जंगलमा हराएका प्रश्नहरू

निकुञ्ज र स्थानीय समुदायबीच यस्तो सम्बन्ध बन्न सक्छ, जहाँ संरक्षणको अर्थ स्थानीय जीवनमाथि निषेध मात्रै नहोस् ? जंगलछेउ बस्ने मानिसका लागि सुरक्षित जीविकाका विकल्प खोज्न सकिन्छ ? स्थानीय ज्ञानलाई संरक्षण व्यवस्थापनको हिस्सा बनाउन सकिन्छ ?

श्रावण ७, २०८३

चन्द्रकिशोर

Questions Lost in the Forest

What you should know

भीमदत्त नगरपालिकाको बागफाँटामा सुक्नीदेवी चौधरीको घर छ । त्यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जछेउ नै पर्छ । घर र निकुञ्जबीच गोबरैया खोला छ । खोलाको पारि जंगल, वारि बस्ती । दुई भूगोलबीच पानी बग्छ । नक्सामा हेर्दा यी ठाउँहरू छुट्टाछुट्टै देखिन्छन् । तर, सुक्नीदेवीको जीवनमा यी कहिल्यै छुट्टाछुट्टै रहेनन् । उनको जीवन यी सबैको बीचबाट बगिरहेको छ ।

उनी जंगलछेउ बस्छिन् । जंगलको डरमा पनि । जंगलको आवश्यकतामा पनि । र, जंगलमाथि राज्यले बनाएको कानुनको छायामा पनि । यसै साताको सुरुमा एक दिउँसो उनी छोरी, बुहारी र गाउँका अरू महिलासँगै च्याउ टिप्न जंगल पसिन् । उनीहरू जम्मा १६ जना थिए । उनीहरू जंगल जित्न गएका थिएनन् । जंगलबाट केही पुट्की च्याउ र निगुरो लिएर फर्कन गएका थिए । तर, त्यो दिन जंगलले उनीहरूलाई फर्कन दिएन । उनीहरू रातभरि जंगलमा हराए । एउटा ठूलो रूखको फेदीमा बसे । पानी पर्‍यो । हात्ती कराए । सर्प र जंगली जनावरको डरले रात बित्यो । बिहान फेरि बाटो खोजे । अन्ततः गाडी चलेको आवाज सुनेर बाटो पहिल्याए । घर पुग्दा भोलिपल्ट दिउँसो भइसकेको थियो ।

यहाँनिर एकछिन पर्खिनुस् र सोच्नुस् । रात जंगलमा एकैचोटि पर्दैन । पहिले आकाशको उज्यालो पातलो हुँदै जान्छ । झाडीको हरियो रङ हराउँछ । रूखका हाँगाहरू कालो हुन थाल्छन् । मानिसहरूको अनुहार पनि बिस्तारै अँध्यारोको अनुहार जस्तै देखिन थाल्छ । सुक्नीदेवीहरूलाई साँझ परेको थाहै भएन । जंगलमा घडी हुँदैन । घाम नदेखिएपछि समयको कुनै ठेगाना हुँदैन । अनि एक्कासि कसैले भन्छ, ‘अब त अँध्यारो भइसक्यो ।’ त्यसपछि सबैले एकअर्कालाई हेर्छन् । अँध्यारो उनीहरूभन्दा पहिले जंगलमा आइपुगेको हुन्छ ।

रात परेपछि जंगलले आफ्नो अर्को रूप देखाउँछ । दिनमा देखिने रूखहरू राति आवाजमा बदलिन्छन् । कुनै हाँगा हल्लिन्छ । कुनै पात खस्छ । कतै झाडी चल्छ । टाढा कुनै चराले एक पटक आवाज निकाल्छ र चुप लाग्छ । त्यसपछि त्यो आवाजको अर्थ लगाउने काम मानिसको डरले गर्छ । सुक्नीदेवी भन्छिन्, ‘रूखको पात खस्दा पनि आङ जिरिङ्ग हुन्थ्यो ।’ पात खस्यो, तर उनीहरूका लागि त्यो केवल पात खस्नु थिएन । 

‘हात्ती हो ?,’ कोही फुसफुसायो । ‘चुप लाग,’ अर्को आवाज आयो । जंगलमा डर पनि बिस्तारै बोल्छ । उच्च स्वरमा बोले उसले आफैंलाई सुनाउँछ । त्यसैले त्यो रात डर पनि फुसफुसाइरहेको थियो । टाढा कतै हात्ती करायो । पहिले एक पटक, फेरि केही बेरपछि । त्यसपछि अर्को दिशाबाट ।

जंगल ठूलो भयो । हात्तीहरू कति टाढा थिए ? कसैलाई थाहा थिएन । तर, आवाजले दूरीको हिसाब बिगारिदिन्छ । टाढाको आवाज नजिकै जस्तो लाग्छ । नजिकको आवाज कहिलेकाहीं झन् टाढा । १६ जना महिला एउटा ठूलो रूखको फेदीमा घेरा हालेर बसे । रूख उनीहरूको घर थिएन । तर, त्यस रात रूखले घरको काम गर्‍यो । रूखले उनीहरूलाई छाता दिएन । तर, आफ्नो उपस्थिति दियो ।

झाडीभित्र सर्प थियो कि थिएन ? उनीहरूलाई थाहा थिएन । तर, अँध्यारोमा नदेखिएको हरेक चीज सर्प हुन सक्छ । हरेक पातको आवाज कुनै जनावरको आवाज हुन सक्छ । हरेक आवाजले मानिसलाई आफ्नो शरीरभित्र फर्काइदिन्छ । भाग्नु भनेको अझ गहिरो जंगलमा पुग्नु हुन सक्थ्यो । त्यसैले उनीहरू चुपचाप बसे ।

आकाश छानो भयो । भिजेको माटो भुइँ । र, एकअर्काको शरीर उनीहरूको भित्तो । कसैले ठूलो स्वरमा कुरा गरेन । कसैले अलग भएर बस्ने आँट गरेन । रातमा मानिसहरू एक्लै हुँदा डर ठूलो हुन्छ । घेरा बनाएर बस्दा डर बाँडिन्छ । जंगलमा बाटो हराउँदा मानिसहरू एकअर्कालाई घेरा हालेर बस्छन् । सायद लोकतन्त्र पनि यस्तै कुनै घेरा हो, जहाँ डर एक जनाको मात्रै रहँदैन ।

सुक्नीदेवीहरू चुपचाप बसे । पानी परिरहेको थियो– टप् । फेरि केही क्षण मौन– टप् । फेरि कुनै अज्ञात आवाज । कसैले आफ्नो घुँडा अँगालो हाल्यो । कसैले छेउमा बसेकी महिलाको हात समात्यो । कसैले आकाशतिर हेर्ने प्रयास गर्‍यो । तर, आकाश देखिँदैन्थ्यो । जंगलमा रातले आकाशलाई पनि लुकाउन सक्छ । त्यो रात उनीहरूका लागि रात थिएन । त्यो रात एउटा लामो प्रतीक्षा थियो– बिहानको प्रतीक्षा । घरको प्रतीक्षा । उज्यालोको प्रतीक्षा । कुनै बेला सुक्नीदेवीलाई लाग्यो– रात यति लामो पनि हुन्छ ? 

तर, रातको आफ्नै घडी हुन्छ । जंगलमा समय घडीले होइन, डरले नापिन्छ । उनीहरूलाई थाहा थिएन, कति बज्यो ? कति रात बित्यो ? बिहान हुन अझै कति बाँकी छ ? उनीहरूसँग केवल एउटा अनुमान थियो, ‘अब त बिहान हुनै लाग्यो होला ।’ तर, जंगलमा बिहान पनि पहिले आवाज बनेर आउँछ । पातमाथि उज्यालोको हल्का स्पर्स हुन्छ– अँध्यारो अलि पातलो हुनु र अन्ततः रूखहरूको बीचबाट आकाश फेरि देखिनु । 

त्यो बिहान उनीहरूका लागि सूर्योदयभन्दा पहिले आशा देखिएको थियो । उज्यालो हुनुअघि नै उनीहरूले घर सम्झेका थिए । ‘बन्वा म रात कसिक बितल, कना कर्रा बा’ (वनमा रात कसरी बित्यो, भन्न गाह्रो छ) । हो पनि, केही रातहरू बित्दैनन् । ती मानिसको शरीरबाट निस्किएर स्मृतिमा बस्छन् ।

र, पहिलो पटक रूखका पातबीचबाट आकाशको फिक्का रङ देखियो, जंगल त्यही जंगल थियो । हात्ती त्यही जंगलमा थिए । सर्प त्यहीं कतै थिए । बाटो अझै हराएको थियो । तर, अँध्यारो हटेको थियो । कहिलेकाहीं मानिसलाई बाटो भेटिनुभन्दा पहिले उज्यालो चाहिन्छ । त्यो बिहान सुक्नीदेवीहरूका लागि सबैभन्दा पहिले त्यही उज्यालो भेटियो । कहिलेकाहीं जंगलमा मानिसहरू हराउँदैनन्, बाटाहरू हराउँछन् । हराएकाहरूलाई बाटो चाहिएको थियो । बिहान उनीहरूको बाटो भेटियो । हामीलाई भने अझै एउटा बाटो खोज्न बाँकी छ– निकुञ्ज र बस्तीबीच होइन, राज्य र नागरिकबीचको ।

‘हमार मनै बन्वा म हेराइल बात’ (हाम्रा मान्छे जंगलमा हराए), भीमदत्त नगरपालिका–१९ का वडा अध्यक्ष जोगराज चौधरीले यही खबर सुनेपछि खोजी सुरु भएको बताए, ‘परिवारहरू आएर भने, हाम्रा मान्छे जंगलमा हराए । त्यसपछि हामी खोजीमा लाग्यौं ।’ यो वाक्य सुन्दा सामान्य लाग्छ । तर, ‘हाम्रा मान्छे’ भन्ने शब्दभित्र एउटा पूरै बस्ती छ । 

के हामी गरिबीलाई तथ्यांकबाट होइन, भान्साबाट बुझ्ने कोसिसमा छौं ? च्याउको मूल्य कति ? निगुरोले घरको कुन आवश्यकता पूरा गर्छ ? निकुञ्जछेउका मानिसको जीविकाका विकल्प कति छन् ? गरिब मानिसले जोखिम रोज्दैन । धेरै पटक ऊ विकल्पको अभाव रोज्छ । राज्यले उनीहरूलाई केवल ‘लुकीछिपी जंगल पस्ने स्थानीय’ भनेर बुझ्यो भने पनि कथा अधुरो रहन्छ । उनीहरूलाई केवल पीडित भनेर बुझ्यो भने पनि कथा अधुरो रहन्छ । उनीहरू निर्णय गर्ने, जोखिम बुझ्ने र जीवनको अर्थतन्त्र चलाउने मानिस हुन् । तर, उनीहरूको विकल्प सीमित छ । यही सीमित विकल्प नै लोकतन्त्रको प्रश्न हो, जहाँ एउटी महिला सोचिरहेकी हुन्छे– आज घरमा के पकाउने ? र, त्यही बेला राज्य सोचिरहेको हुन्छ– जंगल कसरी जोगाउने ? दुवै प्रश्नको उत्तर एकै ठाउँमा खोज्न नसकिएसम्म समस्या दोहोरिइरहन्छ ।

जंगल बचे देशको गौरव, तर जंगलछेउको परिवारले जीविका गुमाए उसको निजी समस्या– यही असमानता नै संरक्षण र नागरिकबीचको तनावको मूलमा छत्यसैले प्रश्न यो होइन– सुक्नीदेवी फेरि जंगल पस्छिन् कि पस्दिनन् ? प्रश्न यो हो– उनीहरूलाई फेरि त्यही जोखिम लिनुपर्ने अवस्था किन आउँछ ? के निकुञ्ज र स्थानीय समुदायबीच यस्तो सम्बन्ध बन्न सक्छ, जहाँ संरक्षणको अर्थ स्थानीय जीवनमाथि निषेध मात्रै नहोस् ? के जंगलछेउ बस्ने मानिसका लागि सुरक्षित जीविकाका विकल्प खोज्न सकिन्छ ? के स्थानीय ज्ञानलाई संरक्षण व्यवस्थापनको हिस्सा बनाउन सकिन्छ ? यी प्रश्नको उत्तर खोज्नुपर्नेछ ।

त्यसैले यसलाई केवल घटनाका रूपमा हेर्दा यसको ठूलो अर्थ छुट्छ । किनकि यहाँ जंगल मात्रै छैन, राज्य पनि छ । र, नागरिक पनि । र, उनीहरूबीचको सम्बन्धको एउटा पुरानो समस्या पनि । हराएकाहरूलाई खोज्न राज्यले आफ्ना सबै औपचारिक साधन परिचालन गर्‍यो । तर, सुक्नीदेवीहरू भेटिएनन् । उनीहरू आफैं बाटो खोजेर घर फर्किए । यस दृश्यमा हाम्रो समयको एउटा गहिरो विरोधाभास छ । प्रायः सोधिनुपर्ने प्रश्नहरू सोधिँदैनन् किनकि हाम्रो संरक्षण नीतिले जंगललाई केन्द्रमा राख्छ, जंगलछेउ बस्ने मानिसलाई होइन ।

उनीहरू जंगलमा मनोरन्जनका लागि गएका थिएनन्, आफ्नो सानो अर्थतन्त्रको खोजीमा गएका थिए । यो सानो अर्थतन्त्र हो । तर, गरिब मानिसको जीवनमा सानो अर्थतन्त्र नै ठूलो अर्थतन्त्र हुन्छ । हामी विकासका ठूला आयोजना गन्छौं । बजेटका ठूला अंक गन्छौं । तर, घरको भान्सामा पुग्ने एक मुट्ठी निगुरोको मूल्य गन्दैनौं । राज्यको योजना प्रायः त्यहींबाट असफल हुन थाल्छ, जहाँ नागरिकको जीवन सुरु हुन्छ ।

संरक्षणको आधुनिक भाषामा जंगललाई ‘सुरक्षित क्षेत्र’ भनिन्छ । त्यसपछि सीमा कोरिन्छ– यहाँ निकुञ्ज, त्यहाँ बस्ती, यहाँ वन्यजन्तु, त्यहाँ मानिस, यहाँ संरक्षण, त्यहाँ अतिक्रमण । तर, जीवन यति सरल रेखामा बाँचिँदैन । सुक्नीदेवीहरूको घर निकुञ्जछेउ छ । उनीहरूको जीवन जंगलबाट पूर्ण रूपमा अलग छैन । तर, कानुनले जंगल र नागरिकबीच एउटा स्पष्ट दूरी चाहन्छ । यो दूरी बनाउने प्रयास आफैंमा गलत होइन । वन्यजन्तु संरक्षण आवश्यक छ । तर, प्रश्न यो हो– संरक्षणको मूल्य कसले तिर्छ ? 

यदि जंगल जोगाउने जिम्मेवारी स्थानीय समुदायको पनि हो भने संरक्षणबाट आउने प्रतिबन्धको मूल्य पनि उनीहरूले मात्रै किन तिर्ने ? यदि जंगल राष्ट्रिय सम्पदा हो भने त्यसको संरक्षणको लाभ पनि राष्ट्रिय हुनुपर्छ । तर, धेरै पटक लाभ राष्ट्रिय हुन्छ, लागत स्थानीय । जंगल बचे देशको गौरव, तर जंगलछेउको परिवारले जीविका गुमाए उसको निजी समस्या– यही असमानता नै संरक्षण र नागरिकबीचको तनावको मूलमा छ ।

राज्य भन्छ– स्थानीयलाई जति गरे पनि रोक्न सकिँदैन । उसको सल्लाह हुन्छ, आफैं सचेत हुनुपर्छ । तर, नागरिकको प्रश्न पनि सरल छ, ‘हामी जंगलमा पस्न नपर्ने गरी बाँच्ने व्यवस्था कसले गर्ने ?’ यही प्रश्नमा जंगल र नागरिकबीचको वास्तविक सम्बन्ध भेटिन्छ । 

नागरिकलाई जंगलबाट टाढा राख्न सजिलो छ । तर, जंगलबाट टाढा राखेपछि उसको जीवन कसरी चलाउने भन्ने प्रश्न कठिन छ । राज्य प्रायः पहिलो काम गर्छ । दोस्रो काम गर्न बिर्सिन्छ । प्रतिबन्ध लगाउन सजिलो छ । विकल्प सिर्जना गर्न कठिन । त्यसैले संरक्षण नीति धेरै पटक नागरिकलाई दोषी बनाएर सफल भएको देखिन्छ, ‘तपार्इं जंगलमा पस्नुभयो, तपार्इंले नियम तोड्नुभयो, तपार्इं सचेत हुनुभएन ।’ तर, प्रश्न सोधिँदैन– तपार्इं जंगलमा जानुपर्ने अवस्था किन आयो ? अर्को बर्खामा यस्तै घटना नदोहोरियोस् भनेर के गरिँदै छ ?

जसले जंगलबाट आम्दानी गर्छ, उसले संरक्षणलाई अवसर देख्छ । जसको घरमा चुलो बाल्न समस्या छ, उसले जंगललाई जीवन देख्छ । त्यसैले प्रश्न– जंगल कसको हो ? यो कथा जंगलमा हराएका नागरिकको कथा होइन– यस्तो राज्यको हो, जो संकटमा आफ्ना सबै साधन लिएर आइपुग्छन् । तर, संकट आउनुअघि नागरिकको जीवनमा राज्यको पर्याप्त उपस्थिति हुँदैन ।

निकुञ्ज र बस्तीबीचको द्वन्द्व आजको होइन । विस्थापित र प्रभावित परिवारको दीर्घकालिक समाधान खोज्न ३२ वटा आयोग बनिसकेको भनिन्छ । आयोग बने, प्रतिवेदन बने, सिफारिस बने, सरकार बदलिए, मन्त्री बदलिए । तर, समाधान आएन । प्रभावितहरू भने सरकारैपिच्छे काठमान्डु धाइरहे । शुक्लाफाँटा आरक्ष पीडितले न्याय कहिले पाउने ?

सुक्नीदेवीहरू आखिर घर फर्किए । उनीहरूको बाटो भेटियो, तर अब राज्यले पनि एउटा बाटो खोज्नुपर्छ– जंगल र नागरिकबीचको, संरक्षण र जीविकाबीचको, कानुन र जीवनबीचको । किनकि जंगल सुरक्षित भएर मात्रै देश सुरक्षित हुँदैन, जंगलछेउ बस्ने नागरिक पनि सुरक्षित हुनुपर्छ । त्यसपछि मात्रै हामी भन्न सक्छौं– जंगल बच्यो, मानिस पनि बच्यो ।

सुक्नीदेवीहरू एक रात जंगलमा हराए । उनीहरू घर फर्किए । तर जंगल, नागरिक र राज्यबीच हराएको बाटो अझै भेटिएको छैन । राज्य भने अझै आफ्नो बाटो खोजिरहेकै छ ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully