गणेशको आत्मदाहले देखाउँछ– विपन्न बीस प्रतिशतलाई तत्कालै केही ठोस राहत चाहिएको छ ।
What you should know
काठमाडौं सहर ! भीड र हल्लाहरू । अभाव र असन्तुष्टिका केही टाटेपाटे खम्बाहरू । अनि ती विवशता, बिछोड र बेचैनीका भयावह ज्वालामुखीहरू । किन होला यो राजधानी सहरमा कहिलेकाहीं कसैलाई श्वास फेर्न पनि अति नै गाह्रो हुँदो रहेछ ?
२५ असारको दिन । एक २५ वर्षे युवाले राहदानी कार्यालयअगाडि ‘अनधिकृत’ भनिएको ठाउँमा आफ्नो बाइक पार्किङ गर्न पुगे । ११ बजेतिर नगर प्रहरीसँग उनको भनाभन भयो । त्यसपछि नगर प्रहरीले उनको बाइकको ह्विल लक गरिदिए । केही समयपछि उनले आफ्नो बाइकबाट पेट्रोल निकाले र आफूलाई छर्के । २ बजेतिर उनले आफ्नो शरीरमा आगो लगाए । अर्को दिन २६ असार, बिहान ११ः१८ बजे चिकित्सकले ती युवा अर्थात् गणेश नेपालीलाई मृत घोषणा गरे ।
गणेशको यो मृत्युको कारण राज्यको असफलता मात्रै हो कि हाम्रो समाजभित्र हराउँदै गएको मानवता पनि ?गणेशप्रति राज्यका केही कमजोरी रहे होलान् । तर बिहान प्रहरीसँग भनाभन भएदेखि दिउँसो उनले आफूलाई जलाउन्जेलसम्म किन कसैले उनलाई भनेनन्, ‘भाइ, तिमीलाई नगर प्रहरीले ज्यादै दुःख दियो, म बुझ्छु तिम्रो पीडा । कोही–कोही प्रहरी कहिलेकाहीं सबैसँग त्यस्तै कठोर व्यवहार गर्छन् । छोड π त्यसलाई बिर्सिदेऊ । आऊ म तिमीलाई मीठो चिया खुवाउन लैजान्छु ।’
आजकल हामी कति व्यस्त हुन थालेछौं कि दिउँसै सडकमा कसैले मोटरसाइकलबाट पेट्रोल झिकेर आफूलाई जलाइरहँदा पनि उसलाई रोक्न सकेनौं ?
आजकाल हामी कति असंवेदनशील भएछौं कि मध्यदिनमा बाटामा कोही पीडामा छटपटाउँदै मर्नै लाग्दा पनि उसको घायल मनको संकेत बुझ्न सकेनौं ?
बुझ्नै नसकिने मृत्यु ?
एउटा स्वस्थ हट्टाकट्टा युवा हाँस्ने, खेल्ने उमेरमा खासै चित्तबुझ्दो कारण नै नभई अकालमा मृत्यु भएको समाचार सुन्दा सबै नेपाली जस्तै म पनि दुःखी भएँ । तर एउटा सामाजिक विज्ञानको अनुसन्धानकर्ता पनि भएकाले यो आत्मदाहको कारण राजनीतिशास्त्रका सिद्धान्तहरूबाट पत्ता लगाउने प्रयास गरें ।
गणेशको यो मृत्युको कारण राज्यको असफलता मात्रै हो कि हाम्रो समाजभित्र हराउँदै गएको मानवता पनि ?आजसम्म जति पनि हिंसा र विद्रोहका सिद्धान्तहरू पढेको थिएँ, तिनले के भन्थे भने युवाहरू असन्तुष्ट र आक्रोशित भए भने उनीहरूले सानो वा ठूलो हिंसात्मक गतिविधि गर्छन् । नेपालकै उदाहरण हेर्ने हो भने पनि कुण्ठित युवा दीपेन्द्रले तत्कालीन सम्पूर्ण राजपरिवारलाई नै सखाप पारिदिए । व्यथित माओवादी युवाहरूले पनि कम हिंसा गरेका थिएनन् । त्यस्तै केही महिनापहिले आक्रोशित जेन–जी युवाहरूले गरेको हिंसात्मक विध्वंस पनि बिर्सिन नसकिने भयानक छ । सिद्धान्ततः असन्तुष्ट युवाहरूले अरूमाथि हिंसा गर्छन् । नेपालको उदाहरणले पनि त्यस्तै देखाउँछ । तर किन गणेशले भने आफैंमाथि हिंसा गरे ?
उनको ह्विल लक गर्ने नगर प्रहरीको रुखो बोली र व्यवहारसँग उनलाई अति नै रिस उठेको भए उनी तिनलाई धक्का दिन सक्थे, एक–दुई मुक्का पनि हानिदिन सक्थे । युवाहरू झोकमा यस्तो अनपेक्षित हर्कत गर्ने गर्छन् ।
सहज पार्किङ नदिई जरिवाना ठोक्ने र रोजगारी नदिएर कर नै करले पेल्ने राज्यको तालले वाक्क लागेर जीवनप्रति नै निराश बनाएको भए उनी नजिकैको बार वा भट्टीमा गएर ५/६ पेगमा झ्याप हुँदै केही समयका लागि भए पनि दुनियाँलाई भुल्न सक्थे । दिक्क लागेका बेलामा धेरै युवाले अक्सर यस्तो पनि गर्छन् । रक्सी नखाने रहेछन् वा त्यसका लागि पैसा थिएन भने उनी मनपर्ने रिल्स हेरेर पनि एकछिन मन बहलाउन सक्थे ।
ह्विल लक भएकाले बेलुका के खाने भन्ने तनाव महसुस भएको भए कसैलाई ठग्न सक्थे, आफू नफस्ने गरी चोर्न वा अरूलाई लुट्न पनि सक्थे । चरम आर्थिक अभावमा कुनै युवाले यसो गरेको भए यो त्यति अनौठो हुँदैनथ्यो, जति एउटा युवाले अप्रत्याशित रूपमा आफूले आफूलाई जलाएर अचम्म भएको छ ।
मैले आत्मदाहसम्बन्धी केही पुस्तकहरू पढेअनुसार त्यसको मुख्य कारण मानसिक समस्या हुँदो रहेछ । गणेशको सन्दर्भमा कुनै मानसिक समस्याको पृष्ठभूमि वा आत्महत्याको कुनै पूर्व सोच वा तयारी देखिँदैन । आत्मदाहको अर्को कारण कुनै ठूलो उद्देश्य प्राप्तिका लागि बलिदान पनि हुँदो रहेछ, जसको उदाहरण तिब्बती शरणार्थीहरूको आत्मदाह पनि हो । यस्तो बलिदानी भावनाले पनि गणेशले आत्मदाह गरेका थिएनन् भन्ने त्यो दिनको घटनाक्रमले देखाउँछ ।
आत्मदाहको अर्को कारण सांकेतिक विद्रोह पनि हुँदो रहेछ । सन् १९६५ मा भियतनाम युद्धको विरोध गर्न एक अमेरिकी नागरिक नरमन मोरिसनले आत्मदाह गरेका थिए । भियतनामी बच्चाहरू अमेरिकाको बमले जलेको फोटोबाट प्रभावित भएर उनी आफ्नी एक वर्षकी छोरी बोकेर सैनिक हेडक्वार्टर गएका थिए । त्यहाँ पुगेपछि आफ्नी छोरी कसैलाई समाउन दिएर उनले आत्मदाह गरेका थिए । गणेशले भने यस्तो सांकेतिक विरोध गर्न पनि आत्मदाह गरेको देखिँदैन ।
यदि उनको आत्मदाह मानसिक समस्याले गरेको आत्महत्या पनि होइन, बलिदान पनि होइन र सांकेतिक विरोध पनि होइन भने के हो त ? मैले दुर्खिमदेखि गालटुङसम्मका सिद्धान्तहरू पढ्दा पनि यसको चित्तबुझ्दो उत्तर पाउन सकिनँ ।
बाँच्नु र मर्नुमा फरक नभएको संसार
गणेशको आत्मदाहलाई बुझ्न सायद काठमाडौंभन्दा पश्चिमतर्फ ७००–८०० किलोमिटर जति टाढा मुगु पुग्नुपर्छ । त्यहाँ म झन्डै २० वर्ष अगाडि पुगेको थिएँ, जुन बेला सायद गणेश पाँच वर्षका थिए । ओहो π त्यो पहाडी विकटता, त्यो गरिबी र त्यहाँका अनेकौं जेलिएका जटिलता, जसलाई वर्णन गर्न मलाई शब्दले साथ दिँदैन । हुन त मुगुमा भएको रारा तालको सौन्दर्य पनि उस्तै शब्दले बयान गर्न नसकिने मनमोहक छ ।
मुगुवासीहरूले आफूहरूप्रति राज्यले गरेको वर्षौंको शोषण र उत्पीडनको व्यथा निर्धक्क भएर सुनाएका थिए । उनीहरूको कथा सुन्दा लाग्थ्यो, राज्यले त्यहाँ यस्तो संसार बनाएको छ, जहाँ कैयौं मानिस जीवित भएर पनि जिउँदा जस्ता थिएनन् । त्यसैले मुगुवासी गरिबका जीवनको मूल्य पनि राज्यलाई थाहा थिएन । लाग्थ्यो, जिउँदो लास बनाएर, राज्यले मर्दा फरक नपर्ने जनताको सूचीमा अधिकांश मुगुवासीलाई राखेको थियो ।
संयोगले म मुगु पुग्दा शान्ति प्रक्रिया भर्खरै सुरु भएको थियो । त्यसैले यस्तो दर्दनाक परिस्थिति फेरिँदै छ कि जस्तो देखिन्थ्यो । गणेशको परिवार जस्तै मुगुका गाउँका अरू दलितहरू (जो उत्पीडित मुगुका सबैभन्दा उत्पीडित समूहमा पर्थे) आशावादी देखिन्थे । उनीहरूलाई लागेको थियो, उनीहरूप्रति राज्यको उदासीनता अब सम्पूर्ण रूपमा अन्त्य हुन्छ । उनीहरूका लागि अब राज्यले केही त गर्छ ।
सायद यही आशाको आगमनले गणेशका बाबुले, आफ्ना छोरालार्ई परम्परागत सिलाइको काम गर्न नलगाएर दुःख गरेर पढाएका थिए । गणेशलाई लागेको थियो होला— बुबाले आधा पेट खाएर मलाई पढाउनुभएको छ । म मिहिनेत गरेर पढेर जागिर खान्छु अनि बुवा–आमालाई आरामको जीवन दिन्छु । मर्नुअघि दाइलाई कमजोर स्वरमा ‘बुवा–आमालाई राम्रो गर्नु’ भनेकाले पनि गणेशको सपना आफ्ना वृद्ध हुँदै गएका बुवा–आमालाई सुख दिने थियो कि जस्तो देखिन्छ । यो सपना पूरा गर्न उनले पटक–पटक लोक सेवा दिएका थिए ।
सायद उनी जागिर खाएर आफ्नी आमालाई नयाँ साडी उपहार दिन चाहन्थे र बुवालाई एउटा नयाँ घडी वा नयाँ मोबाइल ? तर कैयौं चोटि प्रयास गर्दा पनि गणेश लोक सेवा परीक्षामा सफल हुन सकेनन् । त्यसपछि आफ्नो आँगनको आत्मीयता छोडेर दूर काठमाडौं सहर आएर अथक प्रयास गर्दा पनि आमा–बुवालाई उपहार दिने हैसियत त परै जाओस्, सामान्य दैनिक जीवन धान्न पनि ऋणमा डुब्नुपर्यो । सायद त्यसैले गणेशको सपना चकनाचुर भयो ।
जब सपना टुट्छ, मुटु पनि टुक्रा–टुक्रा भएको हुन्छ । त्यो फुटेको मुटुलाई कसैले हल्का चोट दिए भने पनि सम्पूर्ण जीवन नै खरानी बनाइदिने आवेग आउँदो रहेछ । सायद त्यसैले नगर प्रहरीले सबैलाई गर्ने नियमित कारबाहीले गणेशलाई भने आत्मदाह गर्न उक्साएको, जसलाई रोकिन सकिने विडम्बनापूर्ण दुर्घटना मान्न सकिन्छ ।
बाँच्न गाह्रो हुनेलाई केही राहत
गणेशको जस्तै हाम्रा प्रधानमन्त्रीकी पनि सानी छोरी छन्, जसलाई उहाँले अत्यन्तै माया गरेको सार्वजनिक रूपमै देखाउनुभएको छ । कैयौं कार्यक्रमहरूमा आफ्नी सानी छोरीलाई मक्ख परेर बोक्दै जानुहुन्छ । त्यसैले मलाई लागेको थियो, गणेशको मृत्युपछि उहाँलाई आफ्नी छोरी जस्तै उमेरकी गणेशकी छोरी जसले नाबालकमै आफ्नो बाबु गुमाउनुपर्यो, उसको माया लागेर भए पनि यो घटनालाई अत्यन्तै गम्भीरतापूर्वक लिनुहुन्छ ।
गणेशको आत्मदाहको समस्यालाई अत्यन्तै प्राथमिकतामा राखी यसको जडको समाधान खोज्नुहुन्छ जस्तो लागेको थियो ताकि फेरि अर्को नाबालक छोरीले आफ्नो युवा बुवा गुमाउन नपरोस् । तर अहिलेसम्म उहाँले त्यस्तो गरेको देखिएको छैन ।
यदि गणेशको मृत्युको कारणको जड खोतल्दै जाने हो भने यस्तो दुर्घटना भएको एउटा मुख्य कारण राज्यको प्राथमिकता सही नभएर हो कि भन्ने देखिन्छ । यो विश्लेषण केही वर्षअगाडि मैले गरेको अनुसन्धानमा आधारित छ ।
नेपालको पछिल्लो दुई दशक अवधिको मेरो अनुसन्धानले के देखाएको थियो भने राज्यको सबैभन्दा कमजोर समूह— गरिबीको रेखामुनि भएकाहरू (जसमा प्रायः सुदूर/मध्य पश्चिम र मधेशका अधिकांश दलित र जनजातिहरू छन्)— उनीहरूको जीवन सुधार्ने कार्यक्रम सरकारको प्राथमिकतामा भएन । जबकि सबैभन्दा कमजोर समूहलाई हेर्नु राज्यको सबैभन्दा प्रमुख दायित्व हो । जस्तैः भारतको उदाहरण हेर्ने हो भने पनि अत्यन्तै गरिब जनताका लागि अन्न दिने योजना छ । श्रीलंकामा पनि अत्यन्तै गरिबहरूलाई १५,००० रुपैयाँसम्मको प्याकेज दिने व्यवस्था छ ।
हाम्रोमा भने गरिबीको रेखामुनिका जनताको (जो महिनामा ६,०७५ रुपैयाँभन्दा कम मात्र खर्च गर्न सक्छन्) जीवन सुधार्न सरकारले कुनै ठोस कार्यक्रम ल्याएको छैन । अहिले यसको संख्या २०.२७ प्रतिशतमा झरेको छ, त्यसैले सजिलोका लागि गरिबीको रेखामुनिका जनतालाई यो लेखमा ‘विपन्न बीस प्रतिशत’ भनिएको छ ।
उनीहरूका लागि केही छिटपुट राहत कार्यक्रमहरू ल्याइए पनि तिनको कार्यान्वयन प्रभावकारी भएको देखिँदैन । केही वर्षअगाडि गरिबी निवारणका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गरिएको थियो, जसले निरन्तरता नै पाएन । अनुसन्धानका क्रममा मैले अन्तर्वार्ता लिएका रौतहटका एक चमारका अनुसार, प्रायः सरकारका सबै राहतहरू दलका कार्यकर्तालाई बाँडिन्थ्यो, उनीहरू त हेरेको हेर्यै हुन्थे ।
एक डोम विधुवा महिलाका अनुसार माइती भारतमा मोदी सरकारले राहतमा दिएको अन्न उनका भाइहरूले केही नेपाल पठाइदिएर मात्र उनले पेट पाल्न सकेकी थिइन् । उनलाई वर्षौंसम्म एकल महिलाले पाउने सामाजिक सुरक्षा भत्ताका बारेमा जानकारी नै गराइएन । जब उनी थाहा पाएर भत्ता लिन गइन्, पुरानो भत्ता सरकारी कर्मचारीले खाइदिए, माग्न गएको मितिदेखि मात्र उनले भत्ता पाइन् ।
हाम्रो सरकारको राहत कार्यक्रमको प्रभावकारिता कति कमजोर छ भन्ने त वृद्धभत्ताको उदाहरणले पनि देखाउँछ । जसलाई सबभन्दा बढी आवश्यक छ, उसलाई लक्षित नगरी यो सबैलाई बाँडिएको छ । ताजुबको कुरा त के छ भने, गरिब जनताको अनुहार देखाएर सरकारले अर्बौं डलर विदेशी सहायता लिन्छ । तर त्यसको फाइदा भने जसलाई सबैभन्दा आवश्यक छ, उसैलाई भएको देखिँदैन ।
यस्तो अवस्था त धेरै पढेका हाम्रो इन्जिनियर प्रधानमन्त्रीले बुझ्नु भएकै होला । त्यसैले गणेशको आत्मदाहले उहाँलाई अरू कुरा थाती राखेरै भए पनि सबैभन्दा कमजोर विपन्न बीस प्रतिशतलाई प्राथमिकतामा राख्न बाध्य बनाउँछ कि भन्ने लागेको थियो । उहाँको जिम्मेवारी गणेशको एउटा परिवारलाई राहत दिँदैमा सकिँदैन भन्ने बुझ्नुहुन्छ जस्तो लागेको थियो ।
सायद उहाँले गणेश नेपालीको नाममा विपन्न बीस प्रतिशतका लागि तुरुन्तै नै केही राहतको कार्यक्रम ल्याउनुहुन्छ भन्ने अपेक्षा थियो । किनभने गणेशको आत्मदाहले के देखाउँछ भने, विपन्न बीस प्रतिशतलाई प्रधानमन्त्रीको अहिलेको प्राथमिकताहरू— आर्थिक वृद्धि र सुशासनका सुधारको— परिणाम कुर्न धैर्य छैन । विपन्न बीस प्रतिशतलाई तत्कालै केही ठोस राहत चाहिएको छ, जसको स्रोत सरकारको प्राथमिकता भयो भने त विभिन्न ढंगमा उठ्न सकिहाल्छ ।
त्यस्तै यो घटनाले के देखाउँछ भने विपन्न बीस प्रतिशतलाई आजकल विभिन्न कारणले गर्दा बाँच्नै कठिन मात्रै होइन, मर्न बाध्य हुने अवस्था हुन थालेको छ । यदि उनीहरूलाई तुरुन्तै केही प्रभावकारी राहतको व्यवस्था नगर्ने हो भने अब नेपालको समस्या युवाहरूले विदेश जानुपर्ने बाध्यता मात्रै होइन, उनीहरूले दिनदहाडै खुलेआम आफ्नो ज्यान आफैंले लिने पनि हुन सक्छ, जुन गणेशको आत्मदाहपछि भएका अन्य आत्मदाहका घटनाहरूले पनि संकेत गरेका छन् । अन्त्यमा, हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले के बुझ्न जरुरी छ भने, बुद्धले भन्नुभएको जस्तै कहिलेकाहीं सही हुनुभन्दा दयालु हुनु बढी महत्त्वपूर्ण हुन्छ ।
