दैनिक जीवनबाटै राजनीति सिक्छन् बालबालिका

बालबालिकाहरू राजनीतिको प्राविधिक भाषा नबोल्न सक्छन् तर उनीहरूमा राजनीतिक सचेतता विकसित भइसकेको हुन्छ । ती सार्वजनिक समस्या देख्छन्, त्यसबारे चिन्ता गर्छन् र आफ्नो कल्पनामा समाधान पनि खोज्छन् । बालबालिका राजनीतिबाट अलग छन् भन्ने सोच वास्तविकतासँग मेल खाँदैन ।

असार ३१, २०८३

मीनबहादुर विष्ट

Children learn politics through everyday life.

हामीमध्ये धेरै राजनीति वयस्कको विषय हो भन्ने विश्वास गर्छौं । बालबालिकाहरू सरकार, निर्वाचन, लोकतन्त्र, सार्वजनिक नीति वा नागरिकताजस्ता विषय बुझ्न निकै साना हुन्छन् भन्ने हाम्रो सामान्य धारणा छ । त्यसैले विद्यालयमा पनि नागरिक शिक्षाको औपचारिक सुरुआत प्रायः किशोरावस्थापछि मात्रै गरिन्छ । त्यसभन्दा अघि बाल्यावस्थालाई खेल्ने, सिक्ने र निरन्तर सिकाइको आधारशिला विकास गर्ने चरणका रूपमा मात्रै हेरिन्छ ।

बाल्यावस्थाको नयाँ भाष्य : सक्रिय सामाजिक पात्र

तर, पछिल्ला तीन दशकयता बाल्यावस्था अध्ययन तथा विभिन्न विधामा गरिएका  अनुसन्धानले यस धारणालाई गम्भीर रूपमा चुनौती दिएका छन् । अहिले बढ्दो संख्यामा विद्वान्हरूले बालबालिकालाई वयस्कबाट ज्ञान ग्रहण गर्ने निष्क्रिय पात्रका रूपमा होइन, आफ्नै अनुभवका आधारमा समाज बुझ्ने, व्याख्या गर्ने र त्यसबारे धारणा बनाउने सक्रिय सामाजिक पात्रका रूपमा हेर्न थालेका छन् । उनीहरूले मतदान गर्ने उमेर पुग्नुअघि नै अधिकार, न्याय, असमानता, जिम्मेवारी र सार्वजनिक हितका विषयमा सोच्न सुरु गरिसकेका हुन्छन् । उनीहरूको राजनीतिक सोच वयस्कहरूको भाषामा व्यक्त नहुन सक्छ तर त्यसको सार र मर्म राजनीतिक नै हुन्छ ।

यस नयाँ दृष्टिकोणको बौद्धिक आधार सन् १९९० मा एलिसन जेम्स र एलन प्राउटले प्रकाशित गरेको पुस्तक ‘कन्स्ट्रक्टिङ एन्ड रिकन्स्ट्रक्टिङ चाइल्डहुड’ बाट सुरु भएको मानिन्छ । उनीहरूले बाल्यावस्थालाई केवल जैविक विकासको चरण मात्रै नभई समाजले निर्माण गर्ने सांस्कृतिक र सामाजिक अनुभवका रूपमा व्याख्या गरे । उनीहरूको तर्क थियो– बालबालिका केवल ‘भोलिका नागरिक’ होइनन्, आजका पनि सामाजिक सदस्य हुन्, जसका विचार र अनुभवलाई गम्भीरतापूर्वक लिनुपर्छ ।

यस विचारलाई विलियम कोर्सारोले आफ्नो प्रसिद्ध ‘व्याख्यात्मक पुनरुत्पादन’ को अवधारणामार्फत अझ विकसित गरे । उनका अनुसार, बालबालिकाले वयस्कहरूको मूल्य र संस्कृतिलाई जस्ताको तस्तै ग्रहण गर्दैनन् । उनीहरूले खेल, साथीभाइ, परिवार र विद्यालयका अनुभवबाट त्यसलाई आफ्नै तरिकाले व्याख्या गर्छन्, पुनर्निर्माण गर्छन् र नयाँ अर्थ दिन्छन् । त्यसैले बाल्यावस्था भविष्यको नागरिक बन्ने तयारी मात्रै होइन, नागरिक चेतनाको विकास हुने सक्रिय चरण पनि हो ।

मानवशास्त्री डेभिड ल्यान्सीले आफ्नो पुस्तक ‘द एन्थ्रोपोलोजी अफ चाइल्डहुड’ मा संसारका विभिन्न समाजको अध्ययन गर्दै बाल्यावस्थाको अनुभव सबै ठाउँमा समान नहुने देखाएका छन् । धेरै समाजमा बालबालिकाले सानैदेखि परिवार, समुदाय र उत्पादन प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्, जसले बालबालिका स्वभावतः सामाजिक रूपमा निष्क्रिय हुन्छन् भन्ने धारणालाई कमजोर बनाउँछ ।

उटलरको अनुसन्धान : चित्रमार्फत राजनीतिको खोजी

यिनै बौद्धिक बहसबीच नर्वेली अनुसन्धानकर्ता स्टिने जोहान्सेन उटलरले एउटा अत्यन्त रोचक अनुसन्धान गरिन् । हालै (२०२६) ‘जर्नल अफ चाइल्डहुड, एजुकेसन एन्ड सोसाइटी’ मा प्रकाशित उनको अध्ययन ‘यदि म प्रधानमन्त्री भएँ भने’ :  साना बालबालिकाका चित्रहरूमा राजनीतिक सचेतता’ ले एउटा साधारण तर गहिरो प्रश्न उठाएको छ– के साना बालबालिकाले पनि राजनीतिक रूपमा सोच्न सक्छन् ?

यस प्रश्नको उत्तर खोज्न उनले नर्वेका ६ देखि ९ वर्ष उमेरका करिब दुई सय बालबालिकालाई एउटा मात्रै प्रश्न सोधिन्, ‘यदि तिमी एक दिनका लागि प्रधानमन्त्री भयौ भने के निर्णय गर्थ्यौ ?’ यस अध्ययनको सबैभन्दा रोचक पक्ष यसको कार्यविधि थियो । सामान्यतया अनुसन्धानकर्ताहरू बालबालिकासँग अन्तर्वार्ता लिन्छन् वा प्रश्नावली भराउँछन् । तर, उटलरले त्यस्तो गरिनन् । उनले बालबालिकालाई आफ्ना उत्तर चित्रमार्फत व्यक्त गर्न आग्रह गरिन् । 

विकासात्मक मनोविज्ञानका अनुसन्धानहरूले लामो समयदेखि के देखाउँदै आएका छन् भने साना बालबालिकाले धेरै जटिल विचारहरू शब्दभन्दा पहिले चित्रमार्फत व्यक्त गर्न सक्छन् । चित्र उनीहरूका लागि केवल कला होइन– सोच, भावना, मूल्य र कल्पना शक्तिको अभिव्यक्ति पनि हो । त्यसैले उटलरले चित्रलाई बालबालिकाको राजनीतिक सोच बुझ्ने एउटा वैकल्पिक अनुसन्धान उपकरणका रूपमा प्रयोग गरिन् ।

मतदान गर्ने उमेर पुग्नुभन्दा धेरै पहिले नै बालबालिकाले न्याय, समानता, जिम्मेवारी, नेतृत्व र साझा हितबारे सोच्न थालिसकेका हुन्छन्। बालबालिका राजनीतिबाट अलग छन् भन्ने सोच वास्तविकतासँग मेल खाँदैन ।अनुसन्धानको नतिजा आश्चर्यजनक थियो । कतिपय बालबालिकाले प्रधानमन्त्री बनेपछि आफूले मज्जासँग आइसक्रिम खाने, धेरै खेलौना किन्ने, विशाल मनोरञ्जन पार्क बनाउने वा हरेक दिन बिदा दिने कल्पना गरेका थिए । यी उत्तरहरूले उनीहरू अझै बालबालिका नै हुन् भन्ने कुरा झल्काउँछन् । 

तर, अधिकांश चित्रहरू व्यक्तिगत चाहनाभन्दा धेरै पर पुगेका थिए । कतिपयले गरिबलाई सहयोग गर्ने चित्र बनाए । कतिपयले घरबारविहीनलाई घर बनाइदिने योजना कोरे । कतिपयले युद्ध अन्त्य गर्ने कल्पना गरे । 

कसैले नदी सफा गर्ने, कसैले रुख रोप्ने, कसैले विद्यालयमा हुने दुर्व्यवहार रोक्ने, कसैले अस्पताल सुधार्ने, कसैले वृद्धवृद्धाको हेरचाह गर्ने र कसैले जनावरहरूको संरक्षण गर्ने चित्र बनाए । सबैभन्दा चाखलाग्दो कुरा के थियो भने धेरै बालबालिकाले ‘मलाई के चाहिन्छ ?’ भन्ने प्रश्नभन्दा पहिले ‘समाजलाई के चाहिन्छ ?’ भन्ने प्रश्न सोचेका थिए ।

राजनीतिको पुनरावलोकन : शक्ति कि साझा हित ?

यही विन्दुबाट अध्ययनले एउटा महत्त्वपूर्ण निष्कर्ष निकाल्छ– बालबालिकाले राजनीतिको प्राविधिक भाषा नबोल्न सक्छन् तर उनीहरूमा राजनीतिक सचेतता विकसित भइसकेको हुन्छ । बालबालिका सार्वजनिक समस्याहरू देख्छन्, त्यसबारे चिन्ता गर्छन् र आफ्नो कल्पनामा समाधान पनि खोज्छन् ।

यसले राजनीतिलाई हेर्ने परम्परागत दृष्टिकोणमाथि नै चुनौती दिन्छ । यदि राजनीतिक चेतनाको मापन केवल निर्वाचन, संसद्, राजनीतिक दल वा संविधानबारेको ज्ञानबाट गरिन्छ भने साना बालबालिका अवश्य पनि राजनीतिक रूपमा अनभिज्ञ देखिन्छन् । तर, यदि राजनीति भनेको समाज कसरी राम्रो बनाउन सकिन्छ भन्ने सामूहिक चिन्तन हो भने बालबालिकाको सोच आश्चर्यजनक रूपमा परिपक्व देखिन्छ ।

यही कारण उटलरको अध्ययनले राजनीति र बाल्यावस्थाबीचको सम्बन्धलाई हेर्ने नयाँ ढोका खोलिदिएको छ । यसले बालबालिकालाई ‘भोलिका नागरिक’ मात्रै होइन, आजैदेखि सार्वजनिक जीवनलाई आफ्नै दृष्टिले बुझ्न थालेका नागरिकका रूपमा हेर्न आग्रह गर्छ ।

उटलरको अध्ययनको सबैभन्दा महत्त्वपूर्ण योगदान राजनीतिलाई पुनः परिभाषित गर्नुमा छ । परम्परागत राजनीतिशास्त्रले राजनीतिक चेतनाको मापन प्रायः निर्वाचन, संविधान, राजनीतिक दल वा सरकारी संरचनाबारेको ज्ञानबाट गर्दै आएको छ । त्यसैले ६ देखि ९ वर्षका बालबालिका स्वाभाविक रूपमा ‘राजनीतिक रूपमा अनभिज्ञ’ देखिन्छन् । तर, उटलरको प्रश्न फरक थियो । उनले सोधिन्– राजनीति भनेको वास्तवमा के हो ? के राजनीति केवल निर्वाचन र सरकारको विषय हो वा मानिसहरू कसरी सँगै बस्छन्, कसरी न्याय स्थापित हुन्छ, कसरी साझा समस्या समाधान गरिन्छ र समाजलाई कसरी अझ राम्रो बनाइन्छ भन्ने सामूहिक चिन्तन पनि हो ? बालबालिकाका चित्रहरूले दोस्रो उत्तरलाई बलियो समर्थन गरे ।

उनीहरूले राजनीतिलाई सत्ता, अधिकार वा नियन्त्रणको अभ्यासका रूपमा चित्रण गरेनन् । बरु उनीहरूले राजनीतिलाई हेरचाह, सहयोग, समानता र साझा हितको माध्यमका रूपमा बुझे । धेरै चित्रमा ‘प्रधानमन्त्री आदेश दिने नेता होइन, सहयोग गर्ने व्यक्ति’ थियो । कतै उसले गरिबलाई घर बनाइदिएको थियो, कतै नदी सफा गरिरहेको थियो, कतै युद्ध रोकिरहेको थियो, कतै विद्यालयलाई सुरक्षित बनाइरहेको थियो । यसले देखाउँछ– बालबालिकाले नेतृत्वलाई शक्ति प्रदर्शनभन्दा जिम्मेवारीका रूपमा बुझिरहेका थिए ।

यो निष्कर्ष प्रसिद्ध राजनीतिक दार्शनिक हाना एरेन्टको विचारसँग पनि मेल खान्छ । एरेन्टका अनुसार, राजनीति मूलतः साझा संसार निर्माण गर्ने प्रक्रिया हो, जहाँ मानिसहरू एकअर्कासँग सहअस्तित्वमा बाँच्न सिक्छन् । बालबालिकाका चित्रहरूले पनि यही सन्देश दिन्छन् । उनीहरूको राजनीतिक कल्पना विचारधारात्मक प्रतिस्पर्धाभन्दा करुणा, सहकार्य र सार्वजनिक हितमा केन्द्रित देखिन्छ ।

अनुसन्धानको अर्को रोचक पक्ष के थियो भने सबै बालबालिकाले एकै प्रकारले सोचेका थिएनन् । कतिपयले आफ्नै चाहनालाई प्राथमिकता दिए भने धेरैले सम्पूर्ण समाजबारे सोचे । केहीले विशेषगरी गरिब, वृद्ध, बिरामी वा घरबारविहीन मानिसको अवस्थाप्रति चिन्ता व्यक्त गरे । यसले राजनीतिक परिपक्वताको अर्को आयाम देखाउँछ । राजनीतिक चेतना केवल सरकारबारे तथ्य जान्नु होइन, आफ्ना निर्णयले अरू मानिसको जीवनमा पनि प्रभाव पार्छ भन्ने बुझाइ विकास हुनु हो । केही ६ वर्षका बालबालिकाले समेत सरकारको उद्देश्य व्यक्तिगत इच्छा पूरा गर्नु मात्रै होइन, साझा समस्या समाधान गर्नु हो भन्ने आश्चर्यजनक दृष्टिकोण प्रस्तुत गरेका थिए ।

अध्ययनमा केटी र केटाका चित्रहरूबीच केही रोचक प्रवृत्ति पनि देखिए । केटीहरूले प्रायः समानता, न्याय, वातावरण संरक्षण, शान्ति र सामाजिक कल्याणसँग सम्बन्धित चित्रहरू बढी बनाए भने केटाहरूका चित्रमा व्यक्तिगत उपलब्धि, शक्ति वा साहसिक कल्पनाहरू केही बढी देखिए । अनुसन्धानकर्ताले यी निष्कर्षलाई स्थायी वा जैविक भिन्नताका रूपमा व्याख्या गरेकी छैनन् । बरु उनले परिवार, विद्यालय, सञ्चारमाध्यम र सामाजिक संस्कृतिमार्फत नेतृत्व, शक्ति र हेरचाहबारे दिने सन्देशले बाल्यकालमै प्रभाव पार्न थालेको हुन सक्ने संकेत गरेकी छन् । केटाहरूले पनि गहिरो मानवीय संवेदनाका चित्र बनाएका थिए भने धेरै केटीले व्यक्तिगत चाहना पनि व्यक्त गरेका थिए । त्यसैले यी निष्कर्षलाई कठोर विभाजनका रूपमा होइन, सामाजिक प्रवृत्तिका रूपमा बुझ्नुपर्छ ।

पाठ्यपुस्तकभन्दा बाहिर : दैनिक जीवन र विद्यालयको भूमिका

उटलरको अध्ययन कुनै एकांकी अनुसन्धान होइन । यसले बालबालिकाको राजनीतिक समाजीकरणसम्बन्धी दशकौंदेखिका प्राज्ञिक निष्कर्षलाई नयाँ प्रमाण प्रदान गर्छ । सञ्चारविद् डेभिड बकिङ्घमले आफ्नो पुस्तक ‘द मेकिङ अफ सिटिजन्स’ मा बालबालिकाले राजनीतिशास्त्रको पाठ्यपुस्तक पढ्नुभन्दा धेरै पहिले राजनीतिबारे सिक्न थाल्छन् भन्ने तर्क गरेका छन् । उनीहरूले घरमा निर्वाचन, भ्रष्टाचार, महँगी, बेरोजगारी, सार्वजनिक सेवा, वातावरणीय समस्या वा अन्तर्राष्ट्रिय घटनाबारे हुने कुराकानी सुन्छन् । अभिभावकले उनीहरूले नसुनेको ठाने पनि बालबालिकाले सरकार, न्याय, निष्पक्षता र नेतृत्वबारे आफ्नै धारणा बनाउन थालिसकेका हुन्छन् । राजनीति पाठ्यपुस्तकबाट मात्र होइन, दैनिक जीवनबाट सिकिन्छ ।

यस सन्दर्भमा विद्यालय पनि राजनीतिक सिकाइको महत्त्वपूर्ण स्थान हो । धेरै विद्यालयले आफूलाई ‘राजनीतिबाट टाढा’ रहेको दाबी गरे पनि उनीहरूले हरेक दिन लोकतन्त्रको अभ्यास गराइरहेका हुन्छन् । कक्षामा कसले बोल्न पाउँछ ? फरक विचारलाई सम्मान गरिन्छ कि गरिँदैन ? नियमहरू न्यायपूर्ण छन् कि छैनन् ? सबै विद्यार्थीलाई समान अवसर दिइन्छ कि दिइँदैन ? यिनै अनुभवबाट बालबालिकाले लोकतन्त्रको वास्तविक अर्थ सिक्छन् । जुडिथ टोर्नी–पुर्टा र उनका सहकर्मीले सञ्चालन गरेको ‘अन्तर्राष्ट्रिय नागरिक तथा नागरिकता शिक्षा अध्ययन’ ले पनि यही निष्कर्ष निकालेको छ । छलफल, सहभागिता र पारस्परिक सम्मानमा आधारित विद्यालयले भविष्यमा बढी सक्रिय र जिम्मेवार नागरिक तयार पार्छन् । लोकतन्त्र संविधानका धारा कण्ठ गरेरभन्दा लोकतान्त्रिक सम्बन्ध अनुभव गरेर सिकिन्छ । 

संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धिको धारा १२ ले पनि यही दृष्टिकोणलाई संस्थागत मान्यता दिएको छ । यसले बालबालिकालाई उनीहरूमाथि असर गर्ने विषयमा आफ्ना विचार स्वतन्त्र रूपमा व्यक्त गर्ने अधिकार प्रदान गर्छ । रोजर हार्टको प्रसिद्ध किताब ‘बाल सहभागिताको भर्‍याङ’ ले पनि अर्थपूर्ण सहभागिता भनेको औपचारिक रूपमा राय सोध्नु मात्रै होइन, निर्णय प्रक्रियामा बालबालिकाका विचारलाई वास्तविक महत्त्व दिनु हो भन्ने स्पष्ट पारेको छ । यही विचार शिक्षाविद् जोन ड्युईले पनि अघि सारेका थिए । उनका अनुसार, लोकतन्त्र केवल पाठ्यपुस्तकबाट सिकिने विषय होइन, विद्यालयको दैनिक जीवनमा अनुभव गरिने अभ्यास हो । जब बालबालिकाले कक्षाकोठाभित्र सम्मान, सहभागिता, संवाद र साझा निर्णय प्रक्रियाको अनुभव गर्छन्, तब उनीहरू भविष्यका जिम्मेवार र सक्रिय नागरिक बन्ने आधार निर्माण गर्छन् ।

यी सबै चिन्तन नेपालका लागि पनि उत्तिकै सान्दर्भिक छन् । नेपालका बालबालिकाको मतदान गर्ने उमेर नपुगे पनि राजनीति उनीहरूको जीवनबाट टाढा छैन । निर्वाचन, आन्दोलन, बन्द–हडताल, महँगी, प्राकृतिक विपद्, वैदेशिक रोजगारी, सार्वजनिक विद्यालयको अवस्था, स्थानीय सरकारका निर्णय वा वातावरणीय संकटले उनीहरूको दैनिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्छ । उनीहरू यी घटना देख्छन्, घरमा हुने छलफल सुन्छन् र आफ्नै बुझाइ निर्माण गर्छन् । त्यसैले उनीहरू राजनीतिबाट अलग छन् भन्ने सोच वास्तविकतासँग मेल खाँदैन ।

उटलरको अध्ययनले नेपालका विद्यालयलाई एउटा स्पष्ट सन्देश दिन्छ– नागरिक शिक्षा प्रारम्भिक तहदेखि नै विद्यालयको संस्कृतिमा समाहित हुनुपर्छ । साना बालबालिकालाई संविधान कण्ठ गराउनु आवश्यक छैन । आवश्यक कुरा के हो भने उनीहरूलाई प्रश्न गर्न, छलफल गर्न, अरूको कुरा सुन्न, फरक विचारको सम्मान गर्न, सहकार्य गर्न र आफ्नो समुदायका समस्याबारे सोच्न प्रोत्साहित गरिनुपर्छ । लोकतन्त्र पढाउनेभन्दा पहिले विद्यालय आफैं लोकतान्त्रिक हुनुपर्छ ।

अभिभावकका लागि पनि यस अध्ययनले महत्त्वपूर्ण सन्देश दिन्छ । धेरै अभिभावक राजनीति बालबालिकाका लागि अनुपयुक्त विषय हो भन्ने सोच राख्छन् । दलगत कटुता वा घृणाबाट बालबालिकालाई जोगाउनु आवश्यक छ । तर, त्यसको अर्थ समाजका सबै सार्वजनिक विषयबाट उनीहरूलाई टाढा राख्नु होइन । जब बालबालिकाले सोध्छन्, ‘किन कोही गरिब छ ?’, ‘किन नदी फोहोर छ ?’, ‘किन कसैले विद्यालय जाने अवसर पाउँदैन ?’– यी प्रश्न लोकतान्त्रिक शिक्षाका प्रारम्भिक पाठ हुन् । यिनलाई बेवास्ता गर्नुको सट्टा उमेरअनुकूल संवादमा रूपान्तरण गर्न सक्नुपर्छ ।

सायद यस अध्ययनको सबैभन्दा रोचक सन्देश राजनीतिज्ञका लागि पनि हो । वयस्क राजनीतिमा सत्ता, प्रतिस्पर्धा र विचारधाराको चर्चा धेरै हुन्छ । तर, नर्वेली बालबालिकाका चित्रमा राजनीतिको केन्द्रमा सत्ता थिएन, मानिस र समाज थिए । उनीहरूले विपक्षीलाई सिध्याउने वा निषेध गर्ने सपना देखेनन्– भोक हटाउने, नदी सफा गर्ने, जनावर जोगाउने र झगडा रोक्ने सपना देखे । निश्चय नै सार्वजनिक नीति यति सरल हुँदैन । सरकार चलाउनु चित्र कोर्नुभन्दा धेरै जटिल काम हो । तर, राजनीतिक निर्णयहरूको अन्तिम उद्देश्य मानिसको जीवनलाई राम्रो बनाउनु नै हो भन्ने आधारभूत सत्यलाई यसले पुनः स्मरण गराउँछ ।

उटलरको अध्ययनले के पनि प्रमाणित गरिदिएको छ भने बालबालिकाले मतदान गर्ने उमेर पुग्नुभन्दा धेरै पहिले नै न्याय, समानता, जिम्मेवारी, नेतृत्व र साझा हितबारे सोच्न थालिसकेका हुन्छन् । उनीहरू वातावरणीय नीति नपढ्दै सफा नदीको कल्पना गर्छन्, सार्वजनिक प्रशासन नबुझ्दै राम्रो विद्यालयको सपना देख्छन्, अन्तर्राष्ट्रिय सम्बन्ध नपढ्दै शान्तिपूर्ण संसार चाहन्छन् । 

आज लोकतन्त्रको भविष्यबारे चिन्ता गर्ने विश्वका लागि यो अध्ययनले एउटा सरल तर गहिरो सन्देश दिन्छ– लोकतन्त्र मतदानबाट सुरु हुँदैन, बाल्यावस्थादेखि नै सुरु हुन्छ । जब हामी बालबालिकालाई प्रश्न गर्न, कल्पना गर्न, सहकार्य गर्न र साझा हितबारे सोच्न प्रोत्साहित गर्छौं, त्यही क्षणबाट जिम्मेवार नागरिकताको जग बस्न थाल्छ ।

मीनबहादुर

Link copied successfully