भाइरल सामग्री फैलाउनुअघि सत्य खोजौं

भाइरल सामग्री फैलाउनुअघि सत्य खोज्नु केवल व्यक्तिगत सावधानी होइन– सामाजिक उत्तरदायित्व र मानवीय नैतिकताको अनिवार्य अभ्यास हो 

श्रावण ६, २०८३

सुनिता गाइसी

Let's seek the truth before spreading viral content

What you should know

नेपाली समाज आधुनिकीकरणको लहरमा निकै अघि बढेको छ । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै समकालीन समाजको महत्त्वपूर्ण सामाजिक संस्था बनेको छ– सामाजिक सञ्जाल । फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम तथा अनलाइन समाचार माध्यमले सूचना आदानप्रदान, जनमत निर्माण र सार्वजनिक बहसलाई तीव्र बनाएका छन् । कतिपय मानिसले यी सञ्जाललाई सकारात्मक रूपमा प्रयोग गरी आयआर्जनको माध्यम पनि बनाएका छन् । कतिपय आफ्ना क्षमता, दक्षता र सीप प्रयोग गरी अरूको प्रेरणाका स्रोत बन्ने गरेका छन् भने कतिचाहिँ अरूको चियोचर्चा वा नकारात्मक विषय पोस्ट गरेर विवादित बन्नमै व्यस्त छन् । 

सामाजिक सञ्जालमा तस्बिर, भिडियो, आरोप वा व्यक्तिगत घटना सत्यापनबिनै भाइरल हुने प्रवृत्तिले व्यक्ति र समुदायमा गम्भीर सामाजिक, मनोवैज्ञानिक तथा नैतिक असर पारिरहेको छ । यस प्रक्रियामा महिला र पुरुष दुवै पीडित बनिरहेका छन् । त्यसैले डिजिटल सामग्रीको प्रसारलाई केवल प्रविधिको विषयका रूपमा होइन– शक्ति सम्बन्ध, लैंगिक संरचना, सामाजिक नियन्त्रण, नैतिकता र न्यायसँग सम्बन्धित समाजशास्त्रीय प्रश्नका रूपमा बुझ्नु आवश्यक छ ।

सामाजिक सञ्जालमा अपुष्ट सूचना फैलाउने, व्यक्तिगत तस्बिर वा भिडियो सार्वजनिक गर्ने र प्रमाणबिनै कसैमाथि आरोप लगाउने व्यवहारले सामाजिक एकता कमजोर बनाउँछ । यस्तो अवस्थामा व्यक्ति ‘भीडको प्रतिक्रिया’ मा सहभागी हुन्छ र आफ्ना कार्यको परिणामबारे पर्याप्त सोच्दैन, जसले सामाजिक एकता कमजोर बनाउनुका साथै समाजमा अविश्वास, डर र द्वन्द्व बढाउँछ । 

यस्ता घटनाले अप्रत्यक्ष रूपमा समाजमा नकारात्मक प्रभाव पारिरहेको छ । त्यसैले हाल शारीरिक रूपमा हेर्दा ठिकठाक देखिने मानिस भित्रभित्रै मानसिक पीडा र समस्याले रोगी बन्ने क्रम तीव्र बढेको देखिन्छ, जसले सामाजिक सम्बन्ध र रीतिथितिमा नकारात्मक असर पार्ने गरेको छ । 

मिसेल फुकोले शक्ति र सामाजिक नियन्त्रणको सम्बन्धलाई महत्त्व दिएका छन् । उनको दृष्टिकोणअनुसार, शक्ति केवल राज्य वा कानुनमा सीमित हुँदैन– परिवार, विद्यालय, सञ्चारमाध्यम र दैनिक सामाजिक व्यवहारमा पनि शक्ति सञ्चालन हुन्छ । सामाजिक सञ्जालमा मानिसले एकअर्कालाई हेर्ने, टिप्पणी गर्ने, मूल्यांकन गर्ने र सार्वजनिक रूपमा आलोचना गर्ने प्रक्रियाले आधुनिक ‘निगरानी समाज’ को रूप लिन सक्छ । कुनै एक व्यक्तिले अरू धेरै व्यक्तिको निजी र पेसागत जीवनबारे निकै चासो लिएर बस्छ– कसले के लगायो ? को कहाँ गयो ? सोसल मिडियामा के पोस्ट गर्‍यो ? त्यसमा अरूले के–के कमेन्ट गरे ? यी विषयमा ऊ बिनातलब दिनरात खटिन्छ । 

कवि मनु मञ्जिलको कविता ‘दुश्मन’ याद आउँछ । कवि भन्छन्– दुश्मनले दिनरात नभनी, भोकप्यास नभनी उनको चियोचर्चा गर्छ । त्यसैले कविले आफ्नो दुश्मनलाई कवितामार्फत धन्यवाद दिएका छन् । आजको समाज पनि यस्तै बन्दै छ । आफ्नो विषयमा भन्दा अरूको बढी चासो राख्ने, अनावश्यक तनाव लिने, शंका गर्नेजस्ता कार्य क्रमशः बढ्दै गएका छन् । सित्तैमा कसैलाई केही सहयोग नगर्ने मानिस पनि सोसल मिडियामा आएका अरूका फोटा र भिडियोबारे प्रतिक्रिया दिएर जीवनको अति महत्त्वपूर्ण समय खेर फालिरहेका देखिन्छन् । 

विशेष गरी नेपाली समाजमा महिला वा पुरुषको पोसाक, सम्बन्ध, बोल्ने शैली, रहनसहन, चालचलन र व्यक्तिगत जीवनमाथि बढी निगरानी तथा टिप्पणी हुन्छ ।  यसले शक्ति संरचनालाई पुनः उत्पादन गर्छ, जहाँ व्यक्तिको स्वतन्त्र निर्णय गर्ने कार्यमाथि सामाजिक नियन्त्रण कायम गरिन्छ । नारीवादी समाजशास्त्रीय दृष्टिकोणले डिजिटल संसारमा हुने लैंगिक असमानता बुझ्न सहयोग गर्छ । पितृसत्तात्मक समाजमा महिलाको शरीर, यौनिकता, विवाह, प्रेम सम्बन्ध र सामाजिक व्यवहारलाई पुरुषको तुलनामा बढी नियन्त्रण गर्ने प्रवृत्ति हुन्छ । कुनै महिलासँग सम्बन्धित निजी तस्बिर वा भिडियो भाइरल हुँदा उनको चरित्रमाथि प्रश्न उठाउने, दोषारोपण गर्ने र सामाजिक रूपमा बहिष्कार गर्ने व्यवहार देखिन्छ । यस्तो व्यवहारले महिलालाई न्याय खोज्न, आफ्नो अनुभव सार्वजनिक गर्न र डिजिटल माध्यममा स्वतन्त्र रूपमा सहभागी हुन कठिन बनाउँछ ।

यद्यपि डिजिटल हिंसा वा अपुष्ट आरोपको समस्या महिलामा मात्रै सीमित छैन । पुरुष पनि झूटा आरोप, काँटछाँट गरिएको भिडियो, गलत शीर्षक, अफवाह वा भीडको निर्णयका कारण पीडित भइरहेका छन् । कुनै व्यक्तिमाथि लागेको आरोप सत्य नभए पनि समाजले उसलाई नकारात्मक पहिचानका आधारमा हेर्न थाल्छ । सामाजिक सञ्जालमा फैलिएको एउटा भिडियो वा पोस्टले व्यक्तिको प्रतिष्ठा, रोजगारी, पारिवारिक सम्बन्ध र सामाजिक पहिचानमा दीर्घकालीन असर पार्न सक्छ । पछि सत्य बाहिर आए पनि डिजिटल माध्यममा फैलिएको नकारात्मक छवि हटाउन कठिन हुन्छ । 

हालै एक शिक्षा अधिकृत सम्बन्धित भएको घटेको घटना हेरौं । त्यस घटनामा को दोषी भन्ने विषयभन्दा पनि समाजमा घट्ने यस्ता घटनाले एक व्यक्तिलाई मात्रै प्रभाव पार्दैन– ऊसँग जोडिएका व्यक्ति, परिवार, नातागोता, छोराछोरी, अफिस, कार्यालय, समूह, इज्जत, प्रतिष्ठा, आर्थिक, सामाजिक, नैतिक पक्षमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यसले गर्दा उनीहरूलाई हरेक पाइला–पाइलामा समस्या हुने गर्छ ।

नेपाली सन्दर्भमा सडक दुर्घटना, घरेलु विवाद, प्रेम सम्बन्ध, वैवाहिक समस्या वा सार्वजनिक स्थानमा भएको झगडाको छोटो भिडियो भाइरल हुने घटना बढिरहेका छन् । आपत्मा परेका मानिसलाई सहयोग गर्नुको साटो ती घटनाको भिडियो खिचेर पोस्ट गर्न ती मानिस लागेका हुन्छन् । तर, नेपाली समाजको मूल्य–मान्यताले दुःख, पीडामा परेका मानिसलाई सरसहयोग गर्नुपर्छ भन्छ । 

सञ्जालमा कतिपय सामग्री पुरानो भए पनि नयाँ घटनासँग जोडेर प्रस्तुत गरिन्छ । कतिपय भिडियोमा घटनाको एउटा पक्ष मात्रै देखाइन्छ, जसले दर्शकलाई गलत निष्कर्षमा पुर्‍याउन सक्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले स्रोत, मिति, सन्दर्भ र सम्बन्धित पक्षको भनाइ नै नबुझी सामग्री सेयर गर्दा गलत सूचना फैलिन्छ । यसले ‘भीडको न्याय’ को संस्कृतिलाई बढाउँछ, जहाँ कानुनी अनुसन्धान र प्रमाणभन्दा भावनात्मक प्रतिक्रिया प्रभावशाली हुन्छ । हिजो–अस्ति मात्रै माइतीघरमा किसानले कम मूल्यको विरोधमा सित्तैमा बाँड्ने भनी गोलभेंडा ल्याए । त्यही क्रममा भीडका दुई–चार जनाले विरोध गर्दै सडकमा फाल्न थाले । र, त्यहाँ उपस्थित भीडले ल्याएका सबै गोलभेंडा सडकमै फालेर विरोध गरियो । भीडमा हुने मानिसको मानसिकताले सोचेभन्दा अर्कै परिणाम निम्त्याउने गरेको छ । 

सामाजिक सञ्जाललाई पनि आधुनिक सार्वजनिक क्षेत्रका रूपमा लिन सकिन्छ । तर, जब यो स्थान अफवाह, अपमान, घृणा र अपुष्ट आरोप फैलाउने माध्यम बन्छ, तब सार्वजनिक संवादको गुणस्तर कमजोर हुन्छ । त्यसैले डिजिटल नागरिकताले अभिव्यक्ति स्वतन्त्रतासँगै उत्तरदायित्व, तथ्य जाँच, गोपनीयताको सम्मान र मानवीय गरिमाको संरक्षणलाई पनि जोड दिनुपर्छ । नैतिक दृष्टिले प्रत्येक व्यक्तिको सम्मान, गोपनीयता र न्यायको अधिकार हुन्छ । अरूको तस्बिर, भिडियो वा निजी जानकारी अनुमतिबिना सार्वजनिक गर्नु, अपमानजनक टिप्पणी गर्नु वा प्रमाणबिना आरोप फैलाउनु नैतिक रूपमा गलत हो । स्वतन्त्र अभिव्यक्ति अरूको प्रतिष्ठा र सुरक्षामाथि आक्रमण गर्ने अधिकार होइन । विद्यालय, कलेज, परिवार, सञ्चारमाध्यम र समुदायले डिजिटल साक्षरता, मिडिया नैतिकता तथा जिम्मेवार अनलाइन व्यवहारबारे सचेतना फैलाउनु आवश्यक छ । अपराध वा हिंसासँग सम्बन्धित घटना भए सामाजिक सञ्जालमा फैसला सुनाउनुभन्दा सम्बन्धित कानुनी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ ।

त्यसैले भाइरल सामग्री क्षणिक रूपमा आकर्षक देखिए पनि त्यसले व्यक्तिको जीवनमा दीर्घकालीन असर पार्न सक्छ । महिला होस् वा पुरुष– सबैको सम्मान, गोपनीयता र न्यायको अधिकार समान हुन्छ । सत्यापनबिनै सामग्री सेयर नगर्ने, पीडितको पहिचान सुरक्षित राख्ने, प्रमाणबिना आरोप नलगाउने र तर्कपूर्ण संवाद गर्ने संस्कारले मात्रै डिजिटल समाजलाई सुरक्षित, नैतिक र न्यायपूर्ण बनाउन सक्छ । 

भाइरल सामग्री फैलाउनुअघि सत्य खोज्नु केवल व्यक्तिगत सावधानी होइन– सामाजिक उत्तरदायित्व र मानवीय नैतिकताको अनिवार्य अभ्यास हो । त्यसैले हल्लाको पछि लाग्नु हुँदैन, सत्यतथ्य बुझ्नु जरुरी हुन्छ । 

सुनिता सुनिता गाइसी ख्वप कलेजमा प्राध्यापन गर्छिन्।

Link copied successfully