विश्व शक्तिको आजको भूगोल कुन हो ? 

डेढ शताब्दीपछि पनि बदलिएको छैन मूल प्रश्न– वर्तमान विश्व शक्ति कसको हातमा छ ? बरु शक्तिको स्रोत र स्वरूप बदलिएको छ । आज शक्ति कारखानामा मात्रै सीमित छैन– डेटामा, कृत्रिम बुद्धिमत्तामा, एल्गोरिदममा, सेमिकन्डक्टर चिप्समा, क्लाउड कम्प्युटिङमा र डिजिटल प्लाटफर्ममा पनि छरिएको छ विश्व शक्ति ।

श्रावण १०, २०८३

कल्याण रोका

What is the current geopolitical landscape of world powers?

What you should know

वर्तमान विश्व शक्ति कहाँ छ ? हिजो उत्तर स्पष्ट थियो– जहाँ कारखाना छन्, त्यहीँ शक्ति छ । औद्योगिक क्रान्तिपछि फलाम, कोइला, बाफ, मेसिन र कारखानाले नै विश्व अर्थराजनीतिको शक्ति निर्धारण गर्थ्यो ।

उत्पादनका साधनमाथिको नियन्त्रणले नै आर्थिक शक्ति, राजनीतिक प्रभाव र सामाजिक सम्बन्धको आधार तयार गर्थ्यो । सन् १८६७ को ‘दास क्यापिटल’ मा मार्क्सले यही औद्योगिक संसारको अर्थराजनीतिको विश्लेषण गरेका थिए । उत्पादनका साधनमाथिको स्वामित्वले वर्गीय सम्बन्ध, राज्यको चरित्र र पुँजीवादको भविष्य निर्धारण गर्ने तर्क थियो ‘क्यापिटल’ को । 

करिब डेढ शताब्दीपछि पनि मूल प्रश्न बदलिएको छैन, प्रश्न उही छ– शक्ति कसको हातमा छ ? बरु शक्तिको स्रोतको स्वरूप बदलिएको छ । आज शक्ति कारखानामा मात्रै सीमित छैन– डेटामा, कृत्रिम बुद्धिमत्तामा, एल्गोरिदममा, सेमिकन्डक्टर चिप्समा, क्लाउड कम्प्युटिङमा र डिजिटल प्लाटफर्ममा पनि छरिएको छ विश्व शक्ति ।

हिजो उद्योगहरूले श्रमिकको श्रम किन्थे, आज डिजिटल प्लाटफर्महरूले प्रयोगकर्ताको समय, ध्यान र डिजिटल उपस्थितिलाई बजारमा बेचिरहेका छन् ।आज शक्तिको भूगोल बदलिएको छ । विश्व अर्थतन्त्र औद्योगिक पुँजीवादबाट वित्तीय पुँजीवाद हुँदै एल्गोरिदेमिक तथा प्लाटफर्म पुँजीवादतर्फ उन्मुख छ । आज विश्वका सबैभन्दा प्रभावशाली कम्पनीहरू वस्तु उत्पादन गर्ने उद्योगभन्दा डेटा, कृत्रिम बुद्धिमत्ता, एल्गोरिदम, कम्प्युटिङ र डिजिटल क्षमता बढाउने उद्योगमा लगानी गरिरहेका छन् । आजको बदलिएको पुँजीवादमा उनीहरू वस्तु मात्रै उत्पादन गर्दैनन्– सूचना उत्पादन गर्छन्, मानिसको ध्यान नियन्त्रण गर्छन्, मानवीय व्यवहारको विश्लेषण गर्दै उनीहरूले भविष्यमा गर्ने निर्णयसम्मको अनुमान गर्छन् । त्यसैले २१ औं शताब्दीको राजनीतिक अर्थशास्त्र बुझ्न कारखानाभन्दा डेटा सेन्टर, मेसिनभन्दा एल्गोरिदम र तेलभन्दा चिप्स बुझ्नु आवश्यक छ ।

उन्नाइसौं शताब्दीको पुँजीवादीे शक्तिको स्रोत कारखाना थियो भने आजको पुँजीवादको शक्ति डेटा सेन्टर हो । हिजो उत्पादनको प्रमुख साधन मेसिन र श्रम थियो भने आज एल्गोरिदम, चिप्स, कम्प्युटिङ शक्ति र डिजिटल प्लाटफर्म नै उत्पादनका नयाँ साधन बनेका छन् । आजका यी उत्पादनका साधन प्रविधि मात्रै होइनन्– आर्थिक शक्ति, राजनीतिक प्रभाव र सांस्कृतिक वर्चस्व निर्माण गर्ने संरचनात्मक आधार पनि हुन् । यसको अर्थ ‘मार्क्स आजको युगलाई व्याख्या गर्न असफल भएका हुन्’ भन्ने होइन । तर, उनको अर्थराजनीतिक विश्लेषणलाई डिजिटल युगसँग संवाद नगराउने हो भने मार्क्स अधुरा–अपूरा रहन्छन् । 

राजनीतिक अर्थशास्त्रको इतिहासले भन्छ– सामन्तवादमा शक्ति जमिनमा केन्द्रित थियो । औद्योगिक पुँजीवादमा त्यो शक्ति कारखानामा सर्‍यो । वित्तीय पुँजीवादमा बैंक र वित्तीय बजार शक्तिका केन्द्र बने । आज एल्गोरिदेमिक पुँजीवादमा शक्ति डेटा, कृत्रिम बुद्धिमत्ता, चिप्स, कम्प्युटिङ पूर्वाधार र डिजिटल प्लाटफर्ममा केन्द्रित हुँदै गएको छ । आजको विश्व बुझ्न नक्सामा देखिने भूगोल मात्रै होइन, डिजिटल संसारमा निर्माण भइरहेको शक्तिको नयाँ भूगोल पनि बुझ्नु आवश्यक छ ।

आजको अर्थतन्त्रको मूल्यवान् स्रोत डेटा हो । औद्योगिक युगमा उद्योग चलाउन फलाम, कोइला र तेल आवश्यक पर्थ्यो । आज कृत्रिम बुद्धिमत्तालाई चलाउन डेटा चाहिन्छ । जसरी हिजो तेल निकाल्न रिफाइनरी अपरिहार्य थियो, आज डेटा बनाउन र चलाउन कम्प्युटिङ शक्ति, चिप्स, एल्गोरिदम चाहिन्छ ।

आज विश्वको अर्थराजनीतिको केन्द्र बदलिएको छ । अमेरिका र चीनबीचको प्रतिस्पर्धा व्यापार युद्ध मात्रै होइन– त्यो कृत्रिम बुद्धिमत्ता, सेमिकन्डक्टर चिप्स, क्लाउड कम्प्युटिङ र उच्चस्तरीय प्रविधिमाथिको नियन्त्रणका लागि भइरहेको प्रतिस्पर्धा पनि हो । हिजो पेट्रो डलरले विश्व शक्ति निर्धारण गर्थ्यो भने एक्काइसौं शताब्दीमा कम्प्युटिङ शक्ति, डेटा र चिप्सले विश्व शक्तिको नयाँ सन्तुलन निर्माण गरिरहेको छ ।

देखिएको र अनुभव गरिएको यो परिवर्तनले राजनीतिक अर्थशास्त्रमा शक्तिको नयाँ भूगोल निर्माण गरिरहेको छ । मार्क्सका लागि उत्पादन सम्बन्ध भनेको उत्पादनका साधनमाथिको स्वामित्व र त्यसबाट निर्माण हुने वर्गीय सम्बन्ध थियो । त्यो आधारभूत सत्य आज पनि कायम छ । तर, फेरिएका उत्पादनका साधन र त्यसको फेरिँदै गएको सम्बन्ध अर्थात् कारखानाबाट डिजिटल नेटवर्कतर्फको पुँजीवादी यात्राको थप विश्लेषणको माग आजको राजनीति अर्थशास्त्रको थप अध्ययनको विषय बनेको छ ।

आज मानिस श्रमिक वा उपभोक्ता मात्रै होइन, उत्पादक पनि हुन् । सामाजिक सञ्जाल प्रयोग गर्दा, मोबाइल एप चलाउँदा, अनलाइन किनमेल गर्दा, डिजिटल भुक्तानी गर्दा वा इन्टरनेटमा कुनै जानकारी खोज्दा हामी निरन्तर डेटा उत्पादन गरिरहेका हुन्छौं । यही डेटा कृत्रिम बुद्धिमत्तालाई सूचना दिन, विज्ञापन प्रणालीलाई परिस्कृत बनाउन, उपभोगको पूर्वानुमान गर्न र नयाँ नाफा कमाउन प्रयोग हुन्छ । यस अर्थमा उत्पादन प्रक्रिया अब कारखानामा मात्रै सीमित छैन, हाम्रो दैनिक जीवनमा पनि विस्तार भएको छ ।

यो परिवर्तनले मार्क्सको अतिरिक्त मूल्यको व्याख्यामा पनि थप बहसको माग गरेको छ । मार्क्सले ‘अतिरिक्त मूल्य मजदुरको अवैतनिक श्रमबाट सिर्जना हुन्छ’ भनेका थिए । आज पनि श्रम महत्त्वपूर्ण छ तर त्यससँगै डेटा, मानिसको ध्यान, व्यवहार र भविष्यको पूर्वानुमान पनि अतिरिक्त मूल्यका नयाँ स्रोत बनेका छन् । कुनै डिजिटल प्लाटफर्मले प्रयोगकर्ताको व्यवहार जति राम्रोसँग बुझ्न र अनुमान गर्न सक्छ, उसले त्यति नै बढी नाफा कमाउँछ । आजको पुँजीवादी प्रतिस्पर्धा उत्पादनको मात्रै होइन, पूर्वानुमानको क्षमतामाथि पनि आधारित छ । आजको पुँजीवाद अब एल्गोरिदेमिक पुँजीवाद, प्लाटफर्म पुँजीवाद र सर्भेलान्स (निगरानी) पुँजीवादको स्वरूपमा परिवर्तन हुँदै गएको छ । अब नाफा वस्तु बेचेर मात्रै होइन, मानिसको समय, ध्यान, डेटा र व्यवहारलाई आर्थिक सम्पत्तिमा रूपान्तरण गरेर पनि कमाउन सकिन्छ । हिजो उद्योगहरूले श्रमिकको श्रम किन्थे, आज डिजिटल प्लाटफर्महरूले प्रयोगकर्ताको समय, ध्यान र डिजिटल उपस्थितिलाई बजारमा बेचिरहेका छन् ।

यस अर्थमा स्मार्टफोन आजको युगको सानो कारखाना हो । हामीले थाहा नपाईकनै हाम्रो प्रत्येक क्लिक, लाइक, सेयर, टिप्पणी, भिडियो हेर्ने समय, यात्रा गर्ने स्थान र अनलाइन व्यवहार डिजिटल अर्थतन्त्रको कच्चा पदार्थ बनिरहेको हुन्छ । सामाजिक सञ्जाल निःशुल्क देखिए पनि यसको मूल्य हामीले पैसाले होइन, आफ्नै डेटा र ध्यानले तिरिरहेका हुन्छौं । त्यसैले आजको राजनीतिक अर्थशास्त्रमा डेटा नयाँ कच्चा पदार्थ हो, एल्गोरिदम नयाँ मेसिन हो, चिप्स नयाँ ऊर्जा हो भने डिजिटल प्लाटफर्म नयाँ कारखाना हो ।

आज उत्पादनका साधनको भूगोल बदलिएको छ । यो भूगोल बदलिँदा लोकतन्त्रको भूगोल पनि बदलिन्छ । लोकतन्त्रको आधार स्वतन्त्र नागरिक, स्वतन्त्र सूचना र विवेकपूर्ण सार्वजनिक बहस हो । तर, नागरिकले पढ्ने समाचार, हेर्ने भिडियो, प्राप्त गर्ने विज्ञापन र राजनीतिक सन्देश सबै एल्गोरिदमद्वारा छनोट हुन थाल्छन् भने सार्वजनिक बहसको चरित्र पनि बदलिन्छ । हामीले देख्ने संसार वास्तविकताभन्दा बढी एल्गोरिदेमिक छनोटको परिणाम बन्न सक्छ ।

आज सामाजिक सञ्जालका सिफारिस गरिएका सामग्रीको उद्देश्य सत्यको खोजी वा लोकतान्त्रिक बहसलाई बलियो बनाउनु होइन, प्रयोगकर्तालाई सकेसम्म धेरै समय प्लाटफर्ममा रोक्नु हो । यसले सनसनीपूर्ण, भावनात्मक, विभाजनकारी र आक्रोशपूर्ण सामग्री बढी फैलिने प्रवृत्तिलाई बढावा दिन्छ । जब नागरिकको ध्यान आर्थिक सम्पत्ति बन्छ, त्यसपछि सार्वजनिक बहस पनि बजारको तर्कअनुसार सञ्चालन हुन थाल्छ । त्यसैले आजको डिजिटल अर्थतन्त्रलाई ‘एटेन्सन इकोनोमी’ पनि भनिन्छ ।

कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले यो चुनौतीलाई अझ जटिल बनाएको छ । केही सेकेन्डमै वास्तविकजस्तै देखिने डिपफेक भिडियो, कृत्रिम आवाज र स्वचालित प्रचार सामग्रीले निर्वाचनका बेला मतदाताको उमेर, रुचि, भाषा, स्थानका आधारमा फरक–फरक मनोविज्ञान तयार गर्न सक्छ । यस्तो माइक्रो–टार्गेटिङ सामग्रीले सार्वजनिक बहसलाई कमजोर बनाउने र नागरिकलाई फरक–फरक डिजिटल वास्तविकतामा विभाजित गर्ने भएकाले यसले नागरिकबीचमा भ्रम सिर्जना गर्छ । 

यसले हाम्रो परम्परागत लोकतान्त्रिक मूल्यलाई कमजोर बनाएको छ र लोकतन्त्रले सामना गर्ने चुनौतीको स्वरूप बदलेको छ । हिजो लोकतन्त्रमाथिको खतरा सैनिक हस्तक्षेप, प्रत्यक्ष सेन्सरसिप वा निरंकुश राज्यबाट हुन्थ्यो भने आजको चुनौती निजी डिजिटल पूर्वाधारबाट हुने गरेको छ । सूचना प्रवाह, खोज प्रणाली, विज्ञापन बजार, भिडियो सिफारिस, कृत्रिम बुद्धिमत्ता र डिजिटल सञ्चारको संरचना केही सीमित विश्वव्यापी कम्पनीको नियन्त्रणमै केन्द्रित हुँदा लोकतन्त्रमा नयाँ संकट देखापरेको छ । 

आजको राजनीतिक अर्थशास्त्रको मूल प्रश्न केवल उत्पादनका साधनको मालिक को हो ? भन्ने मात्रै होइन, डेटाको मालिक को हो ? एल्गोरिदम कसले लेख्छ ? चिप्स कसले बनाउँछ ? कम्प्युटिङ शक्ति कसको नियन्त्रणमा छ ? नागरिकको सोच तथा लोकतान्त्रिक निर्णयको मनोविज्ञान तयार गर्ने डिजिटल पूर्वाधार कसको हितमा सञ्चालन भइरहेको छ ? यी प्रश्नको उत्तर खोज्नु नै आज शक्तिको नयाँ भूगोल बुझ्नु र खोज्नु हो । बदलिएको शक्तिको यो भूगोलबाट नेपाल पनि अछुतो छैन । डिजिटल अर्थतन्त्रको विस्तारसँगै हामी पनि एल्गोरिदेमिक अर्थराजनीतिको प्रभावभित्र छौं । नेपालमा बैंकिङ, शिक्षा, स्वास्थ्य, व्यापार, सरकारी सेवा, सामाजिक सञ्जालदेखि चुनावी अभियानसम्मै डिजिटल प्रविधिको प्रयोग तीव्र गतिमा बढिरहेको छ । 

हामी डिजिटल अर्थतन्त्रका निर्माता बनिसकेका छैनौं । यो नेपालको वास्तविक चुनौती हो । हामी डिजिटल सेवा प्रयोग गरिरहेका छौं तर त्यसको मालिक होइनौं । हामी निरन्तर डेटा उत्पादन गरिरहेका छौं तर त्यसबाट सिर्जना हुने आर्थिक मूल्य पाइरहेका छैनौं । हामीले कृत्रिम बुद्धिमत्ता प्रयोग गर्न थालेका छौं तर त्यसलाई सञ्चालन गर्ने अत्याधुनिक चिप्स, उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार निर्माण गर्ने क्षमता हामीसँग छैन । यसरी हेर्दा हामीले वस्तुको मात्रै होइन, डिजिटल निर्भरता पनि आयात गरिरहेका छौं । 

आजको असमानता उद्योग, पुँजी र प्रविधिमा मात्रै सीमित छैन– डेटा, कम्प्युटिङ शक्ति, कृत्रिम बुद्धिमत्ता र डिजिटल पूर्वाधारमा पनि असमानता देखिएका छन् । औपनिवेशिक युगमा दक्षिणका मुलुकबाट कच्चा पदार्थ उत्तरतर्फ लगिन्थ्यो, लगिन्छ । आजको डिजिटल युगमा विश्वभरका अर्बौं मानिसबाट उत्पादन हुने डेटा केही सीमित डिजिटल कम्पनीको प्रणालीमा जम्मा भइरहेको छ । कच्चा पदार्थको स्वरूप फेरिएको छ तर शक्तिकेन्द्रित हुने प्रक्रिया उस्तै छ । यो आजको डिजिटल उपनिवेशवाद हो ।

नेपालका लागि आजको अर्थराजनीतिको चुनौती फेसबुक, टिकटक वा अन्य डिजिटल प्लाटफर्मको प्रयोग होइन । यसको मूल चुनौती नेपाली नागरिकको डेटा कहाँ संकलन भइरहेको छ ? स्वामित्व कसको छ ? त्यसबाट सिर्जना हुने आर्थिक मूल्य कसले प्राप्त गरिरहेको छ ? नेपाली भाषाले कृत्रिम बुद्धिमत्तालाई सूचना दिँदा त्यसको बौद्धिक लाभ कसले लिइरहेको छ ? यी प्रश्न सूचना प्रविधिका विषयका रूपमा मात्रै होइन– राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय सुरक्षा र लोकतान्त्रिक सार्वभौमिकतासँग पनि जोडिनुपर्छ । हामी भविष्यमा डिजिटल बजारका उपभोक्ता मात्रै बन्ने कि डिजिटल अर्थतन्त्रका निर्माता बन्ने भन्ने प्रश्नसँग जोडिनुपर्छ । 

आजको राजनीतिक अर्थशास्त्रले पुँजी कसको हातमा छ होइन, शक्ति कहाँ केन्द्रित हुँदै छ भन्ने प्रश्नको खोजी गर्छ । यो प्रश्नको खोजीले हामीलाई नयाँ शक्तिको भूगोल खोज्न सिकाउँछ । हिजो कारखाना, खानी र तेलका कुवामा केन्द्रित भएको शक्ति आज डेटा सेन्टर, एल्गोरिदम, सेमिकन्डक्टर चिप्स, क्लाउड कम्प्युटिङ र कृत्रिम बुद्धिमत्ताको पूर्वाधारमा केन्द्रित हुँदै गएको तथ्यलाई बुझाउँछ । 

राष्ट्रहरूको प्रतिस्पर्धा भूभागको विस्तारभन्दा बढी कम्प्युटिङ क्षमता, डिजिटल पूर्वाधार र ज्ञान उत्पादनको क्षमतामा आधारित हुन थालेको तथ्य उजागर गर्न सिकाउँछ । त्यसैले भविष्यको विश्व बुझ्न अब नक्सामा देखिने देशीय सीमारेखा मात्रै हेरेर पुग्दैन । शक्ति कहाँ उत्पादन हुन्छ, कसले नियन्त्रण गर्छ, कसले त्यसबाट मूल्य सिर्जना गर्छ र कसको हितमा प्रयोग हुन्छ भन्ने प्रश्नको खोजी नगर्ने हो भने न शक्तिको नयाँ भूगोल बुझिन्छ न बदलिएको अर्थराजनीतिको स्वरूप ।

कल्याण

Link copied successfully