कस्तो चल्दै छ रवि–बालेन गठजोड ?

व्यक्तिकेन्द्रित विवाद र अन्तर्द्वन्द्वले नेपाली राजनीति बिथोलिने गरेको छ । रवि–बालेनले सुल्झिएको राजनीति गर्लान् वा जति छिटो नजिकिए, त्यसैगरी टाढिएर सत्ता र शक्ति अभ्यासका नयाँ खेलाडीको नजिर बनाउलान् ? प्रतीक्षाको विषय बनेको छ ।

श्रावण ११, २०८३

राजाराम गौतम

How is the Rabi–Balen alliance faring?

What you should know

स्वपाका सभापति रवि लामिछानेले हिजोआज आफ्नी स्वर्गीय आमाको तस्बिरसँग संवाद गर्लान् कि नगर्लान् ? गरे भने पनि के उनमा त्यो तस्बिरसँग आँखा जुधाउने साहस होला ?

यतिबेला रवि यी प्रश्नको कठघरामा किन पनि छन् भने, ६ महिनाअघि उनले सार्वजनिक मञ्चबाट आमालाई स्मरण गर्दै एउटा राजनीतिक वाचा गरेका गरेका थिए । जनकपुरको चुनावी सभामा उनले पत्नी निकितालाई साक्षी राखेर आमाको तस्बिरसामु गरेको संवाद सुनाउँदै भनेका थिए, ‘आमा बालेनले देश बनाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ ।’

६ महिनामै रविको ‘जनकपुर वाचा’ धरापमा परेको छ ।

त्यो बेला उनले यो पनि भनेका थिए, ‘बालेनसँग सँगै हिँड्ने निष्कर्षमा पुग्न जम्माजम्मी पाँच मिनेट लाग्यो ।स्वार्थीहरूलाई लाग्ने हो, घन्टौं समय । हामी देश हितका लागि एक ठाउँमा आएको हौं । हामीले देश बनाउने आ–आफ्नो सपना साझा गर्‍यौं र सँगै हिँड्ने निष्कर्ष निकाल्यौं ।’

रविले बालेनसँगै हिँड्ने निष्कर्ष त निकाले तर के उनी यतिबेला सँगसँगै यात्रारत छन् त ? हाइवेमा कुदिरहेको बालेनको ब्रेक नभएको एक्सप्रेस गाडीमा के रवि पनि सँगै छन् ? अथवा उनी सडक किनारामा कतै बालेन एक्सप्रेसको दुर्घटना कुरिरहेछन् ? रवि–बालेनका साझा सपना र यथार्थबीचको खाडल गहिरिँदै गएको छ । अनि, बालेनको नेतृत्वमा ‘देश बनाउने टोली’ ले देश बनाइरहेको हो कि थप भत्काइरहेको हो ? संशय र प्रश्नहरू थपिँदो छ ।

राजनीतिक विसंगतिका वाहक बनेका केही थान थोत्रा नेताहरूबाट वाक्कदिक्क भएका जनताले रविका तिलस्मी वाचा पत्याए । वालेन्द्र शाहको ‘हिरोपन्थी’ लाई चुनावबाटै अनुमोदन गरे । फलतः रास्वपा ऐतिहासिक जितसँगै शक्तिशाली पार्टीका रूपमा उदायो । वालेन्द्र शाह झन्डै दुईतिहाइको समर्थनमा प्रधानमन्त्री चुनिए ।

हाइवेमा कुदिरहेको बालेनको ब्रेक नभएको एक्सप्रेस गाडीमा के रवि पनि सँगै छन् ? अथवा उनी सडक किनारामा कतै बालेन एक्सप्रेसको दुर्घटना कुरिरहेछन् ?पुरानाहरू पाखा लागे, शासन सत्तामा जताततै नयाँको जगजगी सुरु भएको छ । तर, सुरुवाती चार महिनामा देश बनाउने सपना साटेका दुई नेताबीच सहकार्यको थोरै पनि ‘स्पिरिट’ लोकले अनुभूत गर्न पाएका छैनन् । बरु, दुईबीचको सम्बन्ध र विश्वासमा धाँजा पर्न थालेको छ र सपनाभित्र लुकेका शक्तिमुखी खेल र स्वार्थहरू हाबी हुन थालेका छन् ।

सँगै, प्रश्नहरूको ओइरो लाग्न थालेको छ, पाँच मिनेटमा बनेको राजनीतिक विश्वास ६ महिनामा धरमराउन थालेको हो ? के रवि–बालेन समीकरण दुवैको तत्कालीन र रणनीतिक आवश्यकताको उपज थियो ? अनि, सबैभन्दा यक्ष प्रश्न, यी दुईबीचको राजनीतिक सम्बन्ध र विश्वासको आयु कति होला ? यी प्रश्नको वरिपरि रहेर यो विश्लेषण गरिएको छ ।

मिलापको पृष्ठभूमिबाट यो विमर्श बढाऔं ।

रवि–बालेन मिलाप जेन–जी विद्रोहपछि र आमनिर्वाचन नजिकिँदै गर्दा भएको थियो । यो कुनै राजनीतिक विचाराधारा वा वादको जगमा भएको एकता थिएन । त्यसबखत नयाँ वैकल्पिक राजनीतिक पात्र र शक्तिहरू मिलेर निर्वाचनमा जानुपर्छ भन्ने जबर्जस्त भाष्य बन्दै थियो । पुराना दल र पात्रप्रतिको आक्रोश चुलिँदो थियो ।

भ्रष्टाचार संस्थागत भएकाले सुशासनका लागि नयाँले अब नेतृत्व लिनुपर्छ भन्ने भाष्य बलियो बन्दै गर्दा बालेनको लोकप्रियताको ग्राफ उक्लिरहेको थियो । उनी जेन–जी आन्दोलनकारीहरूका लागि ‘आइकन’ थिए । जेन–जीहरूले उनलाई आन्दोलनपछि सडकबाटै प्रधानमन्त्री बनिदिन आग्रह गरेका थिए । तर, उनले त्यो ‘अफर’ स्विकारेनन् । बरु, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने भूमिका खेले ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका बालेन यतिबेलासम्म राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव राख्न सक्ने पात्रका रूपमा देखापरेका थिए ।

रास्वपा सभापति रविचाहिँ जेन–जी आन्दोलनपछि केही रक्षात्मक अवस्थामा पुगेका थिए । हुन त उनको उदय पनि बालेनको भन्दा खासै भिन्न होइन । उनी पनि पुराना र संस्थापन भनिएका दल र पात्रहरूप्रति बढेको असन्तुष्टिकै जगमा उदाएका थिए ।

रास्वपा स्थापनाको ६ महिनामै चुनावमा सहभागी भएर चौथो ठूलो दलको नेताका रूपमा रविको राजनीतिक आगमन आश्चर्यजनक र आशालाग्दो थियो । पटकपटक लोकप्रिय मत पाएर संसद्मा पुगेका रविको आकर्षण त्यसबेला घट्यो, जब उनी सत्तामा जान हतारिए र गृहमन्त्री बने । एकपछि अर्को विवादमा मुछिए । नैतिक, आर्थिक, कानुनी सबै खाले विवादमा फसे । जसबाट उनी अहिले पनि पूर्णतः मुक्त भइसकेका छैनन् । त्यसमाथि जेन–जी आन्दोलनका बेला गैरकानुनी हिसाबले जेलबाट बाहिर निस्किनु उनको राजनीतिका लागि प्रत्युत्पादक साबित भयो ।

जेन–जी विद्रोहले सिर्जना गरेको शून्यता, संकट र गम्भीर समयमा सायद रवि ‘नायकत्व’ हात पार्न सकिएला कि भन्ने रणनीति अख्तियार गरेर जेलबाट निस्किएका थिए । तर, जेन–जीहरूबाटै उनलाई ‘खलनायक’ चित्रित गरियो । जेन–जीहरूकै चर्को आलोचना र बहिष्करणमा परेपछि उनी पुनः जेल फर्किएका थिए ।

रविको विवादित छवि बनेको थियो । नयाँ पार्टी भए पनि रास्वपाका नेताहरूले सत्ताको स्वाद चाखिसकेका थिए । यसले गर्दा चुनावको मुखमा रास्वपा रक्षात्मक थियो । तर, बालेनसँगको एकताले यो पार्टीमा नयाँ ऊर्जा भरियो । त्यसो त रवि–बालेन मिलापमा नाटकीय रूपमा बढेको सुधन गुरुङ लगायतका पात्रको सक्रियताप्रति संशय गर्नेहरू पनि छन् । यद्यपि, एकताको मुख्य अन्तर्य हो, रास्वपाले जेन–जी पुस्ताका लोकप्रिय पात्रलाई चुनावी अनुहारका रूपमा पायो भने बालेनले पार्टीको ओत पाए । त्यसमाथि रविले बालेनलाई प्रधानमन्त्रीकै उम्मेदवारका रूपमा अघि सारेपछि रास्वपाको पक्षमा देशव्यापी लहर नै आयो ।

चुनावी लहरले रास्वपालाई मुलुकको सबैभन्दा शक्तिशाली दलका रूपमा स्थापित गरेको छ । बालेन चार महिनादेखि मुलुकको शासन सत्ताको बागडोरमा छन् । रवि पार्टी सत्ता हाँकिरहेका छन् । एउटाले पार्टी हाँक्ने, अर्कोले सत्ता हाँक्ने सहमति गरेका दुई नेताले त्यही गरिरहेको सतहबाट देख्दा लाग्न सक्छ, ठीकै त चलेको छ । तर, अन्तर्यमा जाँदा पार्टी सत्ता र शासकीय सत्ता दुवै समस्याग्रस्त हुँदै गएका छन् । मुखले गुटबन्दी नगर्ने भनिए पनि गुटगत द्वन्द्वको मारमा यो पार्टी पर्न थालिसकेको छ । 

केहीअघि सकिएको पार्टीको पहिलो महाधिवेशनमा अव्यवस्थापन, अपरिपक्वता र गुटबन्दीका अनेक दृष्टान्त देखिए । बालेनको शासकीय शैलीमा र उनको राजनीतिक चरित्रमा त दर्जनौं प्रश्नवाचक चिह्न लागिसके । जसले गर्दा यो पार्टीको घरझगडा भुसको आगो जस्तो भित्रभित्रै सल्किरहेको छ । यसैबीच बालेनको अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको द्वन्द्व सतहमै पोखियो । वित्त/व्यवसाय क्षेत्रका व्यक्तिहरूसँगको अन्तर्क्रियामा उनले वाग्लेलाई कहीँकतै समावेश गरेनन् । बरु, उनलाई हटाउने प्रयत्न गरे ।

सरकारी संरक्षणमै निजी मिडियाका गेटअगाडि गाडीहरू पार्क गरिएका घटनाले पनि पार्टीभित्र द्वन्द्व र असन्तुष्टि बढायो । द्वन्द्व अझै सुषुप्त अवस्थामा छ र निकै थोरै प्रकट भएको छ । एकाध नेताहरूले मात्रै बालेनका कार्यशैलीलाई लिएर टिप्पणी गरेका छन् । यद्यपि, यी रवि–बालेन सहकार्यको भविष्य के होला भन्ने प्रश्न उठाउन पर्याप्त छन् ।

दुई नेताको गठजोड कसरी अगाडि बढ्ला ? यसको भविष्य के होला भन्ने मूलतः तीन वटा विषयले निर्धारण गर्नेछ ।

पहिलो, रास्वपाको घरेलु कारण । बालेनका अराजनीतिक, आवेगपूर्ण र अपरिपक्व शासन शैलीलाई रविले कहिलेसम्म नजरअन्दाज गर्न सक्छन् ? र, उनको बचाउमा सम्झौता गरिरहन्छन् ? गठजोडको भविष्य यो प्रश्नले धेरै हदसम्म निर्धारण गर्नेछ । मुलुकले बालेन शासन भोग्न थालेको यो चौथो महिना हो । केही नयाँ गर्ने दबाबमा रहेका बालेनमा केही गरौं भन्ने हुटहुटी नै नभएको होइन । यद्यपि, उनी जसरी अधिनायकमुखी र नियन्त्रित शासन गर्ने मनसुवा बोकेर हिँडेका छन्, त्यो नै यी दुई नेताको सम्बन्धको सबैभन्दा मुख्य चुनौती हुनेछ ।

रवि–बालेन मिलापमा नाटकीय रूपमा बढेको सुधन गुरुङ लगायतका पात्रको सक्रियता प्रति संशय गर्नेहरू पनि छन् ।बालेन पार्टीको फ्रेममा बस्न रुचाउँदैनन् । तर, उनलाई पार्टीभित्र आफ्नो समूहको यथोचित स्थान चाहिएको छ । उनी लोकतान्त्रिक विधि र पद्धतिको ठाडो अवहेलना गर्छन् । पार्टीको नेतृत्वलाई विश्वासमा नलिई मन्त्री हेरफेर गर्न चाहन्छन् । उनको ब्रेक नभएको एक्सप्रेस गाडीले सुकुमवासीहरूको बस्ती उजाड बनाएको छ । उनी अदालतभित्र राजनीतिक प्रभाव विस्तार गर्न चाहन्छन् । पछिल्लो समय उनले व्यवसायी लगायतका व्यक्तिहरूसँग थालेको अन्तर्क्रिया सकारात्मक छ । यद्यपि, उनका अधिक शासकीय व्यवहार आलोच्य र संशय बढाउने खालका छन् ।

रवि र बालेनबीचको पछिल्लो चार घण्टा लामो भेटघाटमा उनले बालेनको शासकीय कमजोरीहरूप्रति प्रश्न उठाएको समाचार सार्वजनिक भएका छन् । सुकुमवासी समस्या समाधान नभएको विषय, अर्थमन्त्रीसँगको द्वन्द्वलगायत भूराजनीतिक विषयमा पनि रविले बालेनलाई प्रश्न गरेको बताइन्छ । अर्थात् असहमति जाहेर गर्ने सिलसिला सुरु भएको छ । यही बेला मिडियामा रास्वपाको संशोधित विधानको पनि चर्चा छ । रास्वपाको संशोधित विधानमा सभापतिको निर्देश अवज्ञा गरेमा संसदीय दलको नेता हटाउने प्रावधान राखिएको छ । यी सबैको सन्दर्भको संकेत र सन्देश हो, बालेनको शासकीय शैलीलाई लिएर रविले कति सम्झौता गर्छन् ? सहकार्यको भविष्य निर्क्यौल त्यसैले गर्नेछ ।

दोस्रो, बाह्य कारण । सहकार्यमा जटिलता आउने अर्को बाह्य कारण पनि हुन सक्छ । हुन त आफ्नो थैली कस्यो भने बाहिरियाले चोर्‍यो भनेर दोषारोपण गर्नै पर्दैन । मैदान दिएपछि बाहिरियाले खेल्ने विषय अनौठो होइन । फेरि विगतमा पनि नेपाली राजनीतिक शक्तिहरू उपर बाह्य शक्तिस्वार्थहरूको बलियो प्रभाव परेका कैयौं दृष्टान्त छन् । अहिले शासन शक्तिको केन्द्रमा भएको रास्वपाभित्र पनि भूराजनीतिक उछलकुदहरू बढिरहेका छन् ।

हालसालै प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनले गोप्य रूपमा दिल्ली गरेर भारतीय सुरक्षा सल्लाहकार अजित डोभललाई भेटेको अपुष्ट सन्दर्भले नेपाली राजनीति तातेको छ । रास्वपाको नेतृत्वबीच पनि यो सन्दर्भले शंका–उपशंका जन्माएको छ । रवि भारत भ्रमणपछि चीन जाँदै गरेको सन्दर्भलाई पनि चासोसाथ हेरिएको छ ।

भूराजनीतिक चासो र जटिलताका बीच नेपाली कूटनीतिको मुख्य चुनौती आफ्नो रणनीतिक स्वायत्तता जोगाउनु हो । शासन सत्ताको बागडोर सम्हालिरहेको रास्वपाको भूमिका यसमा महत्त्वपूर्ण हुन्छ । कम्तीमा विदेश मामिलामा पार्टीका नेता र सरकारको नेतृत्वबीच समानान्तर अभ्यास र परस्पर बाझिने क्रियाकलाप हुनु ‘डिप्लोमेटिक ब्लन्डर’ हो । विगतका दृष्टान्तहरू खोतल्दा नेपाली दलहरूमा आन्तरिक शक्ति संघर्ष चल्दा बाह्य समर्थन र सदाशयता खोज्ने प्रवृत्ति हाबी भएका सन्दर्भहरू भेटिन्छन् ।

त्यसकारण उच्चस्तरीय भेटघाट र कूटनीतिक सम्पर्कहरू आपसी शंका पैदा गर्ने हिसाबले गरिनु रास्वपाको राजनीतिका लागि प्रीतिकर होइनन् । पार्टी सभापतिको औपचारिक र महत्त्वपूर्ण भ्रमणहरूलाई सरकारले उपेक्षा गर्ने, सभापतिले प्रधानमन्त्रीलाई भ्रमणबारे औपचारिक जानकारी दिन आवश्यक नठान्ने, यता प्रधानमन्त्री गुप्त हिसाबले विदेशी अधिकारी भेट्न आफ्ना सल्लाहकार परिचालन गर्ने, यस्ता बाह्य शक्तिकेन्द्र केन्द्रित रास्वपाका गतिविधिले राष्ट्रको कूटनीतिक ‘स्ट्रेन्थ’ त कमजोर पार्छ नै, सँगै यो दुई नेताबीचको आपसी सम्बन्ध र विश्वासलाई थप कमजोर बनाउने कारक बन्न सक्छ ।

तेस्रो, आफ्नै कारण । अर्थात् दुई नेताको भिन्न चरित्र । रवि र बालेन दुवै पछिल्लो समय नेपाली राजनीतिमा चुलिएको असन्तुष्टि र निराशाको जगमा जन्मिएका नेता हुन् । तर, दुईबीच मूलभूत राजनीतिक चरित्रमा भिन्नता छ । रवि संसदीय राजनीतिमार्फत दल निर्माण गरेर नेता बन्न चाहेका व्यक्ति हुन् । पत्रकारिताको ‘फेम’ लाई उनी राजनीतिमा उपयोग गर्न चाहन्थे । त्यसैले उनले रास्वपा बनाए । उनी सिधै राष्ट्रिय राजनीतिक व्यक्तिका रूपमा उदाए ।

बालेन स्थानीय राजनीतिबाट उदाएका व्यक्ति हुन् । उनी दलभन्दा पनि स्वतन्त्र नेताको ब्रान्डका रूपमा राजनीतिमा उदाए । उनलाई संसदीय अभ्यासमा खासै रुचि भएको देखिँदैन । उनी सामाजिक सञ्जालबाट आफूले कमाएको लोकप्रियताको आडमा शासन सत्तामा टिकिरहन चाहन्छन् । कम बोल्छन् र बोलेपछि विवादास्पद बोल्छन् । रवि वक्तृत्वकलामा निपूर्ण छन् । एक हिसाबले भन्दा उनको एउटा मुख्य राजनीतिक उचाइको आधार बोल्ने कला पनि हो । जसले उनलाई जनतासँग जोड्यो ।

सारमा, दुवै नेता राजनीतिक परिवर्तनका प्रतिनिधि बनेर उदाए । संस्थापनविरोधी छवि बन्यो । तर, एक जना नियन्त्रित शासनशैलीबाट प्रशासनिक सुधार गर्न चाहन्छन् । अर्कोलाई संसदीय राजनीतिक अभ्यासमा पार्टी बलियो बनाउनु छ । एक जना सामाजिक सञ्जाललाई राजनीतिक हतियार बनाउन चाहन्छन्, अर्कोलाई संगठन निर्माण र यसको विस्तारको मोह छ । अर्थात्, फरक राजनीतिक शैली र चरित्र पनि यी दुईबीचको राजनीतिक मिलापमा बाधक हुन सक्छन् ।

व्यक्तिकेन्द्रित विवाद र अन्तर्द्वन्द्वले नेपाली राजनीति बिथोलिने गरेको छ । आवरणमा सिद्धान्त र राजनीतिका लेपन लगाए पनि विगतदेखि नै शक्ति र सत्ता भागबन्डाका लागि शीर्ष नेतृत्वबीच द्वन्द्व निम्तिएका कैयौं दृष्टान्त छन् । खासगरी कम्युनिस्ट र कांग्रेस नेताहरूको आपसी इगोको व्यवस्थापन हुन नसक्दा राजनीति दिशाहीन र अस्थिर हुने गरेको हाम्रो नियति नै हो । रवि–बालेनहरूले इतिहासको यो तीतो वास्तविकतालाई आत्मसात् गरेर सुल्झिएको राजनीति गर्लान् वा जति छिटो नजिकिए, त्यसैगरी टाढिएर सत्ता र शक्ति अभ्यासका नयाँ खेलाडीको नजिर बनाउलान् ? फ्रतीक्षाको विषय बनेको छ ।

@Rajaramgautam

राजाराम कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको 'साप्ताहिक' र 'नारी' मासिकको सम्पादक भएका राजाराम कान्तिपुरमा समसामयिक बिषयमा लेख्ने गर्छन् ।

Link copied successfully