दुतेर्तेको पाठ : सामाजिक सञ्जालले जन्माउने दुर्घटना

दुतेर्तेजस्ता पात्रको उदयको श्रेय सामाजिक सञ्जाललाई जान्छ । उनीहरूले भीडलाई अल्गोरिदमको सहारामा एकोहोर्‍याउन सफल भए । जसकारण, उनीहरूले सार्वजनिक रूपमा कुनै अराजक अभिव्यक्ति दिए भने पनि समाजले विरोध नगर्ने वा उक्त अभिव्यक्तिको बचाउ गर्ने अवस्था सिर्जना भयो । तर यसरी उदाएका ‘नायक’ ले अन्ततः समाजलाई पुर्‍याउने संकटमै हो ।

असार ३१, २०८३

नवीन तिवारी

Duterte's lesson: The disaster that social media can cause

सन् २०१६ मा फिलिपिन्सको राष्ट्रपति बन्नुअघि रोड्रिगो दुतेर्ते करिब २२ वर्ष दावाओ सहरका मेयर थिए । त्यतिबेला उनले ‘दावाओ डेथ स्क्वाड’ सञ्चालन गरेको आरोप छ । ह्युमन राइट्स वाच र फिलिपिन्स कमिसन अन ह्युमन राइट्सका अनुसार उक्त स्क्वाडले करिब १४०० नागरिकको हत्या गरेको थियो । ड्रग कार्टेलिङको आरोप र शंकाको भरमा सडक बालबालिका, सानातिना अपराधमा संलग्न पात्र र लागूऔषध कारोबारका आरोपितलाई सफाया गरिएको थियो । उनै दुतेर्ते २०१६ मा राष्ट्रपतीय चुनावमा विजय भएका थिए ।

राष्ट्रपतिमा दुतेर्तेको उदयका केही पक्ष उल्लेखनीय छन् । राष्ट्रपतिका रूपमा उदाउन सामाजिक सञ्जाललाई उनले चतुर्‍याइँपूर्वक प्रयोग गरेका थिए । पिटर पोमेरान्ट्सेभको पुस्तक ‘दिस इज नट प्रोपोगान्डा’ का अनुसार दुतेर्ते आफूलाई राजनीतिक रूपमा बाहिरिया भन्ने गर्थे । अर्थात्, फिलिपिन्समा मार्कोस र अकिनो परिवारले दशकौं लामो शासन गरेका भए पनि उनी ती परिवारबाट थिएनन् । उनले आफू मेयर हुँदा गराएको गैरन्यायिक हत्यालाई राष्ट्रपतीय निर्वाचनको प्रचार सामग्री बनाए । उनका एक सहयोगीले देशका विभिन्न सहरमा फेसबुक ग्रुप बनाए । त्यसलाई स्थानीय भाषामै छलफल गर्ने थलो बनाइयो । करिब ६ महिनामा हरेक ग्रुपमा एक लाख जति सदस्य पुर्‍याइयो । त्यसपछि त्यसका एडमिनले हरेक दिन अपराधका कुनै घटना पोस्ट गर्न थाले । घटना त सत्य नै हुन्थे तर एडमिनले ‘त्यो अपराधी ड्रग डिलर हो’ जस्ता विषय थपिदिन्थे ।

मारिया रेसा र उनको अनलाइन पत्रिका ‘र्‍याप्लर’ ले पनि दुतेर्तेलाई चुनावमा सहयोग गरेका थिए । र्‍याप्लरले नै फेसबुकमा राष्ट्रपतीय संवाद आयोजना गरेको थियो, जसमा दुतेर्ते पनि सामेल भएका थिए । यद्यपि, दुतेर्तेले टीभीको कुनै महिला रिपोर्टरलाई सिटी बजाएको प्रकरणले र्‍याप्लर र दुतेर्तेको सम्बन्धमा खटपटी सुरु भयो । र्‍याप्लरले दुतेर्तेले गरेको गैरन्यायिक हत्याका विषयमा रिपोर्टिङ गर्न थाल्यो । त्यसलगत्तै दुतेर्तेका समर्थकले ‘अनफलो र्‍याप्लर’ र ‘अनफलो मारिया रेसा’ को ह्यासट्यागको अभियान नै चलाए ।

दुतेर्तेलाई आफूले गरेको गैरन्यायिक हत्याबारे कहिल्यै ग्लानि भएन । बरु बचाउ नै गर्थे । मेयर छँदा केन्द्र सरकारको आलोचना र अवज्ञा गर्थे ।दुतेर्तेलाई आफूले गरेको गैरन्यायिक हत्याबारे कहिल्यै ग्लानि भएन । बरु बचाउ नै गर्थे । मेयर छँदा केन्द्र सरकारको आलोचना र अवज्ञा गर्थे । स्थानीय प्रशासकले केन्द्रको अधीनभन्दा स्वायत्त ढंगले चल्न पाउनुपर्छ भनेर केन्द्रलाई दबाब दिने गर्थे । दुतेर्ते सार्वजनिक रूपमै आफ्ना विरोधीलाई मुख छाड्थे ।

राष्ट्रपति भएपछि उनले ‘वार अन ड्रग’ सुरु गरेका थिए । ‘आर्म्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डाटा प्रोजेक्ट’ को रिपोर्टअनुसार दुतेर्तेको कार्यकालको अन्त्य (२०२२) हुँदासम्ममा दुतेर्ते प्रशासन स्वयंले निकालेको रिपोर्टमा ६,२५२ जनाको हत्या भएको भनिएको थियो । तर इन्टरनेसनल क्रिमिनल कोर्ट (आईसीसी) ले उद्धरणमा ल्याएका अन्य मानवअधिकार संस्थाका अनुसार ३०,००० नागरिकको हत्या भएको थियो । हत्या हुनेहरूमा धेरैजसो सहरी क्षेत्रका गरिब थिए ।

सामाजिक सञ्जालबाट तयार गरिएको लोकप्रियताका आधारमा नेपालमा पनि व्यक्तिको लोकप्रियता चुलिने र त्यसैका आधारमा निर्वाचित हुने स्थिति देखिएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका वालेन्द्र शाहको लोकप्रियता मुख्यतः सामाजिक सञ्जालजस्ता भर्चुअल माध्यमबाटै विस्तारित भएको हो । उनलाई समर्थन गर्ने सामाजिक सञ्जालका ग्रुप तथा पेजले ‘पुराना दल तथा नेता भ्रष्ट हुन्’ भन्ने स्थापित गर्न भूमिका खेलेका थिए । उनीहरू धेरै हदसम्म सफल पनि भए ।

चुनावअघि प्रशस्तै अन्तर्वार्ता दिएका उनले त्यसपछि भने संवादको मूल माध्यम सामाजिक सञ्जाललाई नै बनाउने गरेका छन् । श्रीमती चढेको गाडीलाई प्रहरीले सोधपुछका लागि रोक्दा उनले फेसबुकमार्फत नै ‘सिंहदरबार जलाउने’ अभिव्यक्ति दिन पुगे । कूटनीतिक मर्यादाविपरीत विभिन्न देशलाई गाली गर्दै स्टाटस लेखे । असहमतलाई टुकुचामा गाड्नेदेखि नयाँ पुराना सबै नेतालाई चोर भन्नेसम्मको काम सामाजिक सञ्जालबाटै गरे । मेयर रहँदा फुटपाथ व्यवसायीलाई लखेट्ने र सुकुमवासीमाथि झम्टिने काम गरे । संघीय सरकारसँग पनि जुधिरहे । त्यसो त उनी मेयर बन्नुअघि नै उनले गरेको झन्डाको दुरुपयोगको समाचार बनाउँदा समर्थकद्वारा ‘अनफलो अनलाइन खबर’ अभियान नै चलाइएको थियो ।

जेन–जी आन्दोलनपछि २१ फागुनको निर्वाचनअघि उनी रास्वपा प्रवेश गरे । सामाजिक सञ्जालमा उनले काठमाडौंमा निकै राम्रा काम गरेको र देश पनि त्यसैगरी बनाउने सन्देश प्रवाह भएको थियो । सामाजिक सञ्जालको लहर गाउँ–गाउँसम्म पुग्यो । अन्ततः रास्वपा र शाहले उत्साहजनक जित हात पारे ।

प्रधानमन्त्री भएपछि शाहको प्रारम्भिक लक्ष्य नै सुकुमवासीमाथिको प्रहार हुन पुग्यो । बाढीबाट जोगाउने तर्क गरेर उनले सुकुमवासीमाथि राज्य आतंक सिर्जना गरेका थिए । तर उनले कमजोर व्यवस्थापनसहित होल्डिङ सेन्टरमा राखेका सुकुमवासी बाढी र डुबानबाटै पीडित हुन पुगे ।

समग्रमा भन्दा समाजको समस्याको कुनै एक व्यक्तिको चामत्कारिक उदयले हुँदैन । सन् २०२४ मा अर्थशास्त्रमा नोबेल पुरस्कार जितेका साइमोन जोनसोन, जेम्स ए रबिनसन र ड्यारोन एसिमोग्लुको कथन छ– समाजमा प्रगति हुन संस्थाको विकास हुन जरुरी छ । जुन समाजले संस्था विकासमा जोड दिएको छ, त्यसको लोकतन्त्र मजबुत रहन्छ र त्यस्तो समाजले नै चाँडो फड्को मार्छ । भेनेजुएलामा ह्युगो चावेजको उदय पनि त्यस्तै चामत्कारिक पात्रका रूपमा भएको थियो । सत्तामा रहँदा उनले पनि असीमित शक्ति हातमा लिएर बसे । संस्था विकासमा कमै जोड दिए । उनको अन्त्यसँगै अन्ततः भेनेजुएला गहिरो संकटमा पर्न गयो ।

माथि उल्लिखित पात्रहरूको उदय त्यहाँ संस्थाहरू कमजोर भएरै भएको भन्नमा कुनै सन्देह नहोला । शोशना जुबोफले उनको चर्चित पुस्तक ‘द एज अफ सर्भिलेन्स क्यापिटलिज्म’ मा भनेकी छन्, ‘यदि तपाईंले कुनै उत्पादनको मूल्य तिर्नुभएको छैन भने तपाईं आफैं एक उत्पादन हो ।’ जुबोफले सामाजिक सञ्जालले मानिसलाई गरिरहेको ‘म्यानिपुलेट’ लाई प्रस्ट पार्न उक्त धारणा राखेकी हुन् ।

यहाँ चर्चा गरिएका दुतेर्तेलगायतका पात्रको उदय पारम्परिक नेताहरूको भन्दा फरक छ, जसको श्रेय सामाजिक सञ्जाललाई जान्छ । उनीहरूले भीडलाई अल्गोरिदमको सहारामा एकोहोर्‍याउन सफल भए । जसकारण, उनीहरूले सार्वजनिक रूपमा कुनै अराजक अभिव्यक्ति दिए भने पनि समाजले विरोध नगर्ने वा उक्त अभिव्यक्तिको बचाउ गर्ने अवस्था सिर्जना भयो । तर यसरी उदाएका ‘नायक’ ले अन्ततः समाजलाई पुर्‍याउने संकटमै हो भन्ने विषय बिर्सिनु हुँदैन । समाज कुनै एक चामत्कारिक पात्रको उदयले प्रगतितर्फ जाने होइन । त्यसका लागि सबै संस्थाहरूको आ–आफ्नो भूमिका रहेको हुन्छ । त्यसैले समाजले जहिले पनि संस्थाहरूलाई बलियो बनाउनेतर्फ जोड दिनुपर्छ ।

नवीन तिवारी राजनीतिक दर्शनका अध्येता हुन् ।

Link copied successfully