बिरामीको बढ्दो संख्या, प्रकार र रोग सम्बोधन गर्न वीर अस्पतालमा सचेतनाका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्छ । करिब २५ सय जनशक्ति भएको अस्पताललाई प्रविधिमैत्री र स्मार्ट बनाउनुपर्छ ।
What you should know
विश्वास र भरपर्दो सेवाकै कारण दिन प्रतिदिन वीर अस्पतालमा बिरामीको संख्या बढिरहेको छ । यस आर्थिक वर्ष निदानात्मकतर्फ १४ लाख, बहिरंगमा साढे ७ लाख, आकस्मिकमा ३७ हजार, अन्तरंगमा २५ हजार र २५ हजार बढीको शल्यक्रिया भएको छ, जसमा सवा ६ करोड बढी बराबरको निःशुल्क उपचार छ । विश्वासको धरोहर वीर अस्पताल भवन मात्रै होइन, नेपालीको पीडाको संगम हो ।
स्वास्थ्य बिमाले आमसेवाग्राहीको अपेक्षा बढाएको छ, समयक्रमसँगै सेवाग्राहीले छरितोपना खोजेका छन् । बिमाको भुक्तानीमा लामो समयसम्म समस्या रहँदा पनि सेवा बन्द गर्न नसक्ने वीर अस्पतालको अर्को बाध्यता छ । बजेट, जनशक्ति, पूर्वाधार र प्रविधिमा खासै उल्लेखनीय वृद्धि अनि विस्तार हुन सकेको छैन वीर अस्पतालमा । तर, अन्य अस्पतालमा बिमा सेवा रोकिँदा र साप्ताहिक २ दिन बिदा हुँदा झनै सेवाग्राहीको संख्या दोब्बर भई दैनिक बहिरंगमा ५ हजार पुगेको तथ्यांकले देखाउँछ । अन्तर्राष्ट्रियस्तरमा उपलब्ध नवीनतम प्रविधि र उपचार पद्धतिलाई आत्मसात्सहित इभिडेन्स बेस्ड मेडिसिनको अवधारणा अंगीकार गर्न वीर अस्पताल लागिपरेको छ ।
वीरशमशेरले वि.सं १९४६, साउन १२ गते १५ शय्या निर्माण गरेको वीर अस्पतालको कलात्मक भवन वि.सं १९९० सालको भूकम्पले ध्वस्त पारेको थियो । त्यसपछि राजा वीरेन्द्रका पालामा भारतले ओपीडी भवन र यूएसएआईडीले ३ सय ६० शय्याको सर्जिकल अर्थात् पुरानो न्याम्स भवन निर्माण गरिदिएका थिए । जाइकाले सर्जिकल भवनको पछाडि १ सय शय्याको नयाँ भवन बनाइदिएको छ, जसमा अहिले हेमोडायलाइसिस, कार्डियो, ग्यास्ट्रो वार्ड छ । नेपाल सरकारले ५ सय शय्याको नयाँ सर्जिकल भवन बनाएको छ । आईसीयू र एचडीयू विस्तार भएर बहुविशिष्टीकृत ७२ र एचडीयू ३८ शय्या गरी ११० शय्या भएको छ । हाल वीर अस्पतालसँग सबैभन्दा पुरानो ६० वर्षे एक मात्रै भवन छ भने सञ्चालन स्वीकृति ९६० शय्याको छ । २२ वटा क्लिनिकल विभाग, ३ वटा क्लिनिकल युनिट र अन्य ५२ इकाइमार्फत आधारभूतदेखि विशेषज्ञ र विशिष्टीकृत तथा अति विशिष्टीकृत सेवा प्रदान गर्दै आएको छ । वीरशमशेरले ‘रैतीले औषधि उपचारमा दुःख पाएको देखेपछि’ वीर अस्पतालको स्थापना गरेका थिए र अहिले पनि भुइँमान्छे वा सर्वसाधारणको उपचारको भरोसा वीर अस्पताल नै हो ।
वीरशमशेरले वीर अस्पतालको आम्दानीका लागि उपत्यकाबाहिर ५ स्थानमा जग्गा लिइदिएका थिए र त्यहींबाट आएको आम्दानीले वीर अस्पतालमा निःशुल्क सेवा प्रदान गर्ने प्रावधान थियो । तर, वि.सं २०५३ मा ध्रुवलाल जोशीको अध्यक्षतामा जग्गा तथा खेतीको खोजी गर्न समिति बनाइएको थियो । आजसम्म खोजीनिती र लेखाजोखाको पत्तो छैन ।
स्वास्थ्य सेवालाई थप बिरामीमैत्री र सहज बनाउने उद्देश्यले कर्मचारीलाई प्रोत्साहनस्वरूप अतिरिक्त भत्ता दिने व्यवस्था अस्पतालमा गरिएको छ । तर, बिरामी तथा आफन्त मात्रै होइन– व्यवस्थापनमा रहेकाको अनगिन्ती गुनासो, सिकायत र व्यवहार कायम रहँदारहँदै पनि प्रतिफल आएको छैन । यस्तो अवस्थामा पनि वीर अस्पतालले आफ्नो आम्दानीको ९० प्रतिशतसम्म रकम अनेकन तलबभत्तामा वितरण गर्छ ।
राणाकालीन इतिहास बोकेको, देशकै स्वास्थ्य क्षेत्रको मुहार यो अस्पतालमा आम मानिसका आकांक्षा धेरै छन् । तर, हाटा, बैठकमा व्यस्तता, अस्पतालभित्रको किचलो, प्रयोगशाला र फार्मेसीमा सेवा नपाइने, उपकरण बिग्रने, कन्सल्टेन्ट नभेटिने, बहिरंग तथा शल्यक्रियामा लामो लाइन बस्नुपर्ने र कुर्नुपर्ने, राजनीतीकरण, बिरामीलाई दिइने खाजा–खानालगायतमा गुनासो र उजुरी दैनिक दर्जनौं आइरहेका छन् । समाधान गर्न सकिने औषधि खरिद, टेन्डर, उपकरण मर्मत, बिरामीको भीड व्यवस्थापन, प्रेषण प्रणाली जस्ता एकपछि अर्का समस्या उजागर, केही सेवा पटक–पटक अवरुद्ध भएपछि मानिसले भन्न थालेका छन्– पहिले वीर अस्पतालको शल्यक्रिया गरी निदान र उपचार गरौं अनि स्वतः बिरामीको उपचार हुनेछ ।
बिरामीको बढ्दो संख्या, प्रकार र रोगको सम्बोधन गर्न सचेतनासहितका कार्यक्रम सञ्चालनमा ल्याउनुपर्छ । करिब २ हजार ५ सय जनशक्ति रहेको वीरमा सूक्ष्म योजनासहित अस्पताललाई प्रविधिमैत्री र स्मार्ट बनाउनुपर्छ । भीड व्यवस्थापनका अनेकन उपाय कार्यान्वयन गर्नुपर्छ । सेवा सुविधा तथा बजेट व्यवस्थापनमा नजिरले होइन, नियमले चल्ने प्रत्याभूति दिनुपर्छ ।
केहीमा धेरै, केहीमा कम रहेको जनशक्तिको वितरण, व्यवस्थापन र काज अन्त्य गर्नुपर्छ । अस्पताललाई फोहोर व्यवस्थापनसहित प्रविधिमैत्री र वैज्ञानिक बनाउनु छ । दुवाकोट परियोजनालाई विपना बनाउँदै वीर अस्पताललाई सेन्टर अफ इक्सिलेन्सका रूपमा केन्द्रीय रिफरल अस्पताल बनाउनुपर्छ । अस्पतालमा नयाँ प्रविधिको अवलम्बन गर्न ढिला भइसकेको छ । अहिलेकै जस्तो स्थिति रहिरहे वीर अस्पतालले विश्वास गुमाउँदै जानेछ र त्यसको असर समाजका निम्न वर्ग अर्थात् भुइँमान्छेलाई पर्नेछ ।
वीर अस्पतालप्रति बढेको जनविश्वास, ज्यामितीय रूपमा बढेका सेवाग्राहीको संख्या, विशेषज्ञ सेवामा गरिएको स्तरोन्नति र विस्तार, नीति निर्माता र नागरिक अगुवाको अपेक्षा, गौरवपूर्ण इतिहास र हालसम्मको साख कायम राख्नु चुनौतीपूर्ण छ, तर असम्भव छैन । वीर अस्पताललाई मुलुककै स्तरीय र अन्तर्राष्ट्रियस्तरको उदाहरणीय, विश्वसनीय अस्पतालका रूपमा विकास गर्न सम्पूर्ण क्षेत्रबाट सहयोग र सुझाव आवश्यक छ ।
