चाहेका भए गर्न सक्ने सबै काम छाडेर डाक्टर पाण्डेले राजीखुसी एउटा असामान्य किसिमको सामान्य जीवन रोजेका थिए । त्यहाँ आस्था, व्यवहार एवं दैनिकीबीच न्यूनतम विरोधाभासका साथ बाँच्न पाउँदा उनलाई न कुनै गर्व थियो न रत्तिभर ग्लानि– बस, मस्तमौला ।
What you should know
कहिलेकाहीँ अभिव्यक्तिको सीमितता प्रस्टसँग महसुस हुने रहेछ । ‘अनि उनी मौन भए’ बाहेक देवेन्द्रराज पाण्डेको महाप्रस्थानलाई प्रस्तुत गर्ने अरू कुनै उपयुक्त वाक्य भेट्टाउन कठिन भइरहेको अवस्थामा सम्झिएको शब्द थियो ‘परम’ । शब्दकोशले परमलाई सबैभन्दा ठूलो वा सानो तथा अत्यधिक वा अत्यन्त न्यूनका रूपमा परिभाषित गर्छ । यस शब्दमा निहित अन्तर्विरोधले सामान्यलाई असाधारण र असाधारणलाई सामान्यमा परिणत गरिदिन्छ । शब्दार्थको विरोधाभासका दुवै सीमाहरू एकाकार हुन्छन्– अतिबृहत् र अतिसूक्ष्म≤ प्रचुरता र शून्यता ।
यदि यो शब्दमाथि बहस गर्न उनी जीवित हुँदा हुन् भने उनको वैज्ञानिक चेत र अनिश्वरवादी दृष्टिको संयोजनले यसैलाई अन्तिम गन्तव्य मान्थ्यो होला– अन्तरिक्ष र समय समन्वयको एउटा त्यस्तो क्षेत्र जहाँ गुरुत्वाकर्षण यतिविघ्न शक्तिशाली हुन्छ कि त्यहाँबाट कुनै पनि कण त के प्रकाशजस्तो विद्युत्–चुम्बकीय विकिरणसमेत उम्कन सक्दैन । फिर्ता आउनै नसकिने यो सिमानालाई घटना–क्षितिज (इभेन्ट होराइजन) भन्दारहेछन्≤ सुरु वा अन्त्य नभएको एउटा शून्य विन्दु– ब्ल्याक होल । र, त्यसपछि सम्भवतः उनी मुस्कुराउँदै थप्दा हुन्– ‘ती सब कुरा प्रकृतिको जिम्मा छाडिदिऊँ, हामी लोकतन्त्र र लोककल्याण सुदृढ गर्ने मुद्दाहरूतर्फ फर्किऔं ।’ सायद, यही कारणले गर्दा डाक्टर पाण्डे— कम्तीमा चार दशकदेखि सबै उमेर समूहका सहयोद्धाहरूका लागि त्यो सम्बोधन उनको सर्वनाम बन्न पुगेको थियो– अपार कौतूहल र निश्चित व्यावहारिक चासोहरूको अनौठो सन्तुलन बोकेका एक असाधारण किसिमका साधारण मानिस थिए ।
हो, डाक्टर पाण्डे ‘थिए’– भूतकालको क्रियापद । उनका बारेमा व्यक्त गरिने अनुभूति, सम्झिने प्रसंग, दोहोरिने कथा, गढिने किंवदन्ती एवं अनुहारमा मुस्कान ल्याउने उनका हास्यमिश्रित व्यंग्यहरू अब कहिल्यै नफर्किने विगत बनेका छन् । तर, उनले छोएका जीवनहरू यसरी रूपान्तरित भए कि कम्तीमा तीन पुस्ता– उनका समकालीनहरू, उनीपछिका सहयात्रीहरू र उनका नातिनातिनाको पुस्ताका साथीहरू– उनलाई सहजै बिर्सन सक्ने छैनन् । समकालीन सहकर्मीहरूका लागि उनी कम उमेरमै उत्कृष्ट उपलब्धि हासिल गर्ने पेसाकर्मी थिए । आफ्नो आस्थाका लागि अर्थ मन्त्रालयको सचिवजस्तो उच्च पद परित्याग गरेर सत्ताका विरुद्ध सडकमा ओर्लिने उनको निर्णय नोकरशाहीको स्थापित प्रचलनविपरीत दुस्साहसको प्रदर्शन थियो ।
नियम र अपवादबीच फरक नदेख्ने हुकुमी शासन व्यवस्थामा सिद्धान्तनिष्ठ प्रशासकहरूलाई समेत अन्तर्मनको आवाजविरुद्ध नियमित तवरले आदेशपालन गर्नुपर्ने बाध्यता हुने गर्दथ्यो । अन्य अनुसारकहरू (कन्फार्मिस्ट्स) भीडमा उनी भने आफैंमा एउटा अपवाद बन्ने आँट गरेका थिए । समकालीन हिन्दी मञ्चीय काव्य परम्परामा एउटा चर्चित शेर छ– ‘उसूलों पर आंच आए तो टकराना जरुरी है/जिंदा हो तो जिंदा नजर आना जरुरी है ।’ डाक्टर पाण्डे मानवीय मूल्य–मान्यता एवं लोकतान्त्रिक संस्कार प्रवर्द्धनप्रति समर्पित तीन पुस्ताका जुझारुहरूका अघोषित तर सर्वविदित अगुवा त्यत्तिकै बन्न पुगेका थिएनन् ।
पाण्डे जिउँदा मान्छे थिए, सम्झनामा त्यसरी नै भइरहनेछन् । ठूला मान्छेहरूको विगत सम्झेर आगत ठम्याउनु जोखिमपूर्ण काम हो । इतिहासको पुनर्लेखन गरिन्छ वा गराइन्छ । सालिकहरू भत्काइन्छन् । एक कालखण्डका नायकलाई समयक्रममा प्रतिनायक वा खलनायक ठहर्याउन सकिन्छ । तर, उनी ‘ठूलो’ मान्छे थिएनन्– उनको महानता नै आजीवन साधारण मानिस भइरहनुमा थियो । सायद त्यसैले उनका बारेमा लेख्न असहज महसुस हुन्छ । उनले खुकुरी नचाएनन्, बन्दुक चलाएनन्, कलकारखाना स्थापित गरेनन्, व्यापारिक घरानाको सूत्रपात गरेनन् ।
पाण्डे जिउँदा मान्छे थिए, सम्झनामा त्यसरी नै भइरहनेछन् । ठूला मान्छेहरूको विगत सम्झेर आगत ठम्याउनु जोखिमपूर्ण काम हो । इतिहासको पुनर्लेखन गरिन्छ वा गराइन्छ । सालिकहरू भत्काइन्छन् ।उनी केही समयका लागि मन्त्री भए, फेरि त्यस्तो कुनै पद ताकेर बसेनन् । सचिव भए– सायद मुख्य सचिव हुन सक्थे– तर कुरेर बसिराख्न उनको मनले मानेन । कुनै कीर्तिस्तम्भ ठड्याएनन् । पुस्तक लेखे तर आफ्ना कुरा राख्न≤ ‘बेस्टसेलर’ उत्पादन गर्नलाई होइन । जीवनको उत्तरार्धमा कविता कोरेको सत्य हो तर छन्दबद्ध शब्द थुपारेर महाकाव्य प्रकाशित गर्नेतिर लागेनन् । पाण्डेका बारेमा लेख्न बडो कठिन किन पनि हो भने उनले चाहेका भए गर्न सक्ने सबै काम छाडेर राजीखुसी एउटा यस्तो असामान्य किसिमको सामान्य जीवन रोजेका थिए, जहाँ आस्था, व्यवहार एवं दैनिकीबीच न्यूनतम विरोधाभासका साथ बाँच्न पाउँदा उनलाई न कुनै गर्व थियो न रत्तिभर ग्लानि– बस, मस्तमौला ।
पारिवारिक पृष्ठभूमि औसत नेपालीको भन्दा माथि थियो । उमेरसँगै आफन्तको दायरा संकुचित हुँदै गएको थियो । मतभेदहरू थाती राखेर बृहत् परिवारसँग जोडिइरहने उनको चरित्र भने कायम थियो । साथीभाइका लागि कस्सिने भए पनि तिनका स–साना कमजोरीहरू उनले अनदेखा गर्न सक्दैनथे । जीउ गल्दै गएपछि मनोबल केही कमजोर भए पनि हरेक बिहान आशाले ब्युँझिने आदत उनले छाडेका थिएनन् । स्वास्थ्यले साथ दिएसम्म उनी आत्मविश्वासले खटिन्थे– अरू केही गर्न नसके पनि दोस्रो र तेस्रो पुस्ताका जुझारुहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष तवरले प्रोत्साहित गर्ने उनको बानी कहिल्यै गएन ।
तर आखिर डाक्टर पाण्डे पनि मान्छे न थिए । कहिले झनक्क रिसाउने, कहिले निराश सुनिने । आफ्नो गल्तीबाट सिक्ने तर फेरि त्यस्तै गल्ती दोहोर्याउने । कहिले बुझ्नै नसकिने जिद्दी, कहिले पग्लिएर पानीसरि बन्ने लचकता । कसैको पनि जीवन सरल रेखामा हिँड्दैन, उनले भने स्वेच्छाले उकालो–ओरालोमा अनगिन्ती मोडहरू भएको चुनौतीपूर्ण जिन्दगी रोजेका थिए । उपलब्धिका केही रंगीन क्षण– सन् १९९० र सन् २००६ गरी कम्तीमा दुई सफल राजनीतिक आन्दोलनहरूमा स्वतन्त्र नागरिकहरूका तर्फबाट नेतृत्वदायी सहभागिता ।
असफल प्रयोगका पाटाहरू– आर्थिक स्वावलम्बन प्रारूप सुरु भयो, अपेक्षित गति लिन सकेन राजनीतिक दल बनाए, चलाउन सकेनन् । अलिकति हर्षित ईर्ष्या– ‘ओ खगेन्द्रजी, कति मीठो लेख्न सकेको ।’ युवा सहयोद्धाहरूको सफलतामा हर्षोल्लास– ‘भाष्कर डाक्टर भयो ।’ कहिलेकाहीँ अपार विषाद– ‘यी माओवादीहरू कति छिटो र के विधि बिग्रेका !’ कहिलेकाहीँ चट्टानजस्तै कठोर– ‘सात दलले जेसुकै भनुन्, गणतन्त्रबेगरको लोकतन्त्र अब स्वीकार्य हुन सक्दैन ।’ असामान्य भए पनि सामान्य मनुवा थिए– त्यसैले परिस्कृत परिकार, स्तरीय मद्य, सुकिलो पहिरन एवं आकर्षक पर्यटनस्थलबारे मुख बार्ने र घुमफिर गर्न नियन्त्रित गर्ने अवस्थामा पुगिसक्दा पनि मीठो मानेर कुरा गर्ने गर्थे ।
अतीतको प्रतिध्वनि
सञ्चार र समाजबीचको अन्तरसम्बन्धका अग्रणी तथा दूरदर्शी अध्येता मार्शल मक्लुहान पढिनुभन्दा धेरै उद्धृत गरिने ज्ञाता हुन् । त्यसो हुनुको कारण छ । उनका ‘माध्यम नै सन्देश हो’, ‘विश्वग्राम’ र ‘प्रत्येक समाजले आफ्ना जीवित अनुसारक र मृत विद्रोहीहरूलाई सम्मान गर्छ’ जस्ता सूक्तिहरू दैनिक कुराकानीको हिस्सा बन्न पुगेका छन् । सहकार्य गरेकाहरूले डाक्टर पाण्डेलाई उनका कमीकमजोरीहरूका साथ बुझेको हुनुपर्छ । पुस्तक र लेखलाई मुख्य माध्यम मान्ने पुस्ता डाक्टर पाण्डेलाई पढेर उनको विद्वत्ता, विज्ञता र विकाससम्बन्धी दृढ अवधारणाबाट प्रभावित भएका हुन् । (अ) सामाजिक सञ्जालका अम्मलीहरूलाई उनको प्रविधिप्रतिको उत्सुकता, क्रिकेटमा रुचि र नयाँ पुस्ताप्रतिको विश्वास आकर्षक लाग्दो हो । तर उनका बारेमा मक्लुहानको अन्तिम सूक्ति भने मेल खाँदैन– उनी अनुसारक नभई विद्रोही थिए तर सम्मान पाउन उनलाई मृत्यु पर्खनु परेन । एक पटक उनको सम्पर्कमा आएको व्यक्ति असंख्य असहमतिका बाबजुद उनको आजीवन प्रशंसक नरहेको उदाहरण कमै होला ।
पंक्तिकारले पहिलो पटक उनलाई भेटेको सन् १९८० को दशकमा हो । अर्बुद रोग निवारण संस्थाले ‘अमूल्य जीवनलाई धूवाँमा नउडाऊ’ नाराका साथ एउटा कार्यक्रम गर्ने भएको थियो । वक्ताका लागि बुद्धिजीवीहरूमध्येबाट डाक्टर पाण्डे र साहित्यकारहरूमध्ये वानिरा गिरीलाई बोलाउने प्रस्तावमा कार्यक्रमका कर्ताधर्ता वसन्त चौधरी सहमत भए । सचेतना कार्यक्रम भएर होला, पंक्तिकारले भेटेर अनुरोध गर्दा दुवै प्रस्तोता सहजै तयार भएका थिए । कार्यक्रमको निमन्त्रणा पत्र छापिएर आएपछि पुर्याउने जिम्मा पनि लिइयो । लेखकीय उत्साहका साथ कवियत्री गिरीले आफ्ना प्रस्तुतिका बुँदाहरू छलफल गरिन् ।
पुरानो बानेश्वरको आइडिएस भन्ने संस्थाको आफ्नो कार्यकक्षमा डाक्टर पाण्डेले पंक्तिकारलाई दोस्रो पटक भेट दिए । निमन्त्रणा पत्र उनको हातमा परेपछि उनले खामबाट कार्ड झिक्दै गर्दा उनको नजर कार्यक्रमको मुख्य अतिथिको शाही विशेषण–अधिराजकुमारी वा शाहजादी के हो– तिर पुगेछ । बाँकी कार्ड उनले खामबाट झिक्दै नझिकी च्यारच्यार च्यातेर झ्यालबाहिर हुत्याइदिएका थिए– ‘यो के भएको तपाईंहरूलाई ? सचेतना कार्यक्रममा पनि राजपरिवार !’ पछि त्यो प्रसंग सुनाउँदा उनको टिप्पणी थियो– ‘डस्टबिनमा फाले हुँला, झ्यालबाहिर नफाल्ने चेतना त मसँग थियो है !’
दोस्रो असहमति अझ विचित्रको छ । अनामनगरको एउटा कुनै गैससको सानो कोठामा नागरिक आन्दोलनकर्मीहरूको कचेहरी– कचकच र गन्थन बढी गरिने भएकाले बैठक भन्न मिल्दैन– बस्ने गर्थ्यो । नागरिक समाजको साटो नागरिक आन्दोलन र नेताको साटो अगुवाजस्ता शब्दहरू त्यही कचेहरीबाट पंक्तिकारको प्रस्तावमा प्रचलनमा ल्याइएका हुन् । गफगाफको सिलसिलामा एउटा अर्को प्रस्ताव गरियो– शिवरात्रिको भीडमा राजनीतिक चेतनाको कार्यक्रम पनि भयो भने सामान्यजनमा प्रजातन्त्रको सन्देश पुग्छ, धडपकडको जोखिम पनि कम हुन्छ । डाक्टर पाण्डे हाँसेका थिए– ‘आफू परियो नास्तिक, त्यस्तो कुरा दिमागमै आउँदैन ।’ उनी थिए आन्दोलनकर्मीहरूका सर्वमान्य π प्रस्ताव कार्यान्वयनमा गएन र त्यसको साटो सत्तालाई ठाडो चुनौती दिने आमसभाहरूको सिलसिला सुरु भयो ।
तेस्रो असहमति राष्ट्रपति जिमी कार्टरको सन् २००७ को भ्रमणका बेलामा भएको भेटघाटमा डाक्टर पाण्डे र पंक्तिकार सँगसँगै पर्न गएकाले एकअर्काको प्रस्तुति सुनिने नै भयो । सुटमा ठाँट्टिएर डाक्टर पाण्डेले माओवादीहरूको व्यवस्थापन, लोकतन्त्र, संविधान र विकासका चुनौतीहरूबारे आफ्ना कुरा राखे । मोटरसाइकलमा धुलाम्मे भएर अनौपचारिक पोसाकमा पुगेको पंक्तिकारलाई केही अप्ठ्यारो महसुस भए पनि मधेशको मुद्दा उठाउन कति पनि असहज लागेन । हुन त राष्ट्रपति कार्टर बदामका किसान मात्र नभएर ठूला व्यवसायी पनि थिए तर उनलाई सोधियो– ‘दक्षिणतिरका अमेरिकीहरूको जुत्तामा मैला लागेको हुन्छ भन्ने पूर्वी तटको हेपाहा आहान सुन्नु भएकै होला π’ उनले नसुनेको जस्तो टाउको हल्लाए पनि अनुहारको भावले भने केही अरू नै भनिरहेको थियो । ‘नेपालमा मधेशीहरूसँग गरिने व्यवहार त्यसभन्दा पनि खराब छ’ भन्ने अभिव्यक्ति सुनेका डाक्टर पाण्डेले सँगै बाहिरिने बेलामा छोटो टिप्पणी गरेका थिए– ‘कुरा त ठीकै होला तर उठाउने ठाउँ ठीक भएन ।’
अन्तिम असहमति सायद सन् २०१५ को १६ बुँदे षड्यन्त्रपछिको हो । उनको आकलनमा मधेशीहरूलाई बेवास्ता गर्दै गरिएको त्यो राजनीतिक सहमति आवश्यक र महत्त्वपूर्ण थियो । नाकाकस्सी सुरु भएर विवाद बल्झिँदै गएपछि त्यतिबेलासम्म माओवादीमै रहेका बाबुराम भट्टराईको व्यक्तिगत अनुरोधमा उनी पुष्पकमल दाहालकहाँ जान तयार त भए तर त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाजस्तै दाहालले पनि खस–आर्य समुदायका नृजातीय मुख्तियार खड्गप्रसाद शर्मा ओलीलाई देशको सर्वोपरि नेताका रूपमा स्वीकार गरिसकेका थिए । विवादित संविधानले मधेशी र गैरमधेशी नेपालीहरूबीच कायम रहेको गहिरो खाडललाई अझ चौडा बनाएको कुरा धेरै पछिसम्म उनी मान्न तयार थिएनन् । संशोधन भए संविधान झन् पश्चगामी हुन्छ भन्ने मान्यता स्वीकार गरे पनि पुनर्लेखनको कुरालाई उनी जोखिमपूर्ण मान्थे । लागेको कुरा प्रस्टसँग भन्ने, असहमति धैर्यका साथ सुन्ने तर आफ्नो निर्णयमा अडिग रहने उनको स्वभावले उनलाई आफ्ना आलोचकहरूबीच पनि स्वीकार्य बनाएको हुनुपर्छ ।
जरुरी विच्छेदन
आधारभूत मानवीय मूल्य एवं स्वाधीनता, समानता, बन्धुत्व, धर्मनिरपेक्षता र समन्यायजस्ता आस्थाहरूप्रति सहमतिसँग सम्बन्धित अनुभवहरूको उल्लेख किन पनि जरुरी छैन भने त्यस्ता मुद्दाहरूप्रति प्रतिबद्ध वर्चस्ववादी समुदायका थोरै व्यक्तिहरूमध्ये डाक्टर पाण्डे अग्रणी थिए । बाह्य बन्देज, बल प्रयोग र सरकारी हस्तक्षेपबाट मुक्त व्यक्तिगत स्वतन्त्रतामा आधारित परम्परागत उदारवाद सँगसँगै लैंगिक समानता एवं तिरस्कृतका लागि समावेशिता तथा बहिष्कृतका लागि संघीयताको अपरिहार्यता उनका लागि स्वीकार्य बन्दै गएको थियो । तर आफ्ना सबै अग्रगामी आस्थाका बाबजुद उनी मूलतः मध्यमार्गी थिए– सही बाटो समात्न सकियो भने ढिलै भए पनि लोकतान्त्रिक समाजवादको लक्ष्यमा पुग्न सकिने उनको विश्वास अटल थियो । त्यही प्रतीति सायद उनको अजस्र ऊर्जाको स्रोत थियो ।
सन् २००६ मा दोस्रो जनआन्दोलनमा विराम लागेपछि केही आन्दोलनकारीबीच समीक्षा बैठक भएको सम्झना छ । वामपन्थी झुकाव भएका आन्दोलनकर्मीहरू सके पार्टी खोल्ने वा कम्तीमा दलहरूसँग सत्तामा सहभागिता खोज्ने मनस्थितिमा थिए । जुझारु प्रवृत्तिका युवाहरूमा नयाँ मुद्दा उठाएर निरन्तर आन्दोलनरत रहने जोस बाँकी थियो । डाक्टर पाण्डे अलमलमा देखिन्थे । एकातिर सत्तामा भागीदारी खोज्ने हो भने नागरिक आन्दोलनको स्वतन्त्र अस्तित्व हराउँछ र अर्कोतिर रोजगारी, धारा, बत्ती र महँगीविरुद्ध निरन्तर खबरदारी गरिरहने हो भने ट्रेड युनियन र उपभोक्ता समूहजस्तै हुन पुगिन्छ भन्ने पंक्तिकारको विचार कसैले रुचाइरहेका थिएनन् । नागरिक आन्दोलनले संख्या वा लोकप्रियताभन्दा पनि पछाडि हट्न सक्ने नैतिक बलले गर्दा स्विकार्यता प्राप्त गर्छ भन्ने धारणा महात्मा गान्धी र जयप्रकाश नारायणको उदाहरणका साथ प्रस्तुत गरिएपछि डाक्टर पाण्डे र खगेन्द्र संग्रौला नागरिक स्वतन्त्रता जोखिममा पर्ने हो भने पुनः सडकमा उत्रिने संकल्पका साथ आन्दोलनलाई विराम दिन सहमत भएका थिए । निष्कर्ष न त पूर्णता हो, न त कुनै अन्त्य । निरंकुशताको आभास पाउनासाथ डाक्टर पाण्डे ओछ्यानबाटै कुर्लिन्थे खगेन्द्र दाइ अहिले पनि सडकमा उत्रिन तम्तयार रहन्छन् ।
डाक्टर पाण्डे अनिश्वरवादी भएकाले सायद उनलाई सनातन दार्शनिक परम्पराको ‘सत्यम्–शिवम्–सुन्दरम्’ भन्दा अमेरिकाको प्रगतिवादी युग (करिब सन् १८९०–१९२०) को धारणा आकर्षक लाग्दो हो । वेदान्त दर्शनको व्याख्यात्मक परम्परामा ब्रह्मको सत्यस्वरूप जब कल्याणकारी रूपमा अभिव्यक्त हुन्छ, त्यसलाई ‘शिव’ भनिन्छ र जब त्यही वास्तविकता मानव चेतनामा रस, आनन्द र सौन्दर्यका रूपमा अनुभूत हुन्छ, त्यसलाई ‘सुन्दर’ भनिन्छ । सत्यको खोज दार्शनिक, वैज्ञानिक, अनुसन्धानकर्ता तथा ऋषिमुनिहरूको कार्य हो । कलाकार, साहित्यकार, संगीतकार तथा अन्य सर्जकहरूले सुन्दरताको रचना गर्छन् । सत्य र सुन्दरले व्यक्तिलाई संवेदनशील, करुणामय र आत्मचिन्तनशील बनाउँछ । सत्यको खोज एवं सुन्दरताका लागि आराधनालाई एक थरी विशिष्टता चाहिन्छ । त्यसैले समाजका सबै मानिस न त दार्शनिक हुन्छन्, न कलाकार । सत्य र सुन्दरले पूर्णता भने शिव अर्थात् सत्कर्ममा पाउँछ । प्रत्येक व्यक्तिमा शिवत्व हासिल गर्ने सम्भावना रहेको हुन्छ ।
जुनसुकै कर्तव्यनिष्ठ व्यक्तिमा अन्ततः अद्वैत वेदान्तको ‘शिवोऽहम्’ भाव अन्तर्निहित हुन्छ । त्यस अर्थमा सदाचारी र कर्तव्यनिष्ठ भएकाले सायद डाक्टर पाण्डे कतिपय धर्मपरायण व्यक्तिभन्दा बढी ‘आस्तिक’ थिए । बिर्सनु मानवीय प्रवृत्ति हो । उनलाई सम्झिनेहरूलाई पनि नित्यकर्ममा फर्किनै पर्नेछ । तर ‘शिवोऽहम्’ हुनुको आनन्द भने कमैले भेट्टाउने गर्छन् । पर्यटनको निहुँमा काशी गइराख्थे डाक्टर पाण्डे । फागुको मदनोत्सवमा तीन पुस्ताका सहभागीहरूलाई घरमा आमन्त्रित गरेर रमाउँथे । जसरी शीतको थोपा देदीप्यमान महासागरमा विलीन हुन्छ, ‘परम’ अन्ततः परममा विलीन भए । उनका प्रशंसकहरूले आ–आफ्नो अन्तर्मनमा ‘शिव’ को खोजीभन्दा बढी उपयुक्त श्रद्धाञ्जली उनका लागि अरू केही हुन सक्दैन ।
