बसाइँ सर्ने चरा : जोखिम बर्ड फ्लुको

कृष्णप्रसाद भुसालको लेखजंगली चराको उपचार र नष्ट असम्भवप्रायः हुन्छ । त्यसैले घरपालुवा चराचुरुंगी तथा स्तनधारी जनावरमा बर्ड फ्लु सर्न नदिने उपाय अवलम्बन गर्नुपर्छ । संक्रमित वा मृत चराको सुरक्षित संकलन र उचित व्यवस्थापन हुनुपर्छ ।  

असार ३२, २०८३

कृष्णप्रसाद भुसाल

Migratory birds: risk of bird flu

 हिउँदमा जाडो छल्न १ सय ५० भन्दा बढी प्रजातिका हजारौं चरा नेपाल आउँछन्– रुस, चीन, मंगोलिया, युरोप, कोरिया र तिब्बती क्षेत्रबाट । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान, श्रीलंका र अफ्रिकासम्म यात्रा गर्छन् । 

यसरी बसाइँसराइ गर्ने चराहरूको यात्रा र आगमन रोचक, साहसिक र पारिस्थितिक दृष्टिले सुन्दर तथा लाभदायक मात्र हुँदैन, मानव स्वास्थ्यका लागि जोखिम निम्त्याउन सक्ने भाइरस बोक्ने माध्यम पनि हुन सक्छन् । मुख्यतः बसाइँसराइ गर्ने पानीचराहरू विशेषगरी हाँसका विभिन्न प्रजाति, सारसहरू र सिकारी चराहरू एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) भाइरसका प्रमुख प्राकृतिक भण्डार तथा वाहक मानिन्छन् । पानीचराहरूले प्रजनन गर्ने मुख्य स्थल (उत्तरी गोलार्धका साइबेरिया, उत्तरी युरोप, अलास्का र क्यानडाका सिमसार क्षेत्र) यी भाइरसको प्राकृतिक उत्पत्ति र भण्डारका क्षेत्र हुन् ।

जाडोयाम सुरु हुँदा यी चराले दक्षिणतर्फ बसाइँ सर्ने क्रममा भाइरसका विभिन्न प्रकार तथा स्वरूपलाई शरीरमा बोकेर नयाँ भौगोलिक क्षेत्रमा पुर्‍याउँछन् । त्यसपछि भाइरस स्थानीय वातावरणमा रहेका अन्य जंगली पन्छीमा र केही अवस्थामा जंगली स्तनधारी जनावरमा पनि सर्छन् । संक्रमित जंगली पन्छी तथा तिनले दूषित बनाएको वातावरणमार्फत यो भाइरस घरपालुवा कुखुरा, हाँस तथा अन्य पन्छीहरूमा फैलिन सक्छ । यस्ता संक्रमित पन्छी वा तिनको दूषित वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउने मानिसमा पनि एभियन इन्फ्लुएन्जा भाइरस सर्न सक्ने जोखिम रहन्छ । 

नेपालमा गत चैतदेखि फैलिएको एभियन इन्फ्लुएन्जा (एच–फाइभ एन–वान) को संक्रमणले हाल ११ जिल्लालाई तीव्र प्रभावित बनाएको छ । काठमाडौंस्थित केन्द्रीय चिडियाखानामा रहेका गिद्ध, लाटोकोसेरो, बकुल्ला तथा अन्य पन्छीका साथै केही मांसाहारी स्तनधारी जनावरमा समेत संक्रमण पुष्टि भएको र केहीको मृत्यु भएको समाचार सार्वजनिक भएका छन् । सयौं घर–काग मरेको जानकारी प्राप्त भए पनि अन्य जंगली चराहरू कति प्रभावित भए भन्ने यथेष्ट तथ्यांक हामीसँग छैन ।

बसाइँसराइ गरी नेपाल आएका हिउँदे आगन्तुक हाँसहरू छिटफुट रूपमा बिरामी परेको र मरेको विवरण विभिन्न क्षेत्रबाट प्राप्त भए पनि त्यसबारे समयमै पर्याप्त अध्ययन, परीक्षण तथा सम्भावित संक्रमणको निगरानी र रोकथाममा पर्याप्त ध्यान पुग्न सकेन । परिणामस्वरूप, हाँसहरू आफ्नो बासस्थान फर्किनुअघि नै संक्रमण घरपालुवा कुखुरा, हाँस तथा घर–कागमा व्यापक रूपमा फैलिएको हुन सक्ने सहजै अनुमान गर्न सकिन्छ । एभियन इन्फ्लुएन्जाबाट संक्रमित भई मरेका कुखुरा तथा अन्य पन्छी समयमै पहिचान र सुरक्षित व्यवस्थापन हुन नसक्दा केही स्थानमा खुला रूपमा फालिएको वा उचित रूपमा नष्ट नगरिएको हुन सक्छ । यस्तो अवस्थाले मानव स्वास्थ्यमा जोखिम बढाएको छ । त्यसरी मरेका चरा र अन्य जनावरको सिनो खाने गिद्ध, काग, चिलजस्ता चराहरू पनि संक्रमित हुने अनि तिनले भाइरसलाई अझ व्यापक बनाएको प्रबल सम्भावना छ । 

त्यसैले, एभियन इन्फ्लुएन्जाको संक्रमण केवल जनस्वास्थ्य, सरुवा रोग नियन्त्रण वा पशु स्वास्थ्यसँग मात्रै सम्बन्धित विषय होइन । यसको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि चरा अनुसन्धानकर्ता, चरा संरक्षणमा कार्यरत संस्था, सम्बन्धित सरकारी निकाय, कुखुरा तथा हाँस पालक व्यवसायी र कृषक, पशु स्वास्थ्यकर्मी तथा जनस्वास्थ्यकर्मीको एकीकृत र सक्रिय सहभागिता आवश्यक हुन्छ । एभियन इन्फ्लुएन्जाको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि मानव, पशु र वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा हेर्ने ‘वान हेल्थ’ अवधारणामा आधारित सहकार्यको परिकल्पना गरिएको भए पनि नेपालमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

एभियन इन्फ्लुएन्जाको सम्भावित वाहकका रूपमा बसाइँसराइ गरी आउने आगन्तुक हाँस मुख्यतः सिमसार क्षेत्रमा आश्रित भए पनि आहारको खोजीमा तिनले आसपासका कृषि भूमि पनि प्रयोग गर्ने भएकाले कृषकहरू संक्रमण फैलिन सक्ने सम्भावित जोखिमप्रति सजग रहनु आवश्यक छ । हाम्रो ध्यान प्रकोप देखिएपछि कुखुरा र सम्बन्धित सामग्रीको नष्ट र नियन्त्रणमा मात्रै देखिन्छ । पहिलो चरणमै चरा अनुसन्धानकर्ता तथा पक्षीविज्ञले जंगली चराहरूको अनुगमन, बसाइँसराइ, वितरण, पारिस्थितिकी र व्यवहारसम्बन्धी आधारभूत वैज्ञानिक जानकारीको खोज गर्नुपर्छ ।  कतै बिरामी वा मृत अवस्थामा संक्रमित चराहरू भेटे तुरुन्तै सम्बन्धित निकायसम्म सूचना पुर्‍याउनुका साथै परीक्षणमा सहयोगी भूमिका खेल्नुपर्छ । यस्तो जानकारीले रोगको सम्भावित फैलावटको निगरानी, उच्च जोखिममा रहेका चरा प्रजातिको पहिचान, तिनको संवेदनशीलताको मूल्यांकन तथा समयमै आवश्यक रोकथाम र नियन्त्रणका उपाय अवलम्बन गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउँछ । 

एभियन इन्फ्लुएन्जाको सम्भावित वाहकका रूपमा बसाइँसराइ गरी आउने आगन्तुक हाँस मुख्यतः सिमसार क्षेत्रमा आश्रित भए पनि आहारको खोजीमा तिनले आसपासका कृषि भूमि पनि प्रयोग गर्ने भएकाले कृषकहरू संक्रमण फैलिन सक्ने सम्भावित जोखिमप्रति सजग रहनु आवश्यक छ । विशेषगरी घरपालुवा हाँस र कुखुरालाई जंगली चरासँग प्रत्यक्ष सम्पर्क हुन नदिने सुरक्षाका उपाय अपनाउनु महत्त्वपूर्ण हुन्छ । 

त्यसैगरी, कुखुरापालक तथा व्यवसायीले आफू सुरक्षित हुँदै रोगका कारण मरेका कुखुरा वा अन्य पन्छीको सुरक्षित व्यवस्थापन र वैज्ञानिक ढंगले नष्ट गर्ने प्रक्रियामा विशेष ध्यान दिनुपर्छ । मरेका संक्रमित वा सम्भावित संक्रमित पन्छी खुला स्थानमा फालिँदा संक्रमण अन्य मांसाहारी जनावर तथा सिनो खाने गिद्धजस्ता चरा र मान्छेमा पनि फैलिने जोखिम हुन्छ । लोपोन्मुख गिद्धहरूको संरक्षणका लागि सुरक्षित आहार उपलब्ध गराउने उद्देश्यले सञ्चालित जटायु रेस्टुरेन्टहरू पनि एभियन इन्फ्लुएन्जाको उच्च जोखिमका क्षेत्र हुन् । किनकि विभिन्न प्रजातिका गिद्धले एकै स्थानमा सामूहिक रूपमा सिनो खाने तथा काग र चिलहरू पनि सहभागी हुने हुँदा संक्रमण एकै पटक धेरै प्रजातिमा फैलिन सक्ने जोखिम रहन्छ । सन् २०१९ मा नवलपरासीको कावासोतीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रमा बिरामी अवस्थामा उद्धार गरिएका दुर्लभ डंगर गिद्धको तीन वटा नमुनामा एभियन इन्फ्लुएन्जाको संक्रमण देखिएको थियो । त्यसैले गिद्ध संरक्षणमा कोसेढुंगा सावित भएका जटायु रेस्टुरेन्टहरूमा पनि कडा जैविक सुरक्षा व्यवस्था तथा रोग निगरानीका प्रभावकारी उपाय अनिवार्य रूपमा अवलम्बन गर्नु आवश्यक छ । 

चराहरूको अवैध व्यापार तथा ओसारपसारका क्रममा जंगली र घरपालुवा पन्छीसँगै मानिसबीच पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क हुने सम्भावना बढी हुन्छ । यस्तो सम्पर्कले एभियन इन्फ्लुएन्जालगायत अन्य संक्रामक रोग फैलिन सक्ने जोखिम बढाउने भएकाले चराहरूको अवैध व्यापार तथा ओसारपसारलाई नियन्त्रण गर्नुपर्छ । चिडियाखानामा पनि यस रोगको संक्रमण र फैलावटको जोखिम उच्च रहन्छ । विशेषगरी देशभरका सामुदायिक वन तथा अन्य क्षेत्रमा स्थानीयस्तरमा सञ्चालन गरिएका साना चिडियाखाना, पार्क तथा वन्यजन्तु उद्धार केन्द्रमा विभिन्न प्रजातिका चरा, अन्य वन्यजन्तु र मानिसबीच निकट सम्पर्क हुने भएकाले संक्रमण फैलिन सक्ने जोखिम अझ बढी रहन्छ । त्यसैले यस्ता स्थानमा नियमित रोग निगरानी, जैविक सुरक्षाका उपायको कडाइका साथ पालना, संक्रमित वा शंकास्पद जनावर तथा पन्छीको समयमै परीक्षण, सुरक्षित व्यवस्थापन र प्रभावकारी रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नु अत्यन्त आवश्यक छ । 

स्वभाविक रूपमा जंगली चराहरू एभियन इन्फ्लुएन्जा भाइरसबाट संक्रमित भए पनि उनीहरू सामान्यतया घरपालुवा, चिडियाखाना वा उद्धार केन्द्रमा राखिएका चरा तथा अन्य वन्यजन्तुजस्तो रोगप्रति अत्यधिक संवेदनशील हुादैनन् । त्यसैले रोगका कुनै लक्षण नदेखिएका जंगली चराहरूले समेत संक्रमण फैलाउन सक्ने भएकाले जंगली चराहरू र घरपालुवा जनावरबीच प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क हुन नदिने कडा सुरक्षाका उपाय अपनाउनुपर्छ । साथै, घर–कागजस्ता तीव्र सहरीकरणसाग अनुकूलित भई मानिस नजिक बसोबास गर्ने चराका कारण संक्रमणको जोखिम बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनु आवश्यक छ ।

जंगली चराहरूको उपचार र समूहमा नष्ट असम्भवप्रायः हुन्छ । त्यसैले भाइरसलाई घरपालुवा चराचुरुंगी तथा स्तनधारी जनावरमा सर्न नदिने उपाय अवलम्बन गर्नुपर्छ । र, संक्रमित वा मृत चराको सुरक्षित संकलन अनि उचित व्यवस्थापन हुनुपर्छ । विशेषगरी हिउँदयाममा सिमसार क्षेत्रमा बसाइँ सरी आउने चराहरूको नियमित निगरानी, परीक्षण, बासस्थानको उचित व्यवस्थापन तथा भाइरसलाई अन्य जनावरमा सर्न नदिन ध्यान केन्द्रित गर्नुपर्छ ।

कृष्णप्रसाद

Link copied successfully