जेन–जी र बीपी : दुई पुस्ताबीचको वैचारिक ‘कनेक्ट’

आजको पुस्ताले जुन स्वतन्त्रता, विद्रोह र स्वत्वको खोजी गरिरहेको छ, त्यसको सक्कली ब्लुप्रिन्ट बीपी कोइरालाकै विचार र जीवनशैलीमा भेटिन्छ

श्रावण ६, २०८३

डिला संग्रौला

Gen-G and BP: The ideological 'connect' between two generations

What you should know

हरेक वर्ष साउन ६ गते हामी बीपी कोइरालालाई सम्झिन्छौं । उनको राजनीतिक योगदान, प्रजातान्त्रिक समाजवाद र साहित्यिक उचाइको चर्चा गर्छौं । तर, आज २०८३ (सन् २०२६) को नेपालमा यो चर्चा गरिरहँदा एउटा गम्भीर प्रश्न उठ्छ, ‘के आजको नयाँ पुस्ता अर्थात् ‘जेन–जी’ का लागि बीपी सान्दर्भिक छन् ? इन्टरनेटको स्पिडमा दौडिरहेको, रिल र टिकटकका १५ सेकेन्डमा संसार नियालिरहेको र देशको अव्यवस्थाबाट विरक्तिएर ‘नो नट अगेन’ भन्दै विकल्प खोजिरहेको आजको पुस्तालाई बीपीका ठेली र पुराना भाषणले कत्तिको छुन्छ होला ? 

बाहिरबाट हेर्दा लाग्न सक्छ– जेन–जी र बीपीबीच कुनै सम्बन्धै छैन । तर, गहिरिएर हेर्ने हो भने आजको पुस्ताले जुन स्वतन्त्रता, विद्रोह र स्वत्वको खोजी गरिरहेको छ, त्यसको सक्कली ब्लुप्रिन्ट बीपी कोइरालाकै विचार र जीवनशैलीमा भेटिन्छ ।

विद्रोह र प्रश्न गर्ने आँट 

जेन–जीको ‘एट्टिच्युड’ र बीपीको स्वभाव आजको जेन–जी स्थापित संरचना, पुरातनवादी सोच र ‘हजुरबा पुस्ता’ को राजनीतिक सिन्डिकेटसँग असन्तुष्ट छ । उनीहरू प्रश्न गर्छन्, स्थापित भाष्यलाई चुनौती दिन्छन् । बीपी कोइराला आफ्नो समयका सबैभन्दा ठूला विद्रोही थिए । राणा शासनको जगजगीमा प्रजातन्त्रको बिगुल फुक्नु, राजाको निरंकुशताका अगाडि नझुक्नु र आफ्नै पार्टीभित्र पनि फरक मत राख्न सक्नु उनको विद्रोही चेत थियो । आजको पुस्ताले सामाजिक सञ्जालमा गर्ने ‘डिसरप्सन’ को राजनीतिक र वैचारिक रूप बीपीले त्यतिबेलै अभ्यास गरेका थिए । बीपी भन्थे, ‘आफ्नो निर्णय आफैं गर ।’ आजको पुस्ता पनि कसैको भारी बोक्न तयार छैन, आफ्नै बाटो हिँड्न चाहन्छ ।

‘क्रोनी क्यापिटलिज्म’ को विकल्प : प्रजातान्त्रिक समाजवाद

आजको युवा पुस्ता चरम उपभोक्तावाद र आर्थिक असमानताबाट आजित छ । एकातिर रोजगारीको अभाव छ, अर्कोतिर केही सीमित मानिसको हातमा स्रोत र साधनको केन्द्रीकरण । बीपीले दशकौंअघि नै अघि सारेको ‘प्रजातान्त्रिक समाजवाद’ को मर्म यहींनेर जोडिन्छ । बीपीले भनेका थिए, ‘नेपालको योजना बनाउँदा हलो जोत्ने किसानको अनुहार सम्झिनू ।’ आजको भाषामा भन्दा, त्यो भनेको ‘समावेशी विकास’ र सामाजिक न्याय हो । जेन–जीले खोजेको सुशासन, सबैका लागि समान अवसर र कल्याणकारी राज्यको जग बीपीको समाजवाद नै हो ।

बीपीको शैली र खुलापन

जेन–जीलाई ‘एस्थेटिक्स’ र ‘भाइब’ मनपर्छ । बीपी कोइराला केवल एक नेता थिएनन्, आफ्नो समयका सबैभन्दा ‘कुल’ र आधुनिक चेत भएका व्यक्तित्व थिए । उनको ‘काउबाय ह्याट’ लगाउने स्टाइल र विश्व साहित्यको गहिरो अध्ययनले उनलाई एक ‘ग्लोबल सिटिजन’ बनाएको थियो । उनी विचारमा कट्टर थिएनन्, ‘ओपन–माइन्डेड’ थिए । यौन, मनोविज्ञान र मानव अस्तित्वका विषयमा उनले लेखेका साहित्य आजको पुस्ताले पढ्ने हो भने उनीहरू दंग पर्नेछन् । ‘तीन घुम्ती’ की सुन्तली होस् या ‘नरेन्द्रदाइ’ को मनोविज्ञान– बीपीले समाजका बन्देजलाई त्यतिबेलै च्यातेका थिए, जुन काम आजको पुस्ताले सामाजिक सञ्जाल र कलामार्फत गरिरहेको छ ।

राष्ट्रियता र ग्लोबल आउटलुक

जेन–जीको ‘एट्टिच्युड’ र बीपीको स्वभाव आजको जेन–जी स्थापित संरचना, पुरातनवादी सोच र ‘हजुरबा पुस्ता’ को राजनीतिक सिन्डिकेटसँग असन्तुष्ट छ । उनीहरू प्रश्न गर्छन्, स्थापित भाष्यलाई चुनौती दिन्छन् । बीपी कोइराला आफ्नो समयका सबैभन्दा ठूला विद्रोही थिए । आजको नेपाली युवा ग्लोबल छ । उनीहरू विश्वभरका ट्रेन्डसँग अपडेटेड छन्, तर कता–कता आफ्नो पहिचान हराउने हो कि भन्ने चिन्ता पनि छ । बीपी कोइरालाको राष्ट्रियताको परिभाषा भूगोलमा मात्रै सीमित थिएन । उनले अन्तर्राष्ट्रिय मञ्च (जस्तैः संयुक्त राष्ट्रसंघमा) नेपालको सार्वभौमिकतालाई जसरी दृढतापूर्वक राखे, त्यो आजको पुस्ताका लागि गौरवको विषय हो । छिमेकी देशहरूसँग सन्तुलित र स्वाभिमानी सम्बन्ध राख्नुपर्छ भन्ने बीपीको अडान आजको भू–राजनीतिक अवस्थामा झन् बढी सान्दर्भिक छ ।

चुनौती कहाँ छ ?

समस्या बीपीको विचारमा होइन, बीपीको नाम बेचेर राजनीति गर्नेहरूमा छ । बीपीको तस्बिरमा माल्यार्पण गर्ने, तर उनको विचारलाई फोहोरको टोकरीमा फाल्ने प्रवृत्तिले नयाँ पुस्ता कांग्रेस र समग्र पुराना दलसँग टाढिएको हो । जेन–जीले बीपीलाई चिन्न नखोजेको होइन, उनीहरूलाई ‘बीपीका अनुयायी’ दाबी गर्नेहरूको ढोंग मन नपरेको हो । नेपाल र नेपालीका लागि बीपीले थुप्रै विचार, नीति र सिद्धान्त छाडेर गएका छन्, जुन नीति अहिले पनि उत्तिकै सान्दर्भिक छ । ती नीति अहिले लागू गर्न सकियो भने देश कायापलट हुन सक्छ । तर, बीपी कांग्रेससँग जोडिएकाले नीलो क्रान्तिको हवाला दिनेहरूलाई बीपीको विचार अप्रासंगिक लाग्न सक्छ । तर, बीपीले परिकल्पना गरेको नेपाली समाज र समाजवादको अवधारणा युगौंसम्म जीवन्त रहनेछ ।

आजको जेन–जीले बीपीलाई बन्द कोठाको तस्बिर वा इतिहासको पुस्तकको एउटा च्याप्टरका रूपमा मात्रै हेर्नु हुँदैन । बीपी त एउटा ‘आइडिया’ हुन् । स्वतन्त्रताको आइडिया, विधिको शासनको आइडिया र समाजका उत्पीडित वर्गलाई माथि उठाउने आइडिया । साउन ६ गतेको बीपी जयन्तीमा केवल पुराना संस्मरण सुनाउनुभन्दा बीपीको विद्रोही चेत, आधुनिकता र समाजवादलाई आजको डिजिटल युगको भाषामा ‘री–ब्रान्डिङ’ गर्नु जरुरी छ । जेन–जीको ऊर्जा र बीपीको भिजन मिल्ने हो भने मात्रै देशले सही दिशा समात्नेछ ।

हरेक व्यक्ति वा मानिसका लागि स्वतन्त्रता असाध्यै प्रिय हुन्छ । पिँजडाको चरीलाई जति मिठो खान खुवाएर पालनपोषण गरे पनि उसको चाहना आकाशमा स्वतन्त्र रूपमा उड्ने नै हुन्छ । त्यसैले बीपीले उसबेलादेखि मृत्युपर्यन्त भन्दै आएको ‘मानिस ब्रेडले होइन, ब्रेनले चल्ने गर्छ’ भन्ने उक्ति आजको दिनमा उत्तिकै सान्दर्भिक छ । स्वतन्त्रताकै लागि अनेकौं संघर्ष, यातना, जेल र मर्नसमेत तयार भएर गरेको स्वतन्त्रताको लडाइँ आजको लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । तर, लोकतन्त्र प्राप्तिको संघर्ष र लोकतान्त्रिक व्यवस्थाको मर्म नबुझेको आजको सत्ताले आर्थिक र मौलिक अधिकारका निम्ति प्रजातान्त्रिक समाजवादको अवधारणामाथि लात मार्ने प्रयास गरिरहेको छ । यस्तो व्यवहारले जेन–जीका लागि बीपीले परिकल्पना गरेको समाज निर्माण हुन सक्दैन ।

वास्तवमा बीपीले परिकल्पना गरेको प्रजातान्त्रिक समाजवादले कुनै पनि प्रकारको अधिनायकवाद र तानशाही सत्तालाई स्वीकार गर्दैन । त्यस्ताखाले शासनसत्ताले जनताको आधारभूत अधिकारको सम्मान गर्न र मानिसलाई खुसी तुल्याउन सक्दैन भन्नेमा बीपी प्रस्ट थिए । उनको चिन्तन, विश्लेषण र दृष्टिकोण आजको विज्ञान तथा सूचना प्रविधिले डोर्‍याएको विश्वमा झन्–झन् सान्दर्भिक बन्दै गएको छ । त्यसैले नयाँ पुस्ताले अँगालेको आधुनिक समाजको बाटोमा प्रजातान्त्रिक समाजवाद अब्बल सावित हुने देखिन्छ । यस्तो अवस्थामा अल्गोरिदम खडा गरेर विज्ञान र प्रविधिको क्षेत्रमा आएको अकल्पनीय परिवर्तनलाई आफू अनुकूल प्रयोग गर्न कुनै पनि सत्ताले सक्दैन । संसारमा अधिनायकवादी, निरंकुश, एकदलीय तानाशाही व्यवस्था पूरै असफल र असान्दर्भिक भइसकेकाले कानुन र जरिवानाको डन्डा चलाएर मानिसलाई मृत्युको मुखमा धकेल्ने निर्मम प्रयास असफल सावित हुने निश्चित छ ।

गणेश नेपाली र आजको समाज

आत्मदाह प्रयास गर्दा मुगुका गणेश नेपालीको मृत्यु भयो । उनको मृत्युपछि नेपाली समाज तरंगित छ । र, मृत्युको कारणबारे विविध कोणबाट विश्लेषण गरिँदै छ । आवेगमै आत्मदाहको बाटो रोजेको हो कि सत्तासीन वर्गले निरीह नागरिकमाथि लादेको शक्ति रवाफको परिणति हो ? यो विषयले समाज विभाजित अवस्थामा छ । यस्तो बेला बीपीले नै आदर्श मानेका भारतका महान् नेता महात्मा गान्धीको एउटा भनाइ निकै घतलाग्दो छ, ‘कुनै पनि समाजको नैतिकता र योग्यताको नाप–जाँच उसले सीमान्तकृत र निर्धाहरूलाई गर्ने व्यवहारबाट मापन हुन्छ ।’ यिनै शब्दबाट सत्ता, शक्ति र उन्मादको राजनीति छर्लङ्गै हुन्छ ।

गणेशसँगै काठमाडौं बुद्धनगरका ४५ वर्षीय अश्विन राउत र सर्लाही गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले गरेको आत्मदाहको प्रयासले सत्तासीन र नागरिकबीचको अविश्वासको खाडल थप गहिरिएको छ । पुराना सत्ताहरूप्रति गरिएको अविश्वास र कटाक्ष नयाँ सत्ताप्रति तेर्सिएको छ । आत्मदाहको शृंखला सत्तासीन वर्गले निरीह नागरिकमाथि लादेको शक्ति रवाफको परिणाम हो भनेर भन्न सक्ने आधारहरू खडा गरिदिएको छ। 

बालेन सरकारको एक सय दिनको निर्मम समीक्षा भइरहेका बेला शृंखलागत घटनाले सत्ता र शासक वर्गको संवेदनहीन गतिविधि प्रस्ट पारिदिएको पनि छ । त्यतिमात्रै होइन, बीपीले भनेजस्तै ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन’ भन्ने भाव यहींनेर चरितार्थ भएको छ । राज्यका संरचना र संयन्त्रले व्यक्तिलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि सामूहिक संकल्प गर्दै जेन–जी पुस्ताको सपना साकार गर्ने प्रण गर्नु नै बीपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

डिला प्रतिनिधिसभाकी पूर्वसदस्य डिला संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

Link copied successfully