आज म हजारौं किलोमिटर टाढा छु । आफ्ना छोराछोरीको पहिलो हाँसो, पहिलो कदम र बिहानको चिया–घामसँगै बित्ने क्षणहरू गुमाउँदै छु । तर यति धेरै संघर्ष र पीडा खेपेर पनि म देशलाई रेमिट्यान्स पठाइरहेको छु ।
What you should know
काठमाडौँ — विगत केही समयदेखि सामाजिक सञ्जालमा भेटिएका केही राजनीतिक दलका कार्यकर्ताले मलाई एउटै वाक्य सुनाइरहेका छन्– अरे भगौडा तिमी ‘देशको चिन्ता नगर, आफ्नो काम गर, भिसा जोगाऊ ।’ यो वाक्य केवल अक्षरको जडी होइन, मेरो जीवनमा गहिरो चोट पुर्याउने शब्दघात पनि हो । किनकि, म यति सजिलै देशप्रतिको माया बिर्सिन सक्दिनँ ।
देश छाड्नुअघि आठ वर्षसम्म म एक प्रतिष्ठित प्रतिष्ठानको १५० मजदुरको अध्यक्ष थिएँ । त्यो पद केवल नामको होइन, निरन्तर संघर्षको प्रतीक थियो । सहयात्री जगत सिम्खडा, दाजु मिलन, माधव र कुमार, रामप्रसाद र चित्र कार्की लगायत मेरा अनन्य सहयात्रीसँग हामीले मजदुरको पीडालाई आवाज दिनु जीवनको धर्म ठान्यौं । अपमान, तिरस्कार र धम्की भोग्यौं तर कहिल्यै झुकेनौं । त्यो लडाइँ लोभ–लालचको लागि होइन, न्यायका लागि थियो ।
संघर्षको अर्को अध्याय व्यवसायमा सुरु भयो । देशमै केही गर्ने रहरले स्टेसनरी पसल र अनलाइन व्यापार सुरु गरेँ । तर अनैतिक प्रतिस्पर्धा र गलत बजार संस्कृतिले मलाई बजारबाट बाहिर धकेल्यो । हार स्वीकारेर होइन, इमान बचाएर म त्यो बाटोबाट फर्कें ।
त्यसपछि आयो जीवनको सबैभन्दा पीडादायी क्षण श्रीमतीलाई आठ महिनाको छोरालाई रातको आठ बजे आफ्नो दूध खुवाएर अँगालो हालिन् झोलुङ्गोमा सुताएर र विदेश पठाइनु पर्यो । श्रीमती बिदेशिएको नौ महिनापछि आफू पनि बिदेशिनु । श्रीमती बिदेशिएपछि त्यो नानी सधैं मसँगै टाँसिन्थ्यो । म ट्वाइलेटमा हुँदा समेत ढोकाको प्वालबाट मलाई हेर्दै बस्ने उसको मासुम नजर, आजसम्म मेरो मनको कोठामा टाँसिएको छ । सायद उसको मनमा डर थियो आमा गए, अब बाबाले पनि छोड्ने हो कि ? परिस्थितिका अगाडि घुँडा टेकेर म पनि विदेश हान्निएँ ।
आज म हजारौं किलोमिटर टाढा छु । आफ्ना छोराछोरीको पहिलो हाँसो, पहिलो कदम र बिहानको चिया–घामसँगै बित्ने क्षणहरू गुमाउँदै छु । तर यति धेरै संघर्ष र पीडा खेपेर पनि म देशलाई रेमिट्यान्स पठाइरहेको छु । मेरो पसिना र हजारौं विदेशिएका नेपालीको श्रमले देशको अर्थतन्त्र अडेको छ ।
तर विडम्बना ! देशको शासन अझै भ्रष्टाचार, राजनीतिक स्वार्थ र असक्षम नेताहरूको खेलमै फसेको छ । म कुनै नेता होइन, न त भाषण गरेर ताली खाने अभिलाषा छ । मैले केही लिनु छैन, केवल दिनु छ, देशको माया र श्रम । म एक आमनेपाली हुँ, जसको सपना छ देशको दुर्दशा अन्त्य होस् र छोराछोरीलाई विदेशको टाढापन होइन, आफ्नै आँगनको घाम–हावा मिलोस् ।
हिजो पनि लोभ थिएन, आज पनि छैन । केवल चाहना छ देशमा यस्तो अवस्था नआओस्, जसले कुनै बाबुआमालाई हामीले जस्तो पीडा भोग्न बाध्य पारोस् । विदेशिएका हातलाई ‘भगौडा’ नभनी उनीहरूको पीडाको भाषा बुझौं । किनकि, यो केवल मेरो कथा होइन– यो हजारौं नेपालीको साझा घाउ हो, जसको उपचार देशको माया र परिवर्तनको इच्छाले मात्र सम्भव छ ।
–सन्तोष सिम्खडा, टोकियो, जापान
