सडक बढार्ने उमरावतीहरू 

बिहान बजार ब्युँझिँदा मानिसहरू सफा सडक देख्छन्, तर उमरावतीलाई देख्दैनन् । उनी सडकको दृश्यमा हुन्छिन्, स्मृतिमा हुँदिनन् । मानौं, उनी पनि सडककै एक भाग हुन्– बिजुलीको पोल वा चौतारोझैं । तर, ध्यान दिएर हेर्ने हो भने देखिन्छ– बजारलाई हरेक बिहान फेरि बस्नयोग्य बनाउने हात तिनै हुन् ।

असार २५, २०८३

चन्द्रकिशोर

The Umrawatis Who Sweep the Streets

What you should know

उमरावती बिहान सबेरै उठ्छिन् । तर लाग्छ, उनी निद्राबाट होइन, बजारको फोहोरबाट उठ्छिन् । उनको हातमा एउटा झाडु हुन्छ । उमरावतीलाई पहिलो पटक देख्दा लाग्दैन, उनी एक नगरपालिकाकी कर्मचारी हुन् । लाग्छ, बिहानको उज्यालोले उनलाई आफ्नो काम सुम्पेर गएको छ । उनको हातको झाडु उनीभन्दा अगाडि हिँड्छ, उनी त्यसको पछिपछि । सडकका धूलो, पात, प्लास्टिकका टुक्रा र रातभरिका बेवास्ता एकै ठाउँ जम्मा हुँदै जान्छन् । उनको चालमा हतार छैन, तर आलस्य पनि छैन । वर्षौंदेखि एउटै बाटो बढार्दै आएकी मान्छेले सडकका खाल्डाखुल्डी मात्रै होइन, कुन घरको ढोका कति बेला खुल्छ र कुन रूखबाट पहिलो पात कहाँ खस्छ भन्ने पनि सम्झेर हिँड्छे ।

उनको अनुहारमा श्रमको रंग छ । घामले डढाएको छाला, धूलोले फिक्का पारेको साडी, पसिनाले भिजेको निधार– यी सबै मिलेर उनको परिचय बन्छन् । तर, जब छोराको कुरा निस्कन्छ– उनको स्वर बदलिन्छ । झाडु समातेको हात एकछिन हावामै रोकिएझैं हुन्छ । ‘ऊ पढोस्’ यति मात्रै भन्छिन् । त्यो ‘पढोस्’ शब्दमा कुनै ठूलो भाषण छैन, तर एक आमाले सन्तानका लागि वर्षौंदेखि मनभित्र जोगाएर राखेको उज्यालो छ । उनलाई आफ्नै कामप्रति गुनासो कम छ । गुनासो त यत्ति हो– यो काम सन्तानको भाग्य नबनोस् ।

बिहान बजार ब्युँझिँदा मानिसहरूले सफा सडक देख्छन्, तर उमरावतीलाई देख्दैनन् । उनी सडकको दृश्यमा हुन्छिन्, स्मृतिमा हुँदिनन् । मानौं उनी पनि सडककै एउटा भाग हुन्, बिजुलीको पोल, नाली वा चौतारो जस्तै । तर, ध्यान दिएर हेर्ने हो भने देखिन्छ– बजारलाई हरेक बिहान फेरि बस्नयोग्य बनाउने हात तिनै हुन् । उनी झाडुले सडक बढार्छिन्, तर आफ्ना सपनालाई भने कहिल्यै बढार्दिनन् । तिनलाई उनी धूलोसँगै उडाउन जान्दिनन् । चुपचाप मुटुभित्र राखेर अर्को बिहानको प्रतीक्षा गर्छिन् । हामी बिहान घरबाट निस्कँदा सडक सफा हुन्छ । त्यो सफाइलाई हामी सामान्य मान्छौं । सडक सफा पनि आफैं बन्दैन । 

बाराको सिमरौनगढ नगरपालिकामा एउटा पुरानो पोखरी छ, इसरा । कुनै समय समृद्ध राज्यको पानी सम्हालेको त्यो पोखरीले अहिले इतिहासको अनुहार जोगाइरहेको छ । सिमरौनगढ राज्यको स्मृतिलाई त्यसले अझै बोकेको छ । त्यही पोखरीको डिलसँग जोडिएको सानो घरमा बस्छिन्, ३६ वर्षीया उमरावती देवी । लगभग एक दशकदेखि उनी नगरपालिकाको सफाइकर्मी हुन् । इतिहासको भग्नावशेष र वर्तमानको श्रम एउटै बाटोमा सँगै बस्छन् । पोखरी पुरानो राज्यको स्मृति हो, झाडु आजको राज्यको परीक्षा ।

मधेशको गर्मी घाम नउदाउँदै शरीरमा पस्न थाल्छ । शीतलहरको जाडो भने मानिसको हड्डीसम्मै पुग्न हतारिन्छ । तर, ऋतुहरूलाई उनीहरूले कहिल्यै काम रोकिने कारण बनाएनन् । गर्मीमा झाडुले धूलो उडाउन खोज्छ, जाडोमा कुहिरो ।उनका छोरा दिलीप मलिक आठ कक्षामा पढ्छन् । उनी आफ्नी आमाको कामलाई अस्वीकार गर्दैनन्, तर आफ्नो भविष्य त्यसमा देख्दैनन्, ‘यो कामलाई इज्जत छैन । म त झाडु समाउँदिनँ ।’ एक किशोरको यो वाक्यमा केवल व्यक्तिगत इच्छा छैन, पुस्तौंदेखि एउटै श्रममा बाँधिएका परिवारको इतिहास पनि छ । र, त्यो इतिहासबाट बाहिर निस्कने आकांक्षा पनि । तर, आकांक्षाले मात्रै इतिहास बदलिँदैन । सपना केवल परिवारले देखेर पुग्दैन । कहिलेकाहीं राज्यले पनि सपना देख्नुपर्छ ।

बाराबाट चार जिल्ला पूर्व, सिरहामा सिकिन्दर हलखोर भेटिन्छन् । उनी पनि सिरहा नगरपालिकामा सफाइकर्मी हुन् । पहिले एउटा स्थानीय बैंकमा सुरक्षा गार्ड थिए । त्यो जागिर गुमेपछि सफाइको काम रोजे । उनले एउटा वाक्य भने, जुन कुनै सरकारी प्रतिवेदनमा भेटिँदैन, ‘अर्को बाटो देखिएन’ । अहिले उनका तीनै छोरा यही पेसातर्फ आएका छन् । यहीं एउटा कठिन प्रश्न जन्मिन्छ ।

मधेशको गर्मी घाम नउदाउँदै शरीरमै पस्न थाल्छ । शीतलहरको जाडो भने मानिसको हड्डीसम्म पुग्न हतारिन्छ । तर, ऋतुहरूलाई उनीहरूले कहिल्यै काम रोकिने कारण बनाएनन् । गर्मीमा झाडुले धूलो उडाउन खोज्छ, जाडोमा कुहिरो । कहिलेकाहीं लाग्छ, उनीहरू सडक होइन, मौसम नै बढारिरहेका छन् । उनीहरूको चालमा कुनै घोषणा हुँदैन, कुनै नारा हुँदैन । केवल एउटा यस्तो निरन्तरता हुन्छ, जसले पालिकालाई हरेक बिहान फेरि बस्न मिल्ने बनाइरहन्छ ।

उमरावती र सिकिन्दर दुई फरक कथा हुन् । तर, उनीहरूको संघर्ष एउटै समाजसँग छ । उमरावती आफ्ना सन्तानले झाडु नसमातोस् भन्ने सपना देख्छिन् । उनका लागि प्रतिरोधको अर्थ यही हो, आफ्ना छोराछोरीलाई पुस्तौंदेखि एउटै जातिसँग गाँसिएको पेसाबाट बाहिर निकाल्नु । उनी आफ्नो श्रमलाई अस्वीकार गर्दिनन् तर आफ्नो श्रमलाई सन्तानको नियति बनाउन चाहन्नन् । यो मौन विद्रोह हो– झाडु फ्याँक्ने होइन, झाडुको वंशानुगत उत्तराधिकार तोड्ने ।

सिकिन्दरको कथा उल्टो दिशाबाट आउँछ । यो पेसा उनको आकांक्षा होइन, विकल्पको अभाव हो । बरु यही पेसाभित्र रहेर सम्मान, सुरक्षा र समान व्यवहारको माग गरिरहेका छन् । उनको प्रतिरोध पेसा छोड्ने होइन, पेसाको गरिमा बदल्ने हो । यी दुई कथाबीच विरोधाभास देखिन्छ, तर वास्तवमा दुवै एउटै संरचनाविरुद्ध उभिएका छन् । एउटी आमा आफ्ना सन्तानका लागि अर्को भविष्य खोजिरहेकी छन् । एक पिता अहिलेको भविष्यलाई नै सम्मानित बनाउन लडिरहेका छन् । एउटा पुस्तान्तरण रोक्न चाहन्छ, अर्को पुस्तान्तरणलाई अपमानको होइन, गरिमाको विषय बनाउन । उमरावती र सिकिन्दरका बाटाहरू फरक देखिए पनि उनीहरूको लडाइँ एउटै रहनेछ ।

उमरावती एक्लै हिँडिरहेकी थिइन् भने उनी एउटा मानिस थिइन् । जब सडकको अर्को छेउमा अर्को झाडु उठ्यो, अनि त्यसको पर अर्को, उमरावती अचानक उमरावतीहरू भइन् । एउटा नाम धेरै हातमा बाँडियो । त्यसपछि सडकमा कुनै सफाइकर्मी काम गरिरहेकी देखिँदैन । लाग्छ, बिहान आफैं धेरै टुक्रामा विभाजित भएर बजारलाई उठाउन निस्किएको छ ।

उमरावतीबाट उमरावतीहरू बन्नु एउटा व्याकरणिक परिवर्तन मात्र होइन । त्यो समाजशास्त्रको पनि परिवर्तन हो । एउटा व्यक्तिको कथा सुन्दा हामी करुणा महसुस गर्छौं । धेरै उमरावतीहरूलाई देख्दा हामी संरचना देख्न थाल्छौं । त्यहाँ एउटी आमाको सपना मात्रै हुँदैन । सयौं आमाको साझा आकांक्षा हुन्छ । त्यहाँ एउटा झाडु मात्रै हुँदैन, श्रमको एउटा इतिहास हुन्छ । अनि बुझिन्छ, सहर–बजार कुनै एक उमरावतीको काँधमा टिकेको छैन, अनगिन्ती उमरावतीहरूको अदृश्य श्रममा उभिएको छ ।

समाज–संरचनाको पिँधको पनि पिँधमा रहेका उमरावतीहरूको प्रश्न झाडुको होइन । प्रश्न भविष्यको हो । सामाजिक संरचनाका अवचेतन गल्छेडाहरूमा सल्बलाइरहेका यस्ता भाष्यमाथि कहिले झाडु चल्ने हो ? पहिलो प्रश्न उमरावतीहरूका छोराछोरीको भविष्य के हुनेछ ? यदि उनीहरूको जीवनको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानले यही काम नगर्ने हो भने राज्यले उनीहरूलाई शिक्षा, सीप र अवसरमार्फत अर्को बाटो दिन सकेको छ कि छैन ? नागरिकको पेसा उसको जन्मले होइन, रोजाइले तय हुनुपर्ने होइन ? दोस्रो प्रश्न, यो काम गर्ने मानिसले सम्मान कहिले पाउने ? सहर सफा राख्ने श्रमलाई धन्यवादको शब्दले मात्रै पुग्दैन । सम्मान भनेको सुरक्षित कार्यस्थल, सुरक्षात्मक सामग्री, नियमित स्वास्थ्य परीक्षण, समयमै उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रमिकको आवाजलाई निर्णय प्रक्रियामा स्थान दिनु हो ।

तेस्रो प्रश्न, यो काम कुनै एक समुदायको नियति किन रहिरहने ? जुन दिन सार्वजनिक सफाइको काम कुनै जातिको पहिचान होइन, एउटा सम्मानित सार्वजनिक सेवा हुनेछ र जुन दिन यो काम दलित र गैर–दलित दुवैले समान गरिमाका साथ गर्न सक्ने वातावरण बन्नेछ, त्यही दिन समाजले केवल सरसफाइको होइन, आफ्नो चेतनाको पनि सुधार गरेको मान्न सकिन्छ । सभ्य समाजको पहिचान सडकको चमकले होइन, श्रमप्रतिको दृष्टिले हुन्छ । झाडुले समाजका सीमा, सीमितता र कमजोरीहरूको फोहोर छर्लङ्गै देखिन्छ ।

नेपालका अधिकांश नगरपालिकामा सफाइकर्मीहरू ज्यालादारी, करार वा ठेक्कामा छन् । उनीहरू नियमित रूपमा सडक, नाली, फोहोर र सार्वजनिक स्थान सफा गर्छन् । तर, धेरै ठाउँमा उनीहरूसँग पर्याप्त सुरक्षात्मक सामग्री हुँदैन । पन्जा, बुट, मास्क, नियमित स्वास्थ्य परीक्षण र व्यवसायजन्य बिमा जस्ता आधारभूत सुरक्षा व्यवस्थासमेत अपूर्ण छन् । तलब पनि समयमै नपुग्ने गुनासो बारम्बार सुनिन्छ । यसको अर्थ समस्या केवल व्यक्तिगत होइन, संस्थागत पनि हो ।

हामी प्रायः सफाइलाई वातावरणको विषय ठान्छौं । तर, सफाइ श्रमको विषय हो, गरिमाको पनि । सडक सफा हुनु सार्वजनिक स्वास्थ्यका लागि आवश्यक छ । तर, सडक सफा गर्ने मानिसको स्वास्थ्य किन सार्वजनिक चिन्ताको विषय बन्दैन ? नगरपालिकाहरूले फोहोर व्यवस्थापनका लागि बजेट छुट्याउँछन् । तर, फोहोरसँग प्रत्यक्ष काम गर्ने मानिसको सुरक्षा किन प्राथमिकतामा पर्दैन ?

हामीलाई सफा सहर–बजार चाहिन्छ । तर, के हामीलाई सुरक्षित सफाइकर्मी पनि चाहिएको छ ? लोकतन्त्रको गुणस्तर भुइँवर्गका झाडु समातेकाले आफ्नो काम गरिरहँदा राज्यले उसलाई कस्तो व्यवहार गर्छ भन्ने विषयले पनि मापन हुन्छ । यो प्रश्न विरलै सोधिन्छ– तपाईंलाई आफ्नो जातिका कारण यो काम गर्नुपरेको जस्तो लाग्छ ? तपाईं बिरामी हुँदा सहरले तपाईंलाई सम्झन्छ कि केवल फोहोरलाई ? किन लोकतन्त्रमा पनि केही समुदाय अझै समाजका सबैभन्दा आवश्यक, तर सबैभन्दा अदृश्य श्रमिक बनेर बाँच्न बाध्य छन् ?

सफाइकर्मीहरू सामान्य अवस्थामा समाचार बन्दैनन् । उनीहरू आन्दोलनमा उत्रिएपछि मात्रै समाचार बन्छन् । तलब नपाएको विरोधमा सडकमा उभिँदा, नगरपालिकाले सार्वजनिक जग्गामा  बसेका उनीहरूको बस्ती हटाउन डोजर पठाउँदा वा फोहोर उठ्न छाडेर सहर दुर्गन्धित हुँदा मात्रै क्यामेरा उनीहरूतिर फर्किन्छ । त्यो पनि उनीहरूको जीवन बुझ्न होइन, सहर किन फोहोर भयो भन्ने बुझाउन । उनीहरूको अनुपस्थितिले मात्रै किन उनीहरूको उपस्थिति देखिन्छ ? उनीहरूले काम नगरे एक दिन सहरमा के हुन्छ ?

विडम्बना के छ भने, जुन दिन सहर असाध्यै सफा देखिन्छ, त्यसको श्रेय प्रायः नगरप्रमुखको कार्यकुशलतामा लेखिन्छ । तर, त्यो सफाइ सम्भव बनाउने हातहरूको नाम कतै उल्लेख हुँदैन । सफलताको श्रेय माथि जान्छ, जोखिम र अपमान तल झर्छ । लोकतन्त्रमा श्रेय पनि असमान रूपमा बाँडिन्छ भन्ने कुरा सायद यसभन्दा स्पष्ट उदाहरण अर्को छैन । यही ठाउँमा मिडियाको परीक्षा सुरु हुन्छ । 

प्रश्न हामी प्रत्येक नागरिकसँग पनि छ । हामी आफ्नै घर अगाडिको सडक बढार्ने मानिसको नाम जान्दैनौं, तर सहर सफा नभए सबैभन्दा पहिले गुनासो गर्छौं । हामी फोहोर उत्पादन गर्छौं, तर फोहोरसँग काम गर्ने मानिसलाई हेर्न चाहँदैनौं । एउटा लोकतन्त्र त्यतिबेला परिपक्व हुन्छ, जब नागरिकले सेवाको उपभोग मात्रै गर्दैन, सेवा सम्भव बनाउने श्रमलाई पनि सम्मान गर्न सिक्छ । सहरको वास्तविक उच्चता सडक कति सफा छ भन्नेमा मात्रै होइन– त्यो सडक सफा गर्ने मानिस कति सुरक्षित, सम्मानित र आशावान छ भन्नेमा मापन हुन्छ ।

कहिलेकाहीं लाग्छ, एउटा सहरको सबैभन्दा ठूलो ऐना झाडु नै हो । किनभने त्यसले सडकमा के छ भन्ने मात्रै देखाउँदैन, समाजले के लुकाएको छ भन्ने पनि देखाउँछ । झाडुले सडक सफा गर्छ, तर झाडु समातेको हातलाई कसले सफा गर्छ ? उमरावतीहरूलाई यो प्रश्न सोध्ने फुर्सद हुँदैन । उनीहरू सडकमा झुकेका हुन्छन् । झुकेको मानिसले धेरै कुरा देख्छ, तर धेरै कम मानिसले उनीहरूलाई देख्छन् । सायद, उमरावतीहरूको झाडु सडकभन्दा पहिले हाम्रो दृष्टि बढार्न जन्मिएको हो ।

उमरावतीहरूको झाडुले हरेक बिहान सडक सफा गर्छ । तर, त्यो झाडुको असली काम सायद सडक बढार्नु मात्रै होइन । त्यसले हाम्रो दृष्टिमा जमेको धूलो पनि बढार्न खोजिरहेको हुन्छ । जबसम्म सफाइ गर्ने हात असुरक्षित छन्, तबसम्म सहरको सफाइ अधुरो छ । जबसम्म श्रमलाई जातिसँग बाँधिन्छ, तबसम्म लोकतन्त्र पनि अधुरो छ ।

‘स्वच्छता–सुशासन’ को जग सफाइ क्षेत्रका अदृश्य जनशक्तिको सीप, सुरक्षा र सम्मानमा टिकेको हुन्छ । यी तीनमध्ये एउटा पनि कमजोर भयो भने स्वच्छ पालिकाको दाबी अधुरो रहन्छ ।

देश कुनै शासकको ‘टोली’ ले बन्दैन । वास्तवमा बिहान सबैभन्दा पहिले उठ्ने र सबैभन्दा अन्तिममा थाक्ने यिनै मानिसहरूले बनाउँछन् देश । आफ्नै जीवन घिसारेर अरूको जीवनलाई सहज बनाइरहेका यिनै अदृश्य श्रमिक हुन्, देश बनाउनेहरू । उनीहरूलाई देख्न सिक्नु नै सायद लोकतन्त्रलाई गहिरोसँग बुझ्न सिक्नु हो ।

चन्द्रकिशोर विश्लेषक चन्द्रकिशाेर कान्तिपुरका नियमित स्तम्भकार हुन्। उनी मधेश, राजनीति र सीमान्तकृत समुदाय लगायत विषयमा लेख्छन्।

Link copied successfully