गोपाल बुढाथोकीले आइतबार बगान अनुगमन गरेका छन् । नगरपालिकाले गत २१ गते चिया उद्योग सञ्चालनका लागि बगान प्रशासनलाई पत्राचार गरेको थियो । मेयर आचार्यले प्रदेशको कृषि तथा सहकारी मन्त्रालयले १९ गते पत्र पठाएर चिया टिप्ने, ढुवानी र प्रशोधन गरिदिने वातावरण मिलाइदिन आग्रह गरेको जनाए । ‘प्रदेश मन्त्रालयको पत्र कार्यान्वयन गरेर काम लगाउन बगानलाई स्वीकृति दिएका हौं,’ उनले भने ।

अनुगमनपछि मेयर आचार्यले त्रिवेणी समूहका प्रमुख सुभास सांघाईसँगको कुराकानीमा केही दिन बगानको काम रोक्न आग्रह गरेको जनाए । नेपाल चिया विकास निगमका प्रमुख लोकनाथ दंगालले प्रदेश मन्त्रालयको पत्रका आधारमा श्रमिकलाई काममा बोलाइएको बताए ।

प्रकाशित : चैत्र २३, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्