अबको बाटो : आरोग्य पर्यटन

ज्ञानभूमि, तपोभूमि र शान्तिभूमि नेपाललाई आध्यात्मिक केन्द्र बनाई विश्वभरका पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यम हो– आरोग्य पर्यटन । नेपालको समृद्ध संस्कृति र मनोरम प्रकृति आरोग्य पर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् ।

श्रावण ५, २०८३

तारा वाग्ले

The way forward: Health tourism

What you should know

 

वर्तमान सरकार गठन भएलगत्तै तयार पारेको शासकीय सुधार कार्यसूचीमा नेपाललाई आरोग्य पर्यटनको हब बनाउने र त्यसका लागि आरोग्य पर्यटन रणनीति जारी गर्ने जनाइएको थियो । आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा लिई ‘नेपाल वेलनेल इयर–२०२७’ मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने योजना थियो ।

सो अनुरूप सरकारले पर्यटन क्षेत्रलाई नयाँ दिशामा रूपान्तरण गर्ने उद्देश्यसहित ‘राष्ट्रिय आरोग्य पर्यटन रणनीति लागू गरिसकेको छ । साथै विभिन्न पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाउने लक्ष्यसहितको खाका तयार पारेको छ । यसलाई सरकारले १ सय दिनमा भएका काममध्येको एक महत्त्वपूर्ण उपलब्धि मानेको छ । 

उक्त खाका कार्यान्वयनमा गएपछि भरपर्दो पर्यटन प्रवर्द्धन गर्न तथा आरोग्य पर्यटनको अवधारणालाई मूर्तरूप दिन सघाउ पुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको दाबी छ । यसक्रममा कोशी आसपास चतरा र बराह क्षेत्रका धार्मिक साथसाथै अन्य बहुआयामिक सम्भावनाका क्षेत्र पहिचान गर्ने काम भइसकेको छ । मन्त्रालयका अनुसार अपि, सैपाल, बडीमालिका, रारालगायतका पर्यटकीय क्षेत्रमा कस्ता पर्यटकीय पूर्वाधार र गन्तव्य बनाउने भन्ने विषय आवश्यक खाका बनाउने काम सम्पन्न भएको छ ।

सरकारले पर्वतारोहण, पदयात्रा र सांस्कृतिक भ्रमणमा केन्द्रित रहँदै आएको पर्यटन क्षेत्रलाई विविधीकरण गर्दै आरोग्य पर्यटनलाई प्राथमिकतामा राखेको छ । अहिलेसम्म्म निश्चित मौसममा मात्रै सीमित भइरहेको पर्यटन व्यवसायलाई रूपान्तरण गरी वर्षैभर चल्ने, उच्च मूल्य सिर्जना हुने र दिगो अर्थतन्त्र निर्माण–व्यवसायका रूपमा सञ्चालन गर्ने सरकारको रणनीति छ ।

यसका लागि पोखरा र अन्नपूर्ण क्षेत्रलाई ‘योग राजधानी’ र प्रकृतिमा आधारित उपचार केन्द्रका रूपमा विकास गरिने तथा हिमाल, ताल र शान्त वातावरणलाई उपचार र ध्यानको माध्यम बनाइने जनाइएको छ । लुम्बिनीलाई बुद्ध जन्मस्थलका रूपमा मात्रै नभई आध्यात्मिक आरोग्य धामका रूपमा विकास गर्ने तथा मठमा आधारित ध्यान र रिट्रिट कार्यक्रम सञ्चालन गरिने योजना छ । 

यस्ता कार्यक्रममार्फत सन् २०३० सम्म कुल पर्यटक आगमनमध्ये कम्तीमा ११ प्रतिशत आरोग्य पर्यटक बनाउने सरकारको लक्ष्य छ । सन् २०२७ लाई ‘नेपाल वेलनेल इयर–२०२७’ का रूपमा मनाउने गरी आवश्यक तयारी थालिसकेको मन्त्रालयले जनाएको छ । यस अवस्थामा आरोग्य पर्यटनमार्फत नेपालका हिमालय, मठ मन्दिर, सुन्दर प्राकृतिक धरोहर, शान्त वातावरण तथा प्राचीन ज्ञान, ध्यान योग र साधनाका पद्धतिलाई उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने अवसर हाम्रासामु छ । 

आरोग्य पर्यटन शारीरिक, मानसिक भावनात्मक तथा आध्यात्मिक तवरबाट स्वास्थ्यको संरक्षण गर्ने उद्देश्यले गरिने यात्रा हो । यसले मानिसको समग्र कल्याण, ध्यान, योग तथा आध्यात्मिकताको विकासमा सहयोग पुर्‍याउँछ । मन, मस्तिष्क, शरीर, भावना र चेतनालाई स्वस्थ राख्न सघाउँछ ।  

नेपालका सुन्दर प्राकृतिक सम्पदा, मनमोहक हिमाल, सांस्कृतिक धरोहरलगायतका स्थानलाई आरोग्य पर्यटनका रूपमा स्थापित गर्न सके नेपाल आरोग्य पर्यटनका लागि प्रमुख गन्तव्य स्थल बन्न सक्छ । यसअन्तर्गत विभिन्न विविधता झल्किने क्षेत्रहरू योग, योगा, पदयात्रा र प्राचीन खालका खानपिन पर्छन् । आरोग्यताले व्यक्तिको स्वास्थ्य रक्षा मात्रै होइन, जीवनशैलीमा सुधार ल्याउन पनि मद्दत गर्छ । अहिलेको व्यस्त र प्रतिस्पर्धी समाजमा आरोग्यताको आवश्यकता अझै बढ्दो छ । किनभने हरेक परिस्थितिमा सहजतापूर्वक अघि बढ्न हरेक व्यक्तिलाई शारीरिक तथा मानसिक स्वास्थका साथै शान्ति, आनन्द र आध्यात्मिकता जरुरी हुन्छ । यसको परिपूर्तिका लागि वर्तमान सरकारले नेपालमा रहेका शान्त र मनोरम हिमाललाई प्राचीन ध्यान परम्परा र आयुर्वेदिक ज्ञान विस्तारको गन्तव्यका रूपमा विकास गर्ने एजेन्डा ल्याएको छ ।

आरोग्य पर्यटन मानिसको स्वास्थ र साधनाका साथै मनोरञ्जन, आनन्द, शान्ति तथा आध्यात्मिकतासँग पनि जोडिएकाले यसको प्रवर्द्धनमा सरोकारवाला निकायको पूर्ण सहयोग पनि उत्तिकै जरुरी हुन्छ । 

पछिल्लो समय आरोग्य पर्यटनको क्षेत्र विस्तार हुँदै छ । सन् २०३० सम्म यसले विश्व पर्यटनको २० देखि २५ प्रतिशतसम्म हिस्सा ओगट्ने आकलन छ । आरोग्य पर्यटनको बजार तथ्यांकअनुसार, आरोग्य पर्यटनमा नेपाल १४३ देशमध्ये ९१ औं स्थानमा छ । नेपाल आरोग्यका लागि मात्रै होइन– ज्ञान, ध्यान, साधना र तपका लागि पनि पवित्र भूमि हो । नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरिने, धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रूपमा विकास गरिने सरकारको लक्ष्य छ । यसका लागि आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने सरकारको नीति, कार्यक्रममा उल्लेख छ । 

नेपालको पर्यटन भन्नेबित्तिकै विश्व समुदायमा सुन्दर हिमालहरूको दृश्यावलोकन, पदयात्रा र पर्वतारोहण तथा मठ मन्दिरको दशर्नको छवि आउँछ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न पर्वतारोहण, ट्रेकिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जीजम्प, स्काई ड्राइभिङलगायत साहसिक पर्यटन पूर्वाधार, सुरक्षा मापदण्ड र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई सुदृढ गर्दै प्रकृति, संस्कृति र समुदायमा आधारित नयाँ पर्यटन इकोसिस्टम विकास गरिने उल्लेख छ । यस्ता कार्यक्रमलाई मूर्तरूप दिने नवीन अवधारणा आरोग्य पर्यटनले समेटेको छ । 

यसअघि पनि सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम लागू गरेको थियो । आर्थिक वर्ष २०८०/८१ को बजेटले सन् २०२३ मा पर्यटक १० लाख पुर्‍याउने लक्ष्य लिएको थियो भने सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । सोही वर्ष ‘नेपाल घुमौं, नेपाल चिनौं’ अभियान चलाइएको थियो । पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतले वृद्धि गरी सन् २०३२ सम्ममा ३५ लाख पुर्‍याउने र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाइएको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य छ । यी लक्ष्य प्राप्त गर्न संस्थागत सुदृढीकरण, पूर्वाधार स्तरोन्नति, लगानी प्रवर्द्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तारका कार्य भइरहेका छन् ।

पर्यटन क्षेत्रबाट थप प्रगति हासिल गर्न पर्यटनका गतिविधिलाई निरन्तरता दिँदै आरोग्य पर्यटन विस्तार गर्नु उपयोगी हन्छ । आरोग्यतालाई अन्तर्राष्ट्रियस्तरमा पनि महत्त्वका साथ हेरिएको छ । संयुक्त राष्ट्रसंघले हरेक व्यक्तिको स्वास्थ्य, खुसी र समग्र कल्याणलाई विशेष महत्त्व दिँदै अन्तर्राष्ट्रिय आरोग्य दिवस (अप्रिल १५), विश्व ध्यान दिवस (डिसेम्बर २१) र विश्व योग दिवस (जुन २१) लाई विश्वव्यापी रूपमा मनाउन आह्वान गरेको छ । योग, ध्यान तथा आरोग्यको संयोजनबाट व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक अवस्थामा सन्तुलन आउँछ । आरोग्य भ्रमणले व्यक्तिलाई सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय कल्याणमा प्रेरित हुन सिकाउँछ । 

नेपाललाई आरोग्यताको गन्तव्य बनाउन सके आर्थिक विकास मात्रै होइन, व्यक्तिको सुस्वास्थ्य र आरोग्यता प्रवर्द्धनमा पनि टेवा पुग्छ । आरोग्य पर्यटनलाई मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण, राष्ट्रिय गौरव, जनजीविका र दीर्घकालीन विकाससँग जोड्न सरकारले अघि सारेका योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । 

नेपालको मौलिकता र पहिचान जोगाउँदै आरोग्य पर्यटनमार्फत समृद्धिको नयाँ आधार तयार पारी आधारभूत संरचना निर्माणमा पनि सरकारको चासो पुग्नुपर्छ । ज्ञानभूमि, तपोभूमि र शान्तिभूमि नेपाललाई आध्यात्मिक केन्द्र बनाई विश्वभरका पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यम हो– आरोग्य पर्यटन । नेपालको समृद्ध संस्कृति र मनोरम प्रकृति आरोग्य पर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । जबसम्म मानिसले मन स्थिर बनाउन र चित्तवृत्ति सन्तुलित राख्न सक्दैन, तबसम्म ऊ आनन्दित र आरोगी हुन सक्दैन । आरोग्यताबाटै ज्ञान र आनन्दको प्राप्ति सम्भव हुने हुँदा आरोग्य पर्यटनलाई अर्थतन्त्रसँग मात्रै होइन, आध्यात्मिकतासँग पनि जोडेर हेरिनुपर्छ ।

तारा वाग्ले पत्रकार हुन् । उनी महिला, बालबालिकाको अधिकार र सार्वजनिक प्रशासन लगायतका बिषयमा लेख्ने गर्छिन् ।

Link copied successfully