सेवाभित्र लुकेको नर्सको संघर्ष

दक्ष नर्सको निरन्तर विदेश पलायन स्वास्थ्य क्षेत्रका लागि ठूलो विडम्बना हो । वर्षौंको लगानीमा तयार पारिएका दक्ष जनशक्ति बाहिरिँदा अस्पतालमा जनशक्ति अभाव हुन्छ नै बाँकी स्वास्थ्यकर्मीमाथि पनि कार्यभार बढ्छ । अन्ततः यसको प्रत्यक्ष असर बिरामीले पाउने सेवाको गुणस्तरमा पर्छ ।

श्रावण ८, २०८३

अनिता बुढाथोकी

The Nurse's Struggle Hidden Within the Service

What you should know

रातको दुई बजे । अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप अझै कम भएको छैन । एक नर्स निरन्तर बिरामीको हेरचाहमा व्यस्त छिन्– औषधि दिने, बिरामीको अवस्था मूल्यांकन गर्ने, आफन्तलाई सान्त्वना दिने र चिकित्सकीय निर्देशन पालना गर्ने क्रममा समय कसरी बित्छ ? थाहै हुँदैन । बिरामीलाई पहिलो प्राथमिकतामा राख्दा कहिलेकाहीँ खाना खाने, पानी पिउने वा केहीबेर विश्राम गर्ने समय पनि मिल्दैन । प्रश्न उठ्छ– अरूको स्वास्थ्य हेरचाह गर्ने नर्सको स्वास्थ्यचाहिँ कसले हेरचाह गर्छ ?

नर्सिङ केवल एउटा पेसा होइन– सेवा, करुणा र मानवताप्रतिको समर्पण हो । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर करिब २९.८ मिलियन नर्स कार्यरत छन् । नर्स विश्वकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी समूह हो, जो गुणस्तरीय स्वास्थ्य सेवाको मेरुदण्ड मानिन्छन् । स्वस्थ, उत्प्रेरित र दक्ष नर्सबिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भवै हुँदैन ।

बिरामीको जिउने आशा कहिलेकाहीँ नर्सको मुस्कानले अझ बलियो बनाउँछ । तर, जीवन बचाउने ती हातले कहिलेकाहीँ आफ्ना लागि पनि केही समय खोजिरहेका हुन्छन् । अन्ततः बिरामीको मुस्कान नै नर्स सेवाको सबैभन्दा ठूलो सन्तुष्टि हो । 

अनुभवले सिकाएको यथार्थ

लामो समयदेखि नर्सका रूपमा काम गर्दै र हाल काउन्सिलिङ फिजियोलोजीमा स्नातकोत्तर अध्ययन–अनुसन्धान गर्ने क्रममा मैले नर्सको कार्य–जीवन सन्तुलन, मानसिक स्वास्थ्य र कार्य सन्तुष्टिको महत्त्व झन् नजिकैबाट बुझ्ने अवसर पाएँ । अनुसन्धानका तथ्यांकले मात्रै होइन, दैनिक कार्यअनुभवले पनि यो विषयप्रति मलाई अझ संवेदनशील बनाएको छ ।

कार्य–जीवन सन्तुलन किन आवश्यक ?

कार्य–जीवन सन्तुलन भन्नाले पेसागत जिम्मेवारी र व्यक्तिगत जीवनबीच स्वस्थ सन्तुलन कायम गर्नु हो । तर, नर्सिङ पेसामा यो सधैं सहज हुँदैन । सीमित जनशक्ति, बढ्दो बिरामीको चाप, लामो कार्यघण्टा, रातको ड्युटी र भावनात्मक जिम्मेवारीका कारण धेरै नर्सले शारीरिक तथा मानसिक थकान अनुभव गर्छन् । सबै स्वास्थ्य संस्थाको अवस्था एउटै नभए पनि केही कार्यस्थलमा अत्यधिक कार्यभारका कारण नर्सहरूको कार्य–जीवन सन्तुलन प्रभावित हुने गर्छ । यसको असर कार्यसन्तुष्टि, मानसिक स्वास्थ्य र अन्ततः बिरामीले पाउने सेवाको गुणस्तरमा पनि पर्न सक्छ ।

नर्सिङ जनशक्ति : वर्तमान अवस्था

 नर्स बिरामीको औषधि दिने व्यक्ति मात्रै होइन– बिरामीको आत्मबल बढाउने, आशा जगाउने र जीवनप्रतिको विश्वास फर्काउने शक्ति पनि हो । कहिलेकाहीँ बिरामीको अनुहारमा देखिएको मुस्कान र ‘धन्यवाद’ को एउटा शब्दले धेरै दिनको थकान बिर्साइदिन्छ ।नेपाल नर्सिङ परिषद्को पछिल्लो विवरणअनुसार, नेपालमा ८८ हजार २ सय ३२ जना रजिस्टर्ड नर्स, ३७ हजार ६ सय १ जना एएनएम तथा अन्य विशेषज्ञ नर्स र मिडवाइफसहित कुल १ लाख २८ हजार ८ सय ४० भन्दा बढी नर्सिङ जनशक्ति दर्ता छन् । तर, यीमध्ये सबै नेपालमै कार्यरत छैनन् । धेरै नर्स अध्ययन, रोजगारी तथा व्यावसायिक अवसरको खोजीमा विदेश गएका छन् भने केही अन्य क्षेत्रमा संलग्न छन् ।

स्वरोजगार नर्सहरूको आधिकारिक राष्ट्रिय तथ्यांक हालसम्म उपलब्ध छैन । यद्यपि केही नर्सले आफ्नै क्लिनिक, होम केयर, वृद्ध हेरचाह, स्वास्थ्य परामर्श तथा तालिम सेवामार्फत स्वरोजगार गर्दै स्वास्थ्य सेवामा योगदान पुर्‍याइरहेका छन् ।

नर्सलाई दुःख मात्रै कि सम्मान पनि ?

नर्सिङ दुःखको मात्रै कथा होइन, सम्मानको पनि हो । नर्स बिरामीको औषधि दिने व्यक्ति मात्रै होइन– बिरामीको आत्मबल बढाउने, आशा जगाउने र जीवनप्रतिको विश्वास फर्काउने शक्ति पनि हो । कहिलेकाहीँ बिरामीको अनुहारमा देखिएको मुस्कान र ‘धन्यवाद’ को एउटा शब्दले धेरै दिनको थकान बिर्साइदिन्छ । नर्सको आइकनका रूपमा फ्लोरिङ नाइनटिंगेल्सलाई लिइन्छ । बिरामीको दिनैभर सेवा गर्दा अनि बिरामी र उसका आफन्तले सम्मान, माया देखाउँदा अर्कै ऊर्जा प्राप्त हुन्छ । त्यही ऊर्जाले जिन्दगीभर यो पेसामा सन्तुष्टि मिल्छ । नर्स पेसासँगै सन्तुष्टि र सेवा गर्ने थलो पनि हो । नर्सले पनि आफूले सम्मान पाउने गरी काम गर्नुपर्छ । तर, कतिपय बिरामीका आफन्त नर्सका दुःख–पीडा महसुस गर्नै सक्दैनन् । 

किन विदेश पलायन हुँदै छन् नर्स ?

नेपालमा दक्ष नर्सहरूको विदेश पलायन (ब्रेन ड्रेन) स्वास्थ्य क्षेत्रका लागि गम्भीर चुनौती बन्दै गएको छ । राम्रो पारिश्रमिक, सुरक्षित कार्य वातावरण, व्यावसायिक सम्मान, करिअर विकास, उच्च शिक्षा तथा जीवनस्तर सुधारका अवसरको खोजीमा धेरै नेपाली नर्स विदेश गइरहेका छन् । अवसरको खोजी स्वाभाविक हो तर केही पाउन केही गुमाउनुपर्छ ।

श्रम बेच्न परदेशिनुको पीडा आफ्नैखाले हुन्छ । परिवार, आफ्ना मानिस, आफ्नै माटो र संस्कृतिबाट टाढा बस्नुपर्छ । चाडपर्व छुट्छन्, सन्तानको हुर्काइ प्रत्यक्ष हेर्न पाइँदैन, आमाबुबाको साथ छुट्छ । आर्थिक रूपमा केही प्राप्त भए पनि भावनात्मक रूपमा धेरै कुरा गुमाउनुपर्छ । त्यसैले विदेश पलायनको कथा केवल सफलताको कथा होइन– त्याग, संघर्ष र पीडाको पनि हो ।

तर, नेपालको सन्दर्भमा दक्ष नर्सहरूको निरन्तर विदेश पलायन स्वास्थ्य क्षेत्रका लागि ठूलो विडम्बना हो । वर्षौंको लगानीमा तयार पारिएका दक्ष जनशक्ति बाहिरिँदा अस्पतालमा जनशक्ति अभाव हुन्छ, बाँकी स्वास्थ्यकर्मीमाथि कार्यभार बढ्छ । र, अन्ततः यसको प्रत्यक्ष असर बिरामीले पाउने सेवाको गुणस्तरमा पर्छ ।

नेपालमै नर्सलाई कसरी टिकाउने ?

यस समस्याको समाधान कुनै एक पक्षबाट मात्रै सम्भव छैन । सरकार, नीति–निर्माता, अस्पताल व्यवस्थापन, नर्सिङ नेतृत्व, शैक्षिक संस्था, नर्स स्वयं र आम नागरिक– सबैको साझा भूमिका हुनुपर्छ । नर्सलाई नेपालमै टिकाइराख्न सम्मानजनक पारिश्रमिक दिनुपर्छ । कम पारिश्रमिक दिने अनि काममा धेरै लगाउने हो भने सेवा गुणस्तरीय र प्रभावकारी हुँदैन । पर्याप्त जनशक्ति, सुरक्षित कार्य वातावरण, न्यायोचित कार्यतालिका, व्यावसायिक सुरक्षा, करिअर विकासका अवसर र नियमित तालिम सुनिश्चित गर्नु जरुरी छ ।

लिडरसिप सपोर्ट र नियमित इन सर्भिस शिक्षाले नर्सहरूको क्षमता, आत्मविश्वास र सेवाको गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । साथै नर्सहरूले पनि आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ । पर्याप्त आराम, सन्तुलित आहार, नियमित व्यायाम, परिवारसँग गुणस्तरीय समय बिताउने अवसर तथा आवश्यक पर्दा मनोसामाजिक सहयोग लिनुलाई पनि व्यावसायिक जिम्मेवारीकै एक भागका रूपमा लिनुपर्छ ।

इन्टरनेसनल काउन्सिल अफ नर्स (आइक्यान) ले नर्सहरूको स्वास्थ्य र कल्याणमा गरिएको लगानीलाई सुरक्षित बिरामी र गुणस्तरीय स्वास्थ्य सेवामा गरिएको लगानीका रूपमा व्याख्या गरेको छ । नेपालमा पनि यो कडाइका साथ लागू हुनुपर्छ र प्रभावकारी नियमन हुनु जरुरी छ । नत्र यो विषय नारामै सीमित हुने अनि नर्सहरू वर्षौंसम्म पारिश्रमिक र सेवा सुविधाबाट वञ्चित हुँदै बिस्तारै पेसाबाटै पलायन हुने जोखिम छ । पछिल्ला वर्षमा नर्सिङ शिक्षामा आकर्षण देखिएको छ तर त्यसअनुसारको पारिश्रमिक नपाएको अवस्था छ । 

निजी अस्पतालमा कार्यरत नर्सहरूले नै उचित पारिश्रमिकका लागि आन्दोलन गर्नुपरेको तीतो वास्तविकता हामीसँग छ । त्यसैले नर्सहरूको कार्य–जीवन सन्तुलन व्यक्तिगत विषय मात्रै होइन– सुरक्षित बिरामी, गुणस्तरीय स्वास्थ्य सेवा र सुदृढ स्वास्थ्य प्रणालीसँग प्रत्यक्ष जोडिएको विषय हो ।

आज आवश्यकता दोषारोपणको होइन, समाधान खोज्ने सामूहिक प्रतिबद्धताको हो । नर्सहरूको सम्मान, स्वास्थ्य, कार्य–जीवन सन्तुलन र व्यावसायिक विकासमा गरिएको प्रत्येक लगानीले अन्ततः बिरामी, स्वास्थ्य संस्था र समग्र समाजलाई नै लाभ पुर्‍याउँछ ।

बिरामीको आत्मबल बढाउने, आशा जगाउने र जीवनप्रतिको विश्वास फर्काउने शक्ति नर्ससँग हुन्छ । यही सेवा, समर्पण र मानवताप्रतिको प्रतिबद्धताले नर्सिङलाई सम्मानित पेसा बनाएको हो ।

अब समय नर्सलाई विदेश धपाउने होइन, नेपालमै सम्मानका साथ टिकाउने वातावरण निर्माण गर्ने हो । किनकि नर्सलाई नेपालमै टिकाउनु भनेको केवल एउटा पेसालाई जोगाउनु होइन– देशको स्वास्थ्य प्रणाली, बिरामीको सुरक्षा र भावी पुस्ताको स्वास्थ्यको रक्षा गर्नु पनि हो ।

अनिता मनोपरामर्शकर्ता बुढाथोकी नर्सिङ अधिकृतका रूपमा नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटीमा कार्यरत छिन् ।

Link copied successfully